सविन घिमिरे – ” लाल बहादुर तिमी पहुचवाला भएका तिमी विरुद्ध कुनै मुद्धा नै लाग्दैन थियो । अदालतको फैशला मान्दिन भन्नको लागि तिमी कुनै मेयर होइनौ । राष्ट्रपतिको माफि पाउन न तिम्रो श्रीमती मंत्री नै हुन् । सरकारले मुद्धा फिर्ता लिनको लागि तिमी नेविसंघ तथा अन्य पार्टीका कार्यकर्ता पनि त होइनौ ।
तिमी निमुखा हौ । तिमी गरिब हौ । तिमी पहुच नभएको मजदुर हौ । त्यसैले अदालतको आदेश नमान्ने छुट तिमीलाई छैन । तिम्रो गल्ति नभएपनि अदालतले तिम्रो गल्ति देखाइदिए तिमी अपराधि हौ । त्यसैले त गल्ति नभए पनि अदालतको फैसला आउनासाथ अदालतलाई सम्मान गर्दै तिमि लुसुलुसु आत्मसमर्पण गरेर प्रहरी कहाँ गयौ । तिमि धनि र पहुचवाला भएको भए त तिम्रो मालिक कमल गजमेर जस्तो भागेको नाटक गरेर मासु भात खाँदै आनन्दले कतै ऐसको जिन्दगि विताई हाल्थ्यौ नि ।
तिमी लाल बहादुर हौ त्यसैले अन्तिम विन्दुसम्म न्यायको लागि लड , आफुलाई साहसी बनाएर राख । निमुखाको लागि पनि अदालत भन्ने चिज शायद यो देशमा छ होला ।”
मालिकले गरेको ठगी धन्दामा फसाइएको भनिएका इटहरी १९, तरहराका लाल बहादुर विश्वकर्मा कारागार गएको ७ महिना पुग्न आट्यो । लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । उनी सिंहदेवी ज्वेलर्समा सिक्री बनाउने कालिगढको रुपमा कार्यरत थिए।
उनका मालिक दिपक गजमेर , दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन । पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो। धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो । पैसा राख्नेहरुले पटक पटक उजुरी गरे र जाहेरी दिए ।
ज्वेलर्सका मालिक दिपक गजमेर र उनका भाइ कमल विश्वकर्मा फरार भए र उनीहरुका बुबा कृष्ण बहादुर गजमेर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे । पछि मुद्धा चल्दै गयो । लाल बहादुरका मालिकहरुसहित कलिगढ लाल बहादुर विश्वकर्मालाई पनि विपक्षी बनाइयो। कमल विश्वकर्मा हाल सम्म फरार रहेपनि दिपक गजमेर पनि पक्राउ परे ।
पछि लाल बहादुर २ लाख धरौटि तिरेर छुटे । त्यति बेला सम्म उनको जग्गा १० धुरामा बनेको सानो घर धितो मा गइसकेको थियो । मुद्धा चल्दै जादा लाल बहादुरका मालिकहरु र जाहेरिवालाहरुले ” लाल बहादुर निर्दोष छन् , उनी कामदार मात्र हुन् । हामीले उनीसंग कारोबार गरेको होइन ” भनेर अदालतमा बकपत्र समेत गरेका छन् ।”
तर मुद्धा चलेको लगभग ५ वर्ष पछि २०७८ पुस १९ गते आएको जिल्ला अदालत सुनसरीको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम हुँदा लाल बहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र १८ महिना जेल सजाय सुनाइयो ।
मालिकले गरेको ठगी धन्दामा आफु फसेको भन्दै आएका लाल बहादुर विकले जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध २०७९ साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पुनरावेदनको पुष २६ मा भएको सुनुवाइमा लाल बहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको थियो । त्यसपछि पटक पटक पेसी सर्यो । माघ ३ गते र माघ २४ गते गोलाप्रथा गर्दा झझी झिकाउने न्यायधिस नै परेको कारण हेर्न नमिल्ने भएको थियो। फागुन १६ गते सुनुवाई हुने भएपनि प्रतिवादी दिपक गजमेर ( लालबहादुरका मालिक ) पक्षका अधिवक्ताले आफु विरामी भएको कारण देखाई पेसी सारेको कारण सो दिन पनि सुनुवाई हुन सकेन । फागुन ३० गते गोलाप्रथा गर्दा चुनिएका न्यायधिस अनुपस्थित भएको कारण पेसी सर्यो । २०७९ चैत्र २८ र २०८० वैशाख १९ मा हेर्न नमिल्नेमा गयो ।
जेठ ९ गते तोकिएको पेसीमा न्यायाधीस राम बहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जाहेरवालाहरुको सक्कली पासबुक लगायत बरामदी मुचुल्कामा उल्लेखित कागज प्रमाणहरु झिकाउने आदेश दिएको थियो । आदेश बमोजिम उच्च अदालत विराटनगरले उच्च सरकारी वकिल कार्यलयलाई जेठ ११ गते पत्र पठायो । उच्च सरकारी वकिल कार्यलयले जेठ १२ गते इलाका प्रहरी कार्यालय , इटहरीलाई सक्कली पासबुक पठाउन भनेर पत्र गर्यो । जेठ १६ गते इलाका प्रहरी कार्यालय इटहरीले इमेल मार्फत उच्च सरकारी वकिल कार्यलयलाई ” सक्कल पासबुकहरु दशीको रुपमा मिसिल संग्लग्न राखी सम्मानित सुनसरी अदालतमा पेश गरेको हुदा उक्त मुद्धाको सक्कल पासबुकहरु नभएको ” व्यहोरा उल्लेखित पत्र पठाएको थियो । तर त्यो इमेल सरकारी वकिल कार्यालयले हेरेन । पत्रकारले जानकारी गराएपछि बल्ल उच्च सरकारी वकिल कार्यालयले असार १ गते पत्रको प्रिन्ट आउट निकाल्यो ।
अदालतले आदेश गरे बमोजिमको सक्कल पासबुक आएपछि मात्र अर्को पेसी तोकिने भनेर लाल बहादुर विकको मुद्धाको ९ औं पेसी तोकिनबाटै रोकिएको छ ।
यो पनि : https://bikalpakhabar.com/2023/02/2754/