हालका वर्षहरूमा मेरो पोल्याण्ड भ्रमण अन्य युरोपेली देशहरूको तुलनामा धेरै बाक्लिएको छ। म सधैं पोल्याण्डको उल्लेखनीय आर्थिक विकास र सुधारिएको जीवनस्तर देखेर चकित हुन्छु। पोल्याण्ड दशकौं देखि युरोपेली विकासको ‘च्याम्पियन’ रहँदै आएको छ।
म कुनै देशको यात्रा गर्नु अघि त्यस स्थानलाई राम्रोसँग बुझ्न त्यस स्थानको इतिहास अध्ययन गर्ने गर्छु । सोही क्रममा मैले वारसास्थित कार्टा सेन्टरकी सह-संस्थापक एलिजा वान्सेर्ज ग्लुजासँग भेट गरे । उक्त केन्द्रमा कम्युनिस्ट विरोधी भूमिगत आन्दोलनसँग सम्बन्धित ५,००० पुस्तक र ब्रोसरहरु , करिब ३५,००० पत्रपत्रिकाहरु , ३०० पोस्टरहरू र १,००० पोस्टकार्डहरू छन्।
हाम्रो कुराकानीको क्रममा एलिस्जाले समाजवादी योजना अर्थतन्त्र अन्तर्गत पोल्याण्डको दैनिक जीवनका यथार्थहरू स्पष्ट पारिन्। उनीले मलाई पोलिस जनताले खाद्यान्न र अन्य सामान किन्न आवश्यक पर्ने राशन कार्डहरूको थुप्रो देखाइन्, जुन सन् १९८० को दशकको अन्त्यतिर समाजवादी शासनको पतन नभएसम्म प्रचलनमा थियो। त्यस मध्ये पहिलो राशन कार्ड सन् १९७६ मा चिनीको लागि जारी गरिएको थियो। पछि यस्ता राशन कार्डहरू क्रमशः मासु, ध्यु , डिटर्जेन्ट, साबुन, चुरोट, पेट्रोलियम र जुत्तासम्मका उत्पादनहरूका लागि जारी गरिएको थियो जुन समाजवादी व्यवस्थाको अन्त्य सम्म प्रयोगमा रहेको थियो।
‘त्यो साँच्चै विशेष अवसर थियो,’ एलिस्जाले सम्झिइन्, ‘जब मैले विवाहका लागि सेतो मोजा किन्न अनुमति दिने विशेष कार्ड रजिस्ट्री अफिसबाट प्राप्त गरेको थिए। मलाई विवाह गर्दा विवाहका लागि गहना पसलबाट सुनको औंठी किन्ने अनुमति सहित प्रमाणपत्र समेत दिइएको थियो । तर हामीसँग सुनको औंठी किन्ने पैसा र आवश्यकता दुवै थिएन। त्यस्तै यहाँ सबै अवसरहरूको लागि विशेष कार्डहरू थिए, उदाहरणका लागि : यदि कसैको अन्त्येष्टि हुन्थ्यो भने कालो सुरुवाल किन्नका लागि कार्ड पाइन्थ्यो।’
तर राशन कार्ड भएर पनि चाहेको कुरा किन्न सकिन्छ भन्ने हुँदैनथ्यो। धेरैजसो समयमा आवश्यक सामान पाउन घण्टौँ लाइनमा बस्नुपर्थ्यो। मानिसहरू आवश्यकताअनुसार फरक सामान पाउन आफ्नो कार्ड साटासाट पनि गर्थे। उदाहरणका लागि : भोड्का कार्ड (जहाँ एक वयस्कलाई प्रति महिना एक बोतल किन्न अनुमति थियो) कफी कार्डसँग साट्न सकिन्थ्यो।
फर्निचर, लुगा धुने मेसिन वा टेलिभिजन किन्नको लागि मानिसहरू “कोलेज्की स्पोलेक्ज्ने” (सामाजिक रेखा) भनेर चिनिने ठाउँमा उभिनुपर्थ्यो। कतिपय अवस्थामा एक वा दुई महिनाको लागि प्रत्येक दिन घण्टौँ पालो कुरेर लाइनमा सामेल हुनुपर्थ्यो । परिवारका सदस्यहरूले पालैपालो लाइनमा बसेर केही घण्टापछि एकअर्कासँग ठाउँ साटासाट गर्थे । लामो समयसम्म धैर्य गरेर लाइनमा उभिन सक्ने सम्भावना भएकोले प्रायः घरको हजुरबुवा वा हजुरआमालाई नै लाइनमा बस्न पठाइन्थ्यो।
पोल्याण्ड युरोपका सबैभन्दा गरिब राष्ट्रहरू मध्ये एक रहेको कुरा धेरै अघिको होइन । सन् १९८९ मा एक पोलिस नागरिकले मासिक जम्मा ५० अमेरिकी डलर बराबरको आम्दानी गर्दथे जुन औसत पश्चिम जर्मनका नागरिकको आम्दानीको १० भागको १ भाग मात्र थियो। दुवै देशहरूबीचको क्रयशक्तिको भिन्नतालाई ध्यानमा राख्दा पनि पोलिस श्रमिकको वास्तविक तलब पश्चिम जर्मनका कर्मचारीको तलबको केवल एक तिहाइ मात्रै थियो। त्यस समय पोलिसहरू युक्रेनीहरू भन्दा गरीब थिए र प्रति व्यक्ति जीडीपी चेकोस्लोभाकियाको भन्दा आधा मात्र थियो। सन् १९८९ मा पोल्याण्डमा मुद्रास्फीति २६० प्रतिशत र सन् १९९० मा ४०० प्रतिशत सम्म पुगेको थियो।
सन् १९१० को अन्त्य सम्म पोल्याण्डमा औसत आय एक पश्चिमी युरोपेलीको आम्दानीको ५६ प्रतिशत मात्र थियो। तर सन् १९४५ देखि १९९० सम्म फैलिएको समाजवादी युगको अन्त्यसम्म अझ त्यो आम्दानी समेत नाटकीय रूपमा घटिसकेको थियो। सन् १९९० सम्म एक पोलिस नागरिकको आम्दानी पश्चिमी युरोपको औसत तलबको ३१ प्रतिशतमा सिमित भैसकेको थियो ।
यद्यपि, पुँजीवादी सुधारहरूको निरन्तर कार्यक्रममार्फत पोल्याण्डमा जीवनस्तरमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सन् २०१६ सम्ममा यो पश्चिमी युरोपियनहरूको स्तरको तुलनामा ५७ प्रतिशतसम्म पुगेको थियो जसको जीवनस्तर युद्धपछि उल्लेखनीय रूपमा बढेको थियो। सबै आय समूहहरूमा पोल्याण्डका नागरिकहरूले पुँजीवादबाट फाइदा उठाएका छन्।
इतिहासमा प्रायः जसो देखापर्ने केही व्यक्तिहरूको प्रतिबद्धता र प्रभावलाई सही आँकलन गर्नु महत्त्वपूर्ण कुरा हो। यो सूचीको अग्रस्थान
पोल्याण्डका पूर्व अर्थमन्त्री लेस्जेक बाल्सेरोविच छन् जसलाई मैले वारसामा भेटे। अर्थशास्त्रीद्वय लुडविग भोन मिसेस र फ्रेडरिक अगस्ट भोन हाइकको सिद्धान्तबाट प्रेरित स्वतन्त्र बजार अर्थशास्त्री बाल्सेरोविच सन् १९८९ मा निर्वाचित पोल्याण्डको पहिलो लोकतान्त्रिक सरकारमा अर्थमन्त्री थिए। उनी पोल्याण्डको राष्ट्रिय बैंकका अध्यक्ष (२००१–२००७) तथा दुई पटक पोलिस सरकारका उपप्रधानमन्त्री (१९८९–१९९१ र १९९७–२००१) समेत थिए।
बाल्सेरोविचले पुँजीवादी सुधारको कार्यक्रम विकास गरे जसलाई पछि “शक थेरापी”(shock therapy) भनियो। उनले आफ्नो अध्ययन र अनुभवको आधारमा सन् १९८९ मा पोल्याण्डको आर्थिक अवस्थाको सुधारको लागि कट्टरपन्थी रणनीति मात्र सफल हुन सक्छ भन्ने कुरामा पूर्ण विश्वस्त रहेको बताएका थिए।
यस्ता मुख्य आर्थिक सुधार कार्यक्रमहरूको प्रकृतिले नै प्रारम्भमा अस्थायी रूपले स्थिति खराब हुन्छ । यद्यपि, पोल्यान्डका नागरिकहरूलाई उनीहरूको दृढताका लागि प्रशस्त प्रतिफल प्राप्त भयो किनभने बाल्सेरोविचको कार्यक्रमले सन् १९९२ मा पोल्यान्ड आर्थिक वृद्धि मार्गमा फर्कने पहिलो ‘पूर्व-समाजवादी’ देश बन्यो र देशको पछिको सफलताका लागि आधार तयार गर्यो।
कम्युनिस्टहरू आफ्नो देशलाई मजदुर र किसानहरूको लागि स्वर्गको रूपमा वर्णन गर्ने गर्छन तर पोल्याण्डमा त्यो व्यवस्थालाई मजदुरहरूले नै अपदस्थ गरे। मैले पोल्याण्ड यात्राको क्रममा भ्रमण गरेको ग्डान्स्क शहरमा अवस्थित ‘युरोपियन सोलिडारिटी सेन्टर’ (युरोपीय एकता केन्द्र) ले त्यस शहरमा घटित ऐतिहासिक घटनाको मार्मिक सम्झना गराउँछ। ग्डान्स्क शिपयार्ड जहाज बनाउने कारखाना भएको एक अद्वितीय ऐतिहासिक स्थान हो किनभने यहीबाट कम्युनिज्मको अन्त्य सुरु भएको थियो। पोल्याण्डको पछिल्लो युद्धपछिको सम्पूर्ण इतिहास देशका मजदुरहरूद्वारा गरिएको बारम्बार हड्ताल र निरन्तर विरोध प्रदर्शनहरूले भरिएको छ जसमा धेरै जनालाई क्रूरतापूर्वक दमन गरिएको थियो। सन् १९७० डिसेम्बर १४ मा ग्डान्स्क शिपयार्ड कारखानामा हडताल सुरु भएको थिए। त्यसको भोलि पल्ट डिसेम्बर १५ को राती हड्ताल गरिरहेका मजदुरहरूलाई ट्याङ्कहरू सहित सेनाको युनिटहरूले घेरेको थियो। जब मजदुरहरू कारखानाबाट बाहिर निस्किए, सैनिकहरूले उनीहरूलाई गोली चलाए र त्यसपछि कारखाना परिसरभित्र प्रवेश गरे।
सोही दिन गेडिनिया शिपयार्डमा पनि पनि हडताल भयो। जेलहरू र अस्थायी हिरासत केन्द्रहरूमा प्रदर्शनकारीहरूलाई बेहोस बनाउन कुटपिट गरियो र गम्भीर रूपमा घाइते बनाइयो। केहीको हत्या भयो , धेरै घाइते भए। सन् १९७० को डिसेम्बर महिनाको सो सप्ताहमा धेरै अन्य शहरहरूमा पनि हडताल र प्रदर्शनहरू भए जसमा ४५ जनाले ज्यान गुमाउनु पर्यो । ती मध्ये १२ जना २० वर्ष मुनिका र २४ जना ३० वर्ष मुनिका थिए । कुल मिलाएर १,१०० जना घाइते भए जसमध्ये अधिकांश मजदुर थिए।
जहाज निर्माण स्थलमा सम्झनास्वरूप त्यस स्थानमा हत्या भएका मजदुरहरूको नाम र उमेर पट्टिकाहरूमा उल्लेख गरिएको छ । त्यस मध्ये केही केवल पन्ध्र, सोह्र वा सत्र वर्षका थिए। बौद्धिकहरूले परिकल्पना गरेको एक विचारधारा जसको उद्देश्य मजदुरहरूका लागि स्वर्गको निर्माण गर्नु थियो त्यसलाई मजदुरहरूको विद्रोहले परास्त गरिदियो।