समिर क्षेत्री
समाज अर्थतन्त्रको अभिव्यक्ति हो भनेर भन्दा फरक नपर्ला । राज्यले जस्तो प्रकारको आर्थिक व्यवस्था अवलम्बन गर्दछ त्यसै अनुरुपको समाज निर्माण हुन पुग्दछ । कम नियन्त्रित आर्थिक व्यवस्थाले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ र बलियो अर्थतन्त्रले सबल समाज निर्माण गर्दछ । जबकि अर्थतन्त्रमा अत्याधिक नियन्त्रणले देशको आर्थिक अवस्थालाई कमजोर बनाइ दिन्छ जसले समाजलाई गरिबी र परनिर्भरता तर्फ धकेलिदिन्छ। अर्थतन्त्रलाई बुझ्नुभन्दा पहिले हामीले मानिसहरुको मनसाय र एक अर्का बीचको अन्तरक्रियालाई बुझ्न आवस्यक हुन्छ। यसले हामीलाई किन मानिसहरूले बजारमा कुनै वस्तुको छनौट गर्दछन् र कसरी व्यक्तिगत छनोटले समग्र उत्पादन, वितरण र उपभोगको प्रक्रियालाई प्रभाव पार्छ भन्ने कुरा प्रष्ट गर्छ।
मानिसहरूले बजारमा आफूले गर्ने छनोट, आफ्ना आवश्यकता, प्राथमिकता, र उपलब्ध स्रोतहरूका आधारमा गर्छन्। कुनै वस्तु अर्काभन्दा बढी उपयोगी, वा आकर्षक देखिएमा उनीहरू त्यसलाई रोज्ने सम्भावना बढी हुन्छ। बस्तु तथा सेवाको मूल्य, गुणस्तर, ब्रान्डको प्रतिष्ठा, र सहज पहुँचजस्ता पक्षहरूले पनि उनीहरूको निर्णय लिने कुरामा प्रभाव पार्दछ। मानिसका चाहना असीमित हुन्छन् तर यसलाई पूरा गर्न सीमित स्रोत-साधन मात्र उपलब्ध भएकोले मानिसहरूले आफ्ना प्राथमिक चाहना मात्र पूरा गर्न सक्दछन् । यस अवस्थामा, उद्यमीहरूले ती उपलब्ध स्रोत-साधनहरूलाई बढी भन्दा बढी उत्पादनशील हुने गरी परिचालन गर्ने भूमिका निर्वाह गर्दछन् l
फ्रान्सेली अर्थशास्त्री जीन-बाप्तिस्ते सेको भनाइ अनुसार, उद्यमी भनेको आर्थिक स्रोतहरूलाई कम उत्पादक क्षेत्रबाट बढी उत्पादक र प्रतिफल दिने क्षेत्रमा परिचालन गर्ने व्यक्ति हुन्, जसले काहा कुन स्रोतको उपलब्धता छ र काहा त्यस स्रोतको अधिक माग छ भन्ने कुरा पत्ता लगाउन सक्दछन् । बंगलादेशका लाखौं गरीब महिलाहरूलाई बिना धितो ऋण दिएर उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएर नोबेल पुरस्कार समेत प्राप्त गर्न सफल अर्थशास्त्री डा. मोहम्मद युनुस को बिचारमा प्रत्येक व्यक्ति जन्मदेखि नै उद्यमी हुन्छ, कोही आफ्नो क्षमता देखाउन पाउँछ भने कोही अवसर नै पाउँदैन, कतिपयले त आफूभित्र यस्तो क्षमता भएको कुरा बुझ्न पनि सक्दैनन् l
उद्यमीहरूलाई परिवर्तनकारी, नव, र समन्वय कर्ताको रुपमा हेर्न सकिन्छ।उद्यमीहरूले परम्परागत प्रचलित प्रथालाई चुनौती दिन्छन्। उनीहरूले नयाँ किसिमको उत्पादन तथा सेवा प्रदान गरि पुरानो किसिमको व्यवसायलाई विस्थापन गर्दछन्, जसलाई रचनात्मक विनाश भनिन्छ। उदाहरणको लागि डिजिटल क्यामेराले रिल वाला क्यामेरालाई बिस्थापित गरेको र मोबाइलले टेलिफोनको उपयोगितालाई कम गरिदिएको बिषयलाई लिन सकिन्छ l उद्यमीहरूले नयाँ प्रविधि, प्रक्रिया, र समाधान प्रस्तुत गरेर ग्राहक तथा बजारको आवश्यकता हरू पूरा गर्छन्। उद्यमीहरूले प्राकृतिक स्रोत, श्रम, र पूँजी तथा अन्य उत्पादनका तत्वलाई मिलाएर उपयोगिता सिर्जना गर्दछन।
उद्यमशीलता ले नाफा मात्र सिर्जना गर्दैन, यसले समाजलाई वस्तु वा सेवाहरू प्रदान गरेर सामाजिक लाभ पनि प्रदान गर्दछ । यसले कुनै पनि पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई आफ्नो आर्थिक स्तर उकास्ने अवसर दिञ्छ। सामाजिक उद्यमशीलता ले प्राथमिक नाफाको उद्देश्य बिना नै समाजमा स्थित समस्या समाधान गरेर समाजलाई माथि उठाउन सहयोग पुर्याउदछ ।
सरकारले बजार अपूर्ण रहेको र यसमा भएका कमि कमजोरी हटाउने उदेश्यले हस्तक्षेप गर्ने मनसाय राख्दछ । यो सत्य हो कि बजार कहिले पूर्ण हुदैन, तर यही अपुर्णताले मानिसलाई उत्पादनमुलक कदम चाल्न उत्प्रेरित गर्छ । यस्तै परिस्थितिमा उद्यमीहरूको जन्म हुन्छ, जसले धेरै असफलताहरूवाट सिकेर सुधारात्मक कदम चाल्छन्। त्यसैले, आर्थिक गतिविधिमा सरकारको भूमिका केवल सहजीकरण गर्ने हुनुपर्छ, जसले उद्यमशीलता लाई प्रोत्साहन गर्ने नीतिगत वातावरण सिर्जना गर्दछ।
राज्यको बोझिलो र झन्झटिलो नीति-नियमले ब्यापार-व्यवसायलाई खर्चिलो बनाइ दिन सक्छ l ठुला ब्यापार व्यवसायले राज्यका यी नीति-नियम पालना गर्नको निम्ति आवस्यक स्रोत खर्च गर्न सके पनि साना व्यवसायहरूलाई भने सो नीति नियम पालना गर्नको निम्ति समय र स्रोतको व्यवस्थापन गर्न कठिन हुन्छ l यसले उनीहरुको लागत वृद्धि गर्नुको साथै बजार प्रवेश गर्नमा बाधा पुग्न जान्छ। यसका कारण साना व्यवसायहरू नीति-नियमको झन्झट बाट पन्छिन खोज्छन्, जुन उपभोक्ताको हितमा हुँदैन।
बिस्वब्यापिकरणको नयाँ युगमा उद्यमशीलताको आवश्यकता झनै बढेर गएको छ। उद्यमशीलता ले संसारको आर्थिक चुनौतीहरूको समाधान गर्नको निम्ति मुख्य भूमिका खेल्छ, तर यो त्यसबेला मात्र सम्भव हुन्छ, जब सरकारले उद्यमशीलता लाई प्रोत्साहन दिने नीति अपनाउँछ।यसको निम्ति राज्यले बजारमा नियन्त्रकको रुपमा प्रस्तुत हुनुको साटो सहजकर्ताको भूमिका निर्वाह गर्दा उचित हुने देखिन्छ l आर्थिक बिकास गरेका संसारभरिका देशहरुको परिस्थितिलाई नियाल्दा ति देशहरु आर्थिक रुपमा सवल भएका छन् जुन देशका सरकारहरुले उद्यमशीलता लाइ प्रोत्साहन गर्ने आर्थिक स्वतन्त्रता प्रदान गरेका छन् l यसैकारण पनि नेपाल सरकारले उद्यमी हरुको निम्ति बजारमा प्रवेश गर्न, अर्थात ब्यापार दर्ता गर्न, ब्यापार संचालन गर्न तथा आवस्यक परेको खण्डमा ब्यापार बन्द समेत गर्ने सहज नीतिगत बाताबरण तयार गर्न आवस्यक देखिन्छ l