Basanta Adhikari
युवाहरु भविष्यका कर्णधार नभएर वर्तमानका साझेदार पनि हुन् । तर यी वर्तमानका साझेदार हरुलाई राज्यले उचित न्याय गर्न सकेको अवस्था छैन । कुल जनसंख्याको झन्डै ४० प्रतिशत युवाहरु स्वदेशमा रोजगारीको अवसरको कमि कारण कामको खोजीमा बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिति बनेको अवस्था छ । हरेक दिन झन्डै २००० विदेशिने युवाहरु मध्येका ३-४ वटा लास हामि त्रिभुवन विमानस्थलमा स्विकारी रहेका छौ ।
गत बर्ष मात्र हामीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको १३४६ वटा लास भित्रिएको तथ्याङ्कले दर्साउँछ भने बिगत ३ बर्षमा ४००० र बिगत एक दशक भित्रमा १२००० नेपालीको लास त्रिभुवन विमानस्थलमा भित्रिएको देखिन्छ । यी भित्रिएका अधिकांश लासहरू नेपाली युवाहरुका हुन् । हरेक मानिसको जीवन मूल्यवान हुन्छ, चाहे त्यो यो देशको प्रधानमन्त्री होस् अथवा एकजना गरिब सर्वसाधारण नेपालीको । त्यसो हो भने यतिका धेरै लाशहरूको जिम्मेवारी कसले लिने ? मेरो बुझाइमा यी समस्याहरुको पछाडी राज्य र राज्यको नीति जिम्मेवार छ । राज्यको नीतिले हामीलाई गरिब बनाएर विदेशिन बाध्य बनाएको छ । यदि हामीले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सकेको भए सायद आज यो दिन देख्नु पर्ने अवस्था आउने थिएन होला ।
हेरिटेज फाउन्डेसनको इन्डेक्स अफ इकोनोमिक फ्रिडमको तथ्यांकले के दर्शाउदछ भने नेपाल आर्थिक स्वतन्त्रताको सवालमा १७६ देशहरु मद्धे १३० औ स्थानमा पर्दछ । अझ लगानीको स्वतन्त्रताको सवालमा नेपाल १७६ देश मद्धे १७१ औ स्थानमा परेको देखिन्छ । यसले नेपालमा ब्यापार-व्यावसाय गरि खान सहज परिस्थिति छैन भन्ने कुरा दर्साउँछ । यस्तो परिस्थितिमा हामीले जति नै सुकै लगानी, लगानी सम्मेलन र ब्यापार प्रवर्धनको कुरा गरेपनि सायदै कोहि नेपालमा लगानी लिएर आउन रुचाउने छन् ।
मानिस र पुजी त्यहि जान्छन् जहाँ उनीहरुको निम्ति उपयुक्त बाताबरण हुन्छ । अन्तत ब्यापारको उदेश्य मानिसहरुको दैनिक आवश्यकता पुरा गर्न सहयोग पुर्याउनुको साथै नाफा कमाउनु पनि हो । यदि नाफाको उत्प्रेरणा नहुने हो भने कोहि लगानी गर्न उत्प्रेरित हुने छैन । अहिलेको विश्वव्यापीकरणको युगमा संसारका धेरै देशले लगानी मैत्री बाताबरण तयार गरिसकेको अवस्थामा लगानीकर्ताहरुको कहाँ लगानी गर्ने भन्ने कुराको लागि पर्याप्त छनौटको अवसर छ, यस अवस्थामा लगानीको निम्ति धेरैका लागि नेपाल उपयुक्त गन्तब्य नहुन सक्छ । लगानी गर्ने कुरा भनेको जोखिम लिने बिषय भएकोले कसैले पनि भावनामा बगेर निर्णय लिनुको साटो आफ्नो बुद्धिमत्तापूर्ण प्रयोग गर्दछ । त्यसै कारण मानिसहरु आफ्नो लगानी त्यहि लिएर जान रुचाउछन जहाँ उनीहरुको मेहेनत र लगानीले धेरै भन्दा धेरै प्रतिफल दिन्छ ।
गरिबी यो देशको सबै भन्दा ठुलो समस्या हो भन्ने कुरा यो देश यो देशका नीति निर्माताहरूले बुझ्न जरुरी छ । र के कुराले समृद्धि ल्याउन सहयोग पुर्याउछ भन्ने कुराप्रति घोत्लिन पनि त्यतिनै आवस्यक देखिन्छ । समृद्धि ल्याउने कुरा बुझ्न त्यति गाह्रो नहोला किनभने हाम्रै आखा अगाडी हाम्रा छिमेकी मुलुक चिन र भारतले छोटो समयमा नै आर्थिक प्रगति गर्दै गरको देखिन्छ भने बंगलादेश र भियतनामले आर्थिक बिकासको फड्को मार्दै गरेको अवस्था छ । त्यसै गरि सिंगापुर, हंगकंग र कोरियाले मात्र केहि दशक भित्रमा गरिब देशको श्रेणीबाट आफुलाई उठाई संसारको सबै भन्दा बिकसित देश हुन पुगेका छन् । सिक्ने चाहना हुने हो भने यी देशहरुको अनुभवहरु बाट पर्याप्त हुन सक्छ, तर अन्ठ्याउने र सुतेको नाटक गर्ने शासकहरु बाट भने धेरै आसा गर्न सकिन्न ।
आजसम्म जति देशहरुले आर्थिक बिकास गरेका छन् ति देशहरुले उद्यम र ब्यापार फस्टाउने नीति अंगालेर मात्र सम्भव तुल्याएका छन् भने नेपालको हकमा पनि यहि कुरा लागु हुन्छ । तर उद्यम र ब्यापार फस्टाउन निम्ति आर्थिक स्वतन्त्रता र सुशासन महत्वपुर्ण हुन आउछ । आर्थिक स्वतन्त्रताको अवस्था नेपालमा कति कमजोर छ भन्ने कुराको बारेमा माथि उल्लेख गरि सकेको छ भने सुशासनको अवस्थामा पनि त्यति धेरै चित्त बुझाउने ठाउँ छैन ।
कुशासनको कारण राज्य र यसका संरचनाहरूले अधिकांस नेपालीहरुको भरोसा र बिश्वास गुमाएको अवस्था छ, यसै कारण धेरै नेपालीहरु पलायन हुदै गरेको अवस्था छ । यदि देशलाई आर्थिक प्रगतिको बाटो तर्फ लानु छ भने ब्यापार सुरु गर्न, संचालन गर्न र आवस्यक परेको खण्डमा बन्द समेत गर्ने सहज नीतिगत बातावरण बनाइ आन्तरिक तथा बाह्य लगानीकर्तालाई देशमा गरि खाने आर्थिक स्वतन्त्रता रहेको आभाष गराउन आवस्यक छ । साथै राजनीतिक तथा नीतिगत स्थिरता, र कानुनी शासन कायम गरि नागरिकहरुको लगानी तथा जीउधनको सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी हुन्छ ।
उद्यमशीलता र रोजगारी त्यहि फस्टाउँछ जहाँ सृजना र नबिन सोचलाई मलजल गर्ने बाताबरण हुन्छ । अहिलेका युवाहरु नेपालको मायाले निधारमा देशको माटोको टिका लगाएर बसिरहने वाला छैनन् । कुनैपनि काम गर्नको निम्ति मानिसलाई उत्प्रेरणाले निर्देशित गर्दछ । आज नेपाली युवाहरुलाई देशमा बसेर केहि गरौ भन्ने उत्प्रेरणाले भन्दा पनि जसरी भएपनि देश छाड्ने उत्प्रेरणा सृजित भएको छ । अन्य देश का युवा सरह नेपाली युवाहरु पनि त्यहि जान्छन् जहाँ उनीहरुको श्रम र बुद्धिको सम्मान हुन्छ, तथा कमाउने, रमाउने र बाच्ने आधार तय हुन्छ l यसको निम्ति नेपाली युवाहरुको लागि संसारको ढोका खुल्ला भैसकेको अवस्था छ । यदि राज्यले उनीहरुलाई स्वदेशमा टिकाउने सोच तथा नीति नलिने हो भने अरु सन्देशले हाम्रा युवाहरुको जवानी, श्रम र बुद्धिको फाइदा अवश्य लिइ रहने छन् । यसलाई रोक्नको निम्ति नेपालले उद्यम तथा ब्यापार गरेर खान चाहने मानिसहरुको चाहना र प्राथमिकतालाई ध्यानमा राखी उद्यमशील समाज निर्माण गर्न तर्फ अग्रसर हुनुपर्ने देखिन्छ, जसले नेपाली समाजमै पर्याप्त रोजगारीको अवसर सिर्जना भई यहाँको नागरिकहरुको आर्थिक अवस्थालाई बलियो बनाउन सहयोग पुर्याउने छ ।