भर्खरै यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न नपाइने भनेर सूचना प्रकाशित गरेको अवस्था छ, यसो गरेको खण्डमा गैर कानुनी हुने र कारबाहीको भागीदार हुने कुरा बताएको छ ।
तर हामी राज्य र तिनका मातहतका मानिसहरू सँग प्रश्न गर्न चाहन्छौ, आखिर किन तुटल र पठाओका चालकहरूले आफ्नो पेसा व्यवसाय गरी खान नपाउने ?
किन सधैँ राज्यका शासक र तिनले बनाएको अव्यवहारिक नीति, नियमको मारमा हामी गरी खाने नागरिक पिल्सिनु पर्ने ?
के मेहनत गरी खानु अपराध हो ?
के नागरिकहरूलाई सस्तो सेवा पुर्याइ उनीहरूको पैसा बचाउन सहयोग गर्नु पाप हो ? कि हामी नागरिक सधैँ सिन्डिकेटको मारमा परि बढी तिर्न बाध्य हुनुपर्ने?
के स्वदेश मै गरी खान्छु भनेर सोच्नु गलत हो ? कि हामी सधैँ बिदेसिएर अरूको गुलामी नै गर्नु पर्ने ?
के नयाँ सोच र प्रविधि भित्राई उद्यमी बन्नु अपराध हो ?
यदि हो भने टुटल र पठाओ तथा तिनका चालकले यी सबै दुस्साहस गरेकै हुन्, यिनीहरूलाई कारबाही गर्नु पर्दछ l अन्यथा टुटल र पठाओले आफ्नो सेवा दिन पाउनु पर्दछ र नागरिकहरूलाई उनीहरूले प्रदान गर्ने सेवाबाट कुनै पनि हालतमा वञ्चित गरिनु हुन्न l
के राज्यले टूटल र पठाओ ले दिने सेवालाई बन्द गरी त्यसमा आश्रित हजारौँ मानिसहरूलाई रोजगारी दिन सक्छ ? अथवा सस्तोमा नागरिकहरूलाई यात्रा गर्ने वातावरण बनाइ हरेक नागरिकको पैसा बचत गर्ने सामर्थ्य राख्दछ ?
यदि राख्दैन भने, केही सीमित स्वार्थ समूहको हितलाई संरक्षण गर्नको निम्ति आम नागरिकहरूको हितलाई तिलाञ्जली दिन मिल्दैन l
सरकार, हामी नागरिक रोजगारीको निम्ति सधैँ बिदेसिनु नै पर्छ भन्ने छैन, न त राज्यको बेरोजगार भत्ता र खैरातको पर्खाइमा घाँस उखेलेर गाई धपाएर नै बस्नु पर्छ भन्ने छ l
हामी नागरिक मेहनत र इमानदारी साथ सेवा प्रदान गरी आफ्नै देशमा पेसा व्यवसाय गरी खान चाहन्छौ
त्यसका निम्ति आफूले रोजेको पेसा व्यवसाय सहज रूपले गरी खान पाउने हाम्रो अधिकार हो र यसलाई सुनिश्चित गर्ने आर्थिक स्वतन्त्रता चाहिएको छ हामीलाई !
तपाईँहरूको नीति, नियम र कानुनमा रहेका कमी-कमजोरी तथा बाधा-व्यवधान आदिलाई सच्याइ एउटा नेपाली नागरिक स्वरोजगार र उद्यमी बनी गरी खाने आधार तयार गर्नुपर्ने आजको आवश्यकता हो l
त्यसैले रातो नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने तपाईँको कानुनी प्रावधानलाई परिमार्जित गरेर हुन्छ वा अरू कुनै नीति अवलम्बन गरी टूटल र पठाओ ले दिने सेवालाई सुचारु गर्नको निम्ति पहल गर्न नितान्त आवश्यक छ, यही नै अधिकांश नेपालीहरूको चाहना रहेको छ l
आफ्नै देशका नागरिकलाई स्वरोजगार र उद्यमी बन्न प्रेरित गर्नु राज्यको दायित्व हो, किनकि राज्य स्वयंले सबै नागरिकहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने सामर्थ्य राख्दैन l टूटल र पठाओ जस्ता धेरै आर्थिक अभियानहरू नै हुन् जसले नागरिकहरूको रोजगारी र जीविकोपार्जनलाई सुनिश्चित गर्दछन् l
त्यसैले फेरी पनि भन्दछौ, टूटल र पठाओको सेवा आज नेपाली समाजको माग हो l
यसले हामी नागरिकको समय र पैसा बचाउनुको साथै हामीलाई स्वरोजगार बनाइ नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउन सहयोग पुर्याएको छ l
त्यसैकारण पनि टूटल र पठाओले गरी खान पाउनुपर्छ l
“हामी नेपालीले राजनीतिक र सामाजिक हक-अधिकारको निम्ति धेरै रगत-पसिना बगायौ, अब सबै नागरिकहरू मिली एक पटक आर्थिक स्वतन्त्रताको निम्ति आवाज उठाउन जरुरी छ l”
1 Comment
गरि खान पाउनु पर्दछ ।