म विश्व भ्रमणको क्रममा सन् २०२२ को मे र सन् २०२३ को नोभेम्बरमा गरेर दुई पटक चिली पुगे। कोलम्बिया, अर्जेन्टिना, पराग्वे जस्ता देशहरू घुमेर चिली पुग्दा अर्कै महादेश पुगेको अनुभव हुन्छ। अर्जेन्टिनाका फोहोर, पुराना विमानस्थल र चिलीको स्यान्टियागो-डे-चिलीको अत्याधुनिक विमानस्थलबीच ठूलो अन्तर छ । चिली पुग्दा युरोप पुगेको जस्तै अनुभव हुन्छ।
चिलीलाई लामो समयसम्म लाटिन अमेरिका क्षेत्रको आदर्श पुँजीवादी देश मानिन्थ्यो। सन् २०२२ को मानव विकास सूचकाङ्कमा चिली लाटिन अमेरिकी मुलुकहरू मध्ये पहिलो स्थानमा रह्यो। त्यस्तै, हेरिटेज फाउन्डेसनको सन् २०२२ को आर्थिक स्वतन्त्रता सूचकाङ्कमा चिली अमेरिका र बेलायतभन्दा अगाडि विश्वको २०औं स्थानमा रह्यो (सन् २०२४ मा २१औं स्थानमा झर्यो)। यस्ता सूचकाङ्कमा चिलीको स्थानले यो देश लाटिन अमेरिकामा सबैभन्दा आर्थिक रूपमा स्वतन्त्र देश हो भन्ने पुष्टि गर्छ।
यस्ता सफलता पश्च्यात पनि सन् २०१९ को अक्टोबर महिनामा चिलीमा ठूलो प्रदर्शन र हिंसात्मक झडपहरू भए जसको परिणामस्वरूप सन् २०२१ मा राष्ट्रपतिमा समाजवादी ग्याब्रियल बोरिक निर्वाचित भए। बोरिकले निर्वाचनपूर्व देशमा “नियो-लिबरलिज्म” (नयाँ उदारवाद) समाप्त गर्ने वाचा गरेका थिए र अहिले कम्युनिस्ट पार्टीसहितको गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।
चिलीमा पुँजीवाद सफल भएपनि जनताले समाजवादी बोरिकलाई किन राष्ट्रपतिमा निर्वाचित गरे भन्ने प्रश्नको उत्तर केवल आर्थिक तथ्यांकमा खोज्न सकिन्न । यसको उत्तर आर्थिक तथ्यांकमा नभएर जनमतमा आएको परिवर्तनमा आधारित भएर मात्रै फेला पार्न सकिन्छ। अन्ततः, चिली आजका धेरै देशहरूमा देखिने एउटा प्रवृत्तिको स्पष्ट उदाहरण हो: समयसँगै, देशहरूले बिर्सन थाल्छन् कि उनीहरू कसरी आर्थिक रूपमा सफल भएका थिए। आर्थिकरुपमा कुलीन वर्गले आफ्ना व्यवसायमा मात्र ध्यान दिँदा, जनधारणा निर्माण गर्ने काम भने विश्वविद्यालय र मिडियामा पहुँच भएका विपक्षीहरुले बनाउँदै गए। विपक्षीहरुले त्यस्ता सार्वजनिक धारणा निर्माण गर्ने हुँदा त्यहाँ “धनीहरू”लाई समाजमा भएको सबै किसिमको खराबीको दोषी बनाइन्छ जसको कारण जनमानसमा पुँजीवादविरोधी धारणा बलियो हुँदै जान्छ।
मैले चिली भ्रमणको क्रममा त्यहाँका चर्चित उदारवादी (लिबर्टेरियन) अर्थशास्त्री एक्सेल कायजरसँग भेटें। उनको अनुसार चिलीको समस्याको मुख्य कारण भनेको धनीहरूप्रतिको घृणा हो। “चिली त्यो देश हो जहाँ धनीविरोधी भाष्यले प्रगतिलाई बर्बाद गर्यो। पछिल्लो दुई दशकको तुलना गर्दा सन् २०१४ पछि चिलीको राजनीतिमा पपुलिस्ट (लोकप्रियतावादी) मोड आउँदा चिलीको राजनीति र अर्थतन्त्रले लिएको उल्टो गतिले देशको आर्थिक वृद्धिदर सुस्त भएको तथ्यांकले देखाउँछ। सन् २०१४ देखि २०२३ सम्म वार्षिक जीडीपी केवल १.९% वृद्धि भयो जहाँ प्रतिव्यक्ति वृद्धिदर ०.६% मात्र रह्यो। मिशेल बाशेलेको दोस्रो कार्यकालमा ल्याइएको व्यापारविरोधी प्रावधानले लगानी र रोजगारी घटायो र वास्तविक तलब स्थिर बनायो” भन्ने कुरा कायजरले बताए।
चिलीमा देखिएको आर्थिक मन्दीको विश्लेषण स्पष्ट भएता पनि यसको कारणहरू जटिल छन्। त्यही जटिल कारक मध्येको एक कारण धनीहरू प्रतिको प्रतिशोध प्रेरित विचारधारा हो। बाशेलेको सरकारले धनीहरूले आफ्नो हिस्साको पर्याप्त कर नतिरेको ठूलो प्रचार गर्यो र कर सुधारको आवश्यकता औंल्यायो। समाजमा समानता निर्माण गर्ने नाममा सरकारले कुल कर राजस्व देशका १ % धनीले तिर्नुपर्ने र सो करले शिक्षा, स्वास्थ्य, सांस्कृतिक पहुँच, खेलकुद, वातावरण र पेन्सन लगायतमा क्षेत्रमा लगानी गरेर बृहत् जनसंख्याको हित गर्ने बताएको थियो। कायजरले थपे, “चिलीका लोभी धनीहरूले बढी कर तिर्न इच्छा नराखेको कारण चिलीका नागरिकहरूले राम्रो जीवनस्तर प्राप्त हुन नसकेको धारणा सरकारले व्यक्त गर्न थाल्यो”।
तर, बाशेलेको कर सुधार नीति असफल मात्रै भएन, यसले सामान्य मानिसमा पुँजी र सम्पत्तिप्रति गलत विचार सञ्चार गर्दै सम्पत्ति विरोधी सोचलाई बढावा दियो र लगानीकर्ताको लगानी गर्ने इच्छालाई कमजोर बनायो। बाशेलेका पूर्व अर्थमन्त्री आन्द्रेस भेलास्कोले सोबेलै कर सुधार नीतिले निम्त्याउने समस्याको विषयमा चेतावनी दिएका थिए। भेलास्कोलेले कर सुधार नीतिले बचत, लगानी र वृद्धिमा पार्ने असरको विश्लेषण नगरिएको बताएका थिए । त्यस्तै, कर सुधार नीतिले सो वर्षका लागि अपेक्षा गरिएको राजस्व संकलन गर्न समेत असफल भयो। अर्थशास्त्रीहरू गन्जालो सानहिउजा र आर्टुरो क्लारोका अनुसार यदि चिलीको अर्थतन्त्रले सन् २०१३ यता वार्षिक ३.८% दरमा वृद्धि भएको भए सन् २०२३ मा सरकारको राजस्व संकलन २६% भन्दा बढी हुने थियो।
धेरैजसो अर्थशास्त्रीहरू आर्थिक वृद्धि नै सामाजिक प्रगति, रोजगारी, अवसर र सरकारी आम्दानीको स्रोत हो भन्ने कुरामा सहमत छन् तर चिलीको वामपन्थीहरू अझै पनि त्यस्ता दण्डात्मक कर नीतिहरू बनाइरहेका छन् जसका लागि मध्यम वर्ग र गरिबले सीमित अवसरका लागि धेरै मूल्य चुकाउन बाध्य छन्।
सबैभन्दा विचित्रता के छ भने, एकातर्फ चिली सन् १९७५ देखि सन् २०१५ सम्म लाटिन अमेरिकाको सबैभन्दा सफल पुँजीवादी देश रह्यो, चिलीका नागरिकको आम्दानी लाटिन अमेरिकाका अन्य देशका नागरिक भन्दा धेरै गुणा बढ्यो, औसत आयु ६९ वर्षबाट ७९ वर्ष पुग्यो, सामाजिक गतिशीलताका मानक पनि अन्य देशहरूभन्दा अघि रहयो, जुन कुराको पुष्टि सन् 2017 को ओइसीडीको रिपोर्टले पनि गर्छ। तर अर्कोतर्फ, प्रगति पश्च्यातपनि मैले सन् २०२१ को ग्रीष्ममा गरेको सर्वेक्षणले चिलीमा पुँजीवादविरोधी भावना निकै बलियो रहेको देखाएको थियो।
सन् २०२१ को जुलाई ३० देखि अगस्ट ९ सम्म ‘इपसोस मोरी’ले चिलीमा प्रतिनिधिमूलक १००० जना व्यक्तिहरूको एउटा सर्वेक्षण गर्यो। सर्वेक्षणमा सहभागीलाई राज्य-नियन्त्रित बजार र खुला-बजार मध्ये कसलाई समर्थन गर्नुहुन्छ जस्ता प्रश्नहरु राखिएको थियो। सो सर्वेक्षणमा २३ प्रतिशतले राज्य नियन्त्रित बजारको पक्षमा राय व्यक्त गरेको थिए भने १९ प्रतिशत ले खुला बजारलाई समर्थन गर्ने बताएका थिए । ३० वर्षभन्दा कम उमेरका मध्ये १९ प्रतिशतले मात्रै खुला बजारको समर्थन गर्ने जनाएका थिए भने राज्य नियन्त्रित बजारलाई २६ प्रतिशतले समर्थन गरेका थिए । तर, ६० वर्षभन्दा माथिकाबीच भने यो अनुपात उल्टो थियो, जहाँ २२ प्रतिशतले खुला बजारको समर्थन गरे भने १९ प्रतिशतले राज्य नियन्त्रित बजारको समर्थन गरेका थिए।
पुराना पुस्ताले सन् १९७० को दशकमा अलेन्दे अन्तर्गतको समाजवादले देशलाई कसरी चौपट बनायो भन्ने कुरा अझै सम्झन्छन् होला र त्यसपछि खुला बजारले उनीहरूको जीवनमा कस्तो सुधार ल्यायो भन्ने पनि उनीहरूलाई स्मरण हुनुपर्छ। जब लिबर्टारियन थिंक ट्याङ्क Instituto Libertad y Desarrollo की मोरीन हाल्पर्न म र मेरो दोभासे जोआनालाई कतै जानलाई लिन आइन्, उनले चोरीको जोखिमका कारण हामीलाई महँगो सामान नल्याउन भनेकी थिइन् । मैले मेरो महँगो कार्टियर घडी ल्याटिन अमेरिका घुम्ने भनेर घरमै छाडेर त्यसको सट्टा स्वाचको सस्तो घडी लगाएको थिएँ।
मोरीनले मलाई स्यान्टियागो डे चिलीको केन्द्र भागमा घुमाइन्, जुन केही महिनामै निकै परिवर्तन भएको रहेछ। हरेक शुक्रबार वामपन्थी अराजकतावादीको हिंसात्मक प्रदर्शनका हुनेभएकोले ठाउँ–ठाउँमा बाधा र बारहरू लगाईएको थियो। हामी राष्ट्रपति भवन पुग्यौं जसको अगाडि साल्भाडोर अलेन्देको ठूलो शालिक ठडिएको छ। उनले आफ्नो तीनवर्षे कार्यकालमै देशको अर्थतन्त्र डामाडोल पारेको भए पनि उनी चिलीमा वामपन्थका प्रतीक हुन्। सन् २०२२ मार्च ११ मा ग्याब्रियल बोरिकले राष्ट्रपति पद ग्रहण गर्नुअघि अलेन्देको शालिकमा गएर चुम्बन गरेका थिए भनेर मोरीनले भनिन्। त्यो बोरिकका समर्थकहरूलाई स्पष्ट राजनीतिक सन्देश थियो ।
मलाई अरू एउटा चकित पार्ने कुरा के लाग्यो भने, “वोक-इज्म” (सजग समाजवादी धारणा) केवल अमेरिका र युरोपमै सीमित रहेनछ। चिलीमा पनि वामपन्थीहरू “वोक” छन्, जसको प्रमाण राष्ट्रपति भवनको अगाडि वर्षभरि फहराइरहने इन्द्रेणी झन्डा हो। त्यो झन्डा विशेष अवसरमा मात्रै होइन, हरेक दिन फहराइन्छ।
( साभार : राइनर जिटलम्यानको ‘ The Origins of Poverty and Wealth: My World Tour and Insights from Global Libertarian Movement ‘ पुस्तकबाट )
अनुवाद: निशान्त ढुङ्गाना