विराटनगरमा ‘ कोशी प्रदेशमा राजनीतिक गतिरोध , यसको असर र सम्भावित निकास ‘ विषयमा छलफल कार्यक्रम भएको छ। विकल्प एन अल्टरनेटिभले आयोजना गरेको कार्यक्रममा संसदीय दलका नेताहरुलाई बोलाइएको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्व तथा युवा र विद्यार्थीहरुसहित सयौं जनाको सहभागिता रहेको थियो ।विराटनगरको श्री कृष्ण होटलमा आयोजित कार्यक्रममा विकल्प एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमलाले सभापतिको भूमिकाको निर्वाह गरेका थिए भने विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको बारेमा प्रकाश पार्दै अधिकारीले राजनीतिक स्थिरता कुनै पनि देशको विकासको निम्ति अपरिहार्य रहेको तर विगत केहि महिना यता कोशी प्रदेशमा राजनैतिक स्थिरता खड्किरहेको कुरालाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
छलफलमा नेकपा एमालेबाट कोशी प्रदेश सभा सदस्य राम बहादुर मगर , नेपाली कांग्रेसबाट कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल , नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सभा सदस्य गणेश उप्रेती , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला , नेकपा एकीकृत समाजवादीबाट कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ्ग राई र केन्द्रिय तथा पोली व्युरो सदस्य तथा कोशी प्रदेशको पुर्व स्वास्थ्यमंत्री जयराम यादवले कोशी प्रदेशमा राजनीतिक गतिरोध , यसको असर र सम्भावित निकास विषयमा आ आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सभा सदस्य गणेश उप्रेतीले अहिलेको संघियता केन्द्र केन्द्रित रहेको कारण पनि कोशी प्रदेशमा राजनीतिक गतिरोध सृजना भएको बताए । केन्द्र सरकारको गठबन्धन जस्तो बन्छ ,प्रदेशमा पनि त्यसै बनाउने केन्द्रको होडले पनि प्रदेशको सरकार अस्थिर रहेको उनको जिकिर थियो । उनले यस प्रकारको संघियता आफुहरुले नखोजेको बताउदै स्वायत्त सरकारको पक्षमा आफुहरु रहेको बताए । कोशी प्रदेशमा ४६ /४६ को अङ्कगणित राजनीतिक गतिरोधको मुख्य कारण रहेको बताउंदै उप्रेतीले सभामुखले पनि आवश्यक पर्दा मतदान गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।अहिले मध्यावदि चुनावम जाँदा कसैलाई फाइदा नभएको कारण २ वटा गठबन्धन मध्ये एउटा गठबन्धन टुट्नुपर्ने बताउदै नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउदा माओवादी प्रतिपक्षमा बस्न तयार रहेको उप्रेतीले बताएका थिए । उनले एमाले , माओवादी र राप्रपा मिलेर पुरानै जस्तो सरकार बनाउन पनि बाटो खुल्ला रहेको उनको धारणा थियो। ।
नेकपा एमालेबाट कोशी प्रदेश सभा सदस्य राम बहादुर मगरले केन्द्रमा गठबन्धन फेरिंदा प्रदेशमा पनि फेरिनुपर्ने , केन्द्रले भनेको प्रदेशले मनिहाल्नु पर्ने जस्ता कुराले कठिन अवस्था सृजना भएको बताए । जनमतको कदर गर्दै ५ वर्ष मिलाएर जानुपर्नेमा यस विषयमा राजनीतिक दलहरुले कम छलफल गरिरहेको मगरले बताएका थिए । सभामुखले मतदान गरेको असंबैधानिक भएको कुरा अदालतले पनि थप स्पष्ट पारेको बताउंदै उनले सभामुखको गलत उपयोग किन गरियो भन्ने कुराको उत्तर आफुहरुसंग नरहेको बताए । हालको अवस्थामा एक अर्कालाई दोषारोपण गर्दै अस्थिरता तर्फ धकेलियौ भने जनतामा थप नैराश्यता सृजना हुने , जिम्मेवारी दलहरुप्रति जनताले औलां ठड्याउने परिस्थिति बन्ने , आर्थिक क्रियाकलाप कमजोर हुने , विकासका कामहरु पूर्ण रुपमा प्रभावित हुने हुदा स्थिरता तर्फ जानको लागि अझै गतिल्लो छलफल आवश्यकता रहेको प्रदेश सभा सदस्य मगरले बताएका थिए।
जिम्मेवारी राजनीतिक दलहरुले जनमतको विषयमा पर्याप्त छलफल गर्न नसकेको स्वीकार गर्दै सर्वदलीय सरकार बनाउने र मुख्यमन्त्री आलोपालो गरेर चलाउनेमा पनि आफुहरुलाई स्वीकार रहेको प्रदेश सांसद मगरले बताए । स्थिरताको लागि एमाले सधै सरकारमा बसिरहनु पर्ने बाध्यता पनि नरहेको उनको धारणा थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले प्रदेशमा राजनैतिक मात्र नभएर आर्थिक गतिरोध पनि सृजना भएको हुनुका साथै विकासका कामहरुमा पनि बाधा भएको बताए । राजनीतिक रुपमा समाज अल्मलिएको अवस्थामा यसको निकास दिन नसक्दा प्रदेश सरकारको आवश्यकतामाथि पनि प्रश्न चिन्ह खडा भएको सिटौलाले बताए। उनले स्थानीय सरकारलाई मजबुत बनाएर प्रदेश सरकारलाई अनुगमन गर्ने प्रशासनिक युनिटको रुपमा राख्नुपर्ने बताउदै संविधान संसोधन गरेर प्रदेश खारेज नगरुन्जेलसम्मका लागि यो संविधान मान्नुपर्ने पार्टीको र आफ्नो पनि दायित्व रहेको उनको जिकिर थियो । नेकपा एमाले , माओवादी , राप्रपा र जसपा मिलेर सरकार चलाइरहेको त्यो अवस्थामा जसपाका तर्फबाट मंत्री रहेकी निर्मला तावाले पहिचानको कारण देखाएर राजिनामा दिएपछि ५९ सदस्य भएको र सरकार टुट्ने अवस्था नरहेको भएपनि माओवादीका संसदीय दलका नेताले मुख्यमन्त्रीको महत्वकांक्षी देखाएको कारण अस्थिरता सृजना भएको सिटौलाले बताए। यस प्रकारको सृजना भएको गतिरोधको सम्भावित निकासको हात राप्रमा नरहेको उनले बताए। ६ वटा सिट रहेको राप्रपाको टाउकोमा दोष थुपारेको अवस्थामा निर्णायक शक्तिमा राप्रपा नरहेको उनले स्पष्ट परेका थिए । संसदीय दलका नेता पनि रहेका सिटौलाले यस्तो अस्थिरताको परिस्थितिमा प्रदेश सरकार खारेज भयो भने निकास निस्किने बताएका थिए।
नेपाली कांग्रेसबाट कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डलले जनमतलाई सम्मान गर्नुपर्ने बताउंदै कोशी प्रदेशमा देखिएको अस्थिरता तथा राजनीतिक गतिरोधलाई अन्त्य गर्न राजनीतिक दलहरुको सहकार्य , सम्झौता र समझदारी आवश्यकता रहेको बताए । राज्यको पहुचमा नपुगेका व्यक्तिहरुलाई मुलधारमा ल्याउनका लागि संघियता ल्याइएको भन्दै सम्पुर्ण गतिरोध अन्त्य गर्नको लागि मुख्य दलहरुबीच ठोस किसिमको सहकार्य गरेर संघियतालाई बचाउनुपर्ने उनको भनाइ थियो । संघियता खारेज गरेर समस्या समाधान नहुने बताउदै संघियता सहितको संविधान कार्यन्वयन गर्न सबैको सहकार्य जरुरी रहेको उनले बताए ।
केन्द्रिय तथा पोली व्युरो सदस्य तथा कोशी प्रदेशको पुर्व स्वास्थ्यमंत्री जयराम यादवले मध्यावदिमा कोशी प्रदेश जानुहुदैन भन्ने जसपाको स्पस्ट धारणा रहेको उनले बताए । नेपालको संविधान अपूर्ण भएको बताउदै कोशी प्रदेशमा रहेको समस्याको प्रमुख कारण संविधान भएको बताए । अहिले पनि संविधान सचाउने हो भने नेपालको सम्पूर्ण समस्या समाधान हुने उनको जिकिर थियो। जबसम्म संघियता , समावेसी र समानुपतिप्रति यहाका शासकहरु प्रष्ट नहुन्जेल यो संघियताको बारेमा यसरी नै प्रश्न खडा भइरहने यादवको भनाई थियो । छलफलको लागि सांसदहरुलाई पर्याप्त समय नदिई फास्ट ट्रयाकबाट कोशी प्रदेशको नामाकरण भएको कारण पनि यो गतिरोध सृजना भएको उनको भनाई थियो।
नेकपा एकीकृत समाजवादीबाट कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ्ग राईले ४६/४६ को अंकगणितले स्थायी सरकार बन्न नसकेको बताइन । केन्द्र सरकारले अंकुश लगाएको कारण प्रदेश सरकार आफ्नो तरिकाले चल्न नपाउने भएको कारण प्रदेश सरकार स्थायी हुन नसकेको उनले बताइन । धारा ५ अनुसार स्थायी सरकार मिलेर बनाउनुपर्ने उनको भनाई थियो । प्रदेश सरकार खारेज गर्दा जनताको अगाडि दोषी भइने हुनाले स्थायी सरकार बनाउन अग्रसर हुनुपर्ने राईले बताइन। कोशी प्रदेश नामाकरण गर्ने बेलामा त्यस बेलाको सरकारले छलफलको लागि पर्याप्त समय नदिएको बताउंदै अब नेताहरु बीच स्थायी सरकारको लागि गहन छलफलको आवश्यकता रहेको कोशी प्रदेश सभा सदस्य राईले बताइन।
वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरे पश्चात सहभागीहरुबाट प्रश्न राख्नको लागि समय दीएको थियो । विभिन्न सहभागीहरुले प्यानलिस्टहरुलाई सम्बन्धित विषयमा आफ्नो प्रश्न तथा सुझाव राखेका थिए ।
1 Comment
Pingback: “Political deadlock in Koshi Province, its impact and possible solution” - Bikalpa - an Alternative