विराटनगरका सुरज भगतलाई घरको आर्थिक स्थितिको कारण सानैदेखि घर छाड्नु पर्ने परिस्थिति आइपर्यो । १५ वर्षको उमेरमा घर छाडेका सुरजले नेपालको विभिन्न शहरहरुमा कवाडी संकलन गर्न थाले । उनी विर्तामोड , पोखरा , भैरहवा , बुटवल र काठमाडौँमा खालि सिसि , टिन, फलाम , प्लास्टिक इत्यादि संकलन गर्दै विक्री गर्दथे। त्यसैबाट आएको पैसाले आफ्नो गुजारा चलाउदै कहिलकाही घरमा पनि सहयोग गर्ने गर्दथे । त्यसो त उनले कवाडी संकलन गर्नु अगाडि काठमाडौँ गौसलाको होटल ब्यन्जनमा भाडा माझ्ने काम पनि नगरेका भने होइनन तर कवाडी संकलनमा अलिक धेरै पैसा हुने देखेर उनी गाउँवस्ती तथा विभिन्न शहरमा थोत्रे टिन, फलाम , कागज , सिसि इत्यादि संकलन गर्दै हिड्न थाले ।
औपचारिक अध्ययन नगरेका सुरजलाई आफ्नो जीवन नै यहि कवाडी जस्तै हो लाग्दथ्यो । उनले सयौ रातहरु सडकमा भोकै बिताएका छन् भने अपहेलनाको गन्ति नै छैन । सडकसंग पौठेजोरी गर्दै सुरजको दिनचर्या बितिरहेको थियो। एकदिन उनको बुबा अत्याधिक विरामी हुनुहुन्छ भनेर घरबाट खबर आउँछ । त्यतिनै बेला कोरोनाले देश आक्रान्त हुन शुरु भएको थियो । बुवालाई हृदयघात भएको खबर सुन्न साथ् सुरज आफ्नो घर विराटनगर होम्मिन्छन । अस्पताल लागिएको बुबाको उपचारको लागि उनले हर तवरले प्रयास गर्छन । अन्तत: बुवालाई निको बनाएर सुरजले बुवालाई घर त ल्याउछन तर उपचार गर्दा २ लाख जस्तो ऋण सुरजको काधमा थपिन्छ । कोरोना महामारीले गर्दा होटल व्यवसाय सबै ठप्प थियो । कवाडी संकलनको काम पनि एक प्रकारले बन्द भएको जस्तै थियो । बुबाको उपचारमा लागेको ऋण तिर्नको लागि सुरजलाई पैसाआर्जन गर्ने काम त गर्नु नै थियो । काम खोज्दै जाँदा सुरजले घर बनाउने ठाउँमा लेबरको काम पाउछन। इट्टा बोक्ने , बेल्चा हान्ने , मसाला बनाउने जस्ता काम गर्दै उनले पैसा आउने बाटो बनाएका थिए तर त्यो पुग्दो थिएन ।
सुरजको बुवा र आमाले घरमै बात्ती बनाउने र केहि छरछिमेकीको बाट संकलन गरी त्यसलाई विक्री गर्ने गर्नुहुन्थ्यो । त्यहि बात्ती व्यवसायलाई निरन्तरता दिन सुरजलाई घरबाट प्रस्ताव आयो । कवाडी संकलन गरेर कम्तिमा मासिक ३०/३५ हजार कमाइरहेका सुरजलाई बात्ती व्यवसायबाट के नै आम्दानी गर्न सकिएला भन्ने लागेको थियो तर ऋण सम्झेर भएपनि उनले परिवारको कुरा नकार्न सकेनन। त्यसपछि सुरज बात्ती बनाउन दिनको लागि गाउँगाउँ , टोलटोल घुम्न थाले । सुरजले त्यतिकै बसेका गृहिणी महिलाहरुलाई फुर्सदको समयमा बात्ती बनाउन प्रेरित गर्न थाले । सुरजले त्यसबेला कतिपय महिलाहरुलाई आफै रुवा वितरण गर्थे र बात्ती बनाउन लगाउथे । फुर्सदको समय सदुपयोग पनि हुने , एक दुइ पैसा आम्दानी पनि हुने भएपछी सयौ महिलाहरु सुरजको बात्ती व्यवसायमा जोडिए। उनीहरुले दैनिक बत्ती बनाएर राखिदिने गर्दथे भने सुरज पैसा दिदै बात्ती उठाउने गर्दथे । संकलित बात्तीहरुलाई सुरजले नेपालका विभिन्न ठाउँ लगायत भारतसम्म पनि निर्यात गर्ने गर्न थाले ।
यसरी सुरजले सयौलाई रोजगारी प्रदान गर्दै बात्तीको व्यवसाय विस्तार गर्दै लागे । सुरजले यस क्रममा जेलमा कैदिबंदिहरुलाई बात्ती बनाउने अवसर प्रदान गरी आम्दानीको बाटो पनि खोलिदिए। यस व्यवसायबाट सयौले रोजगार पाउदै थिए भने सुरजको पनि आम्दानीमा वृद्धि भइरहेको थियो । उनले बुबाको उपचारमा लागेको ऋण केहि महिनामै तिर्न सफल भए । भगत सप्लायर्सको नाउमा हाल पनि संचालित व्यवसाय राम्ररी चलिरहेको अवस्थामा सुरजले अन्य व्यवसायमा पनि हात हाल्ने निधो गरे । पछिलो पटक सुरज भगतको कवाडी डट कम पनि संचालित छ जहा उनले कामदार राखेर विराटनगरमा भएको कवाडी संकलन गर्छन र ठुलो परिमाणमा विक्री गर्छन । कवाडी संकलनदेखि कवाडीको मालिकसम्म बनेका सुरजले नेपालमै अन्य विभिन्न व्यवसाय गरेर ठुलो परिमाणमा रोजगार सृजना गर्ने लक्ष राखेर अगाडि बढि र रहेका छन् ।
( Bikalpa An Alternative द्वारा आयोजित ‘ उद्यमीका कुरामा ‘ सुरज भगतले सुनाएका आफ्नो जीवनको भोगाइमा आधारित भएर लेखिएको )