विराटनगर। विकल्प एन अल्टरनेटिभले आयोजना गरेको ” उद्यमीका कुरा” कार्यक्रममा बिहिबार २ जना उद्यमीले आफ्ना संघर्सका कथा युवाहरुलाई सुनाएका छन्। ‘ मातृभूमि टि स्टेट तथा कृषि फार्म ‘ का संचालिका विना कुमारी सुब्बा तथा कवाडी डट कम र भगत सप्लायर्सका संचालक सुरज भगतले विराटनगरको श्री कृष्ण होटलमा १०० भन्दा बढी युवाहरुमाझ आफ्नो व्यवसायिक यात्राको बारेमा चर्चा गरेका थिए ।
उनीहरुले नेपालमा उद्यम तथा व्यवसायको अवस्था , चुनौती र अवसरका बारेमा प्रष्ट पारी सहभागीहरुको प्रश्नहरुलाई समेत उत्तर दिएका थिए । दुवैजनाले आफ्नो बाल्यकाल तथा पारिवारिक अवस्थाको बारेमा बताउंदै व्यवसायीक जीवन सुरुवात गर्दा बेलाको तितोमिठो अनुभव, त्यस अवधिमा आएका बाधा अड्चन तथा असफलतामा पनि आफु दृढ विश्वासका साथ अगाडि बढेको कारण एकपछि अर्को गर्दै सफलता पाएका जस्ता प्रेरणादायी अनुभव युवाहरुमाझ साझा गरेका थिए ।
भगतले आफु १५ वर्षको उमेरदेखि सडकका कवाडीहरु संकलन गरी त्यसलाई विक्री गरेर आफ्नो गुजारा चलाएको देखि लिएर होटलमा भाडा माझ्दै कयौ रात सडकमा विताएको आफ्नो दुखको कथा मात्र सुनाएनन तर आफ्नो बुबा विरामी हुनुभेपछी परिवारले चलाउदै गरेको बाती व्यवसाय आफुले संचालन गरेपछिका सफलताका कुराहरु पनि सुनाए। भगत सप्लायर्सको नाउमा संचालित बाती व्यवसाय मार्फत सयौ महिला तथा कैदि वन्दिहरुलाई समेत रोजगार सृजना गराएका भगतको कवाडी डट कम पनि संचालित छ । आफ्नो कठोर मिहेनत , लगनशीलता र इमान्दारिताको कारण सडक देखि कवाडी डट कमसम्मको यात्रा तय गर्न सफल रहेको बताउने भगतले अन्य व्यवसाय पनि विस्तार गरेर नेपालमै रोजगार सृजना गर्ने लक्ष राखेको कार्यक्रममा बताएका छन् ।
मोरङ जिल्लाको सिंहदेवीमा रहेको मातृभूमि टि स्टेट तथा कृषि फार्मका संचालिका विना कुमारी सुब्बाले आफु पढ्नलेख्न जान्ने नभएको अवस्थादेखि प्रौढ शिक्षामा क ख सिक्दै टि स्टेट तथा कृषि फारम संचालनको यात्रसम्मको अनुभव सुनाएकी थीइन । आफ्नो श्रीमानले बैदेशिक रोजगारमा कमाएको पैसालाई सदुपयोग गरेर व्यवसायिक चिया खेतिमा होमिएकी विना कुमारीले गुरासको वाइन पनि उत्पादन गरेकी छिन । शुरुशुरुमा आफ्नो चिया खेति प्रतिको पागलपनलाई देखेर छक्क पर्ने मानिसहरु अहिले उनकै चर्चा गर्दा आफु दङ्ग पर्ने बताउने विना कुमारी सुब्बाले युवाहरुलाई व्यवसायिक यात्रामा विभिन्न चुनौती तथा कठिनाई आएपनि हरेस नाखानको लागि युवाहरुलाई सुझाव दिएकी थिइन् ।
विकल्पले आयोजना गर्ने ‘ उद्यमीका कुरा ‘ मा व्यवसायिक सफलता पाएका वा प्रेरणादायी व्यवसायीहरुलाई निम्त्याएर सयौ युवाहरुबीच सफलता तथा संघर्षका कुराहरुदेखि लिएर व्यवसायिक आइडियाहरु आदानप्रदान गर्ने गरिन्छ । वर्षौदेखि संचालित यस कार्यक्रमबाट हजारौ युवाहरु लाभान्वित हुने गरेका छन् ।