के उद्यमी – व्यवसायी बन्नु अपराध हाे ?

182

– डा. भोला चालिसे

दक्षिण एशियामा पहिलेदेखि नै ‘गरी खानु’ भन्ने अवधारणालाई हेयको दृष्टिकोणले हेर्दै आइएको छ । यस क्षेत्रमा उद्यम वा व्यवसाय गर्ने कार्यलाई पहिलो वा दोस्रो श्रेणीमा नभइ तेस्रो वा चौथो श्रेणीमा राख्दै निकृष्ट कार्यका रूपमा हेर्दै आइयो । यस क्षेत्रमा रहेका धर्म र त्यसका विश्वासहरूले मानिसलाई उद्यमी वा व्यवसायी बन्ने उत्प्रेरणा नभएर जोगी बनाउने ज्ञान र प्रेरणा दिँदै आयो । यही कारण जोगी बन्नु नै जीवनको सबैभन्दा ठूलो मुक्तिको बाटो हो भन्ने कुरा जन्मदेखि मृत्युपर्यन्तसम्म सामाजिकीकरणको एक पक्षका रूपमा रहँदै आयो । पश्चिमा देशहरूले दुई सय वर्षको लामो कालखण्ड लगाएर पत्ता लगाएको उन्नतिको बाटो यस क्षेत्र र नेपालसम्म आइपुग्न अर्को सय वा डेढसय वर्ष अझै लाग्यो । बीसांै शताब्दीको आरम्भमा राजनीति प्रजातान्त्रिक पद्धतियुक्त हुनुपर्छ भन्ने बहस शुरू हुँदै गर्दा नेपालको राजनीतिमा वामपन्थीहरूको वर्चश्व रह्यो । भर्खरभर्खर उपनिवेशबाट स्वतन्त्रता पाएका देशहरूको समाजवादी प्रजातान्त्रिक सोचको प्रभावमा एक व्यक्ति वा एक परिवारमा मात्र सीमित रहेको शासन प्रणालीबाट उन्मुक्ति पाएको नेपालजस्तो देशले वामपन्थीहरूको वर्चश्वमाझ पनि आफ्नो राजनीतिको मूल नारा विकास र गरिबी निवारण हो भन्नेबाट प्रारम्भ ग¥यो । यी दुईटा उद्देश्य प्राप्तिका लागि राज्यको सरकार बलियो मात्र होइन हस्तक्षेपकारी पनि हुनुपर्छ भन्ने सोचले सम्पूर्ण क्षेत्रमा व्यापकता पायो । राज्यसत्तामा ब्रह्मलुट भइरहेको तत्कालिन अवस्थामा जनताले उपनिवेशबाट मुक्ति दिलाउने वा जहाँनिया राणा शासनबाट छुटकारा दिलाउनेले भनेका कुरा सही होलान् भनी विश्वास गर्न थाले । त्यसपछिको झन्डै अर्को ७०–८० वर्ष देश त्यस्तै चिन्तन र विश्वासमा चल्न थाल्यो । यस प्रक्रियामा सबैले भन्ने गरेको मानिसको जन्मदेखि मृत्युसम्मका क्रियाकलापमा सरकारबाट कुनै न कुनै किसिमको हस्तक्षेप हुनुपर्छ भन्ने मान्यता पनि क्रमशः स्थापित हुँदै गयो । यसको परिणाम भने खासै राम्रो भएन भने देशको विकासको दर स्थिर भएर गरिबी पनि घटेन । यी दुवै चीज नहट्नुको कारणका रूपमा सरकारको जबरजस्ती र र त्यसका कारण व्यक्तिले उपयोग गर्ने सिर्जनशील प्रयासहरूको हत्या नै रहेको थियो ।

व्यक्तिको उत्प्रेरणाको अधिकतम उपयोगका लागि स्वतन्त्र बजार मुख्य पूर्वाधार हो । स्वतन्त्र बजार भन्नाले त्यसमा संलग्न हुने विभिन्न व्यक्तिहरूले आफूले स्वतन्त्र रूपमा उत्पादन गरेको वस्तु वा सेवाको खरिदबिक्री पनि आफ्नो इच्छा र स्वतन्त्रता पूर्वक गरिराखेका हुन्छन् । स्वतन्त्र बजारमा बिना डर, त्रास र धम्की सहभागी भइरहेका व्यक्तिहरूको व्यवहारबाट जुन व्यवस्था स्थापित हुन्छ, त्यही व्यवस्था नै स्वतन्त्र बजार हो । कुनै पनि केन्द्रीय योजनामा विश्वास गर्ने योजनाकारहरूले कर्मचारीतन्त्रमार्फत् सङ्कलन गरेका सूचनाका तुलनामा स्वतन्त्र बजारमा संलग्न हुने असङ्ख्य सङ्ख्याका व्यक्तिहरूका निर्णयको प्रक्रियाले नै उद्यमी वा व्यवसायीहरूलाई बढी सत्य र निपूर्ण सूचनाहरू दिइराखेको हुन्छ । यसले समाजमा एउटा त्यस्तो व्यवस्था स्थापित गर्छ, जसलाई सामाजिक व्यवहारका रूपमा परिचित गराउन सकिन्छ । आजसम्मको इतिहास हेर्दा स्वतन्त्र व्यक्तिले स्वनिर्णय गर्दै बजारमा भाग लिएर दिएको सूचनामा आधारित उद्यम वा व्यवसाय नै सबैभन्दा दिगो र दरिलो रहँदै आएको छ । सरकारले सञ्चालन गरेका उद्यम वा व्यवसायहरू सरकारी अधिकारीहरूले बटुलेका सूचनामा आधारित भएकाले तिनीहरू नेपालमा मात्रै हैन, हाम्रा छिमेकी भारत, चीन लगायत संयुक्त राज्य अमेरिकामा समेत असफल भए । यिनै सरकारी अधिकारीहरूको योजनामुताबिक अर्थतन्त्रलाई अगाडि बढाउन खोज्दा संयुक्त राज्य अमेरिकाको टेक्सटाइल उद्योग र मोटर कारखानाहरू उद्यमशीलताको अधिकतम उपयोग गरेर उत्पादन गरिएका अन्य देशका टेक्सटाइल र मोटर कारखानाहरूसँग प्रतिस्पर्धी बन्न नसकेर असफल भएको कुरा सबैसामु छर्लङ्ग भइसकेको तथ्य हो ।

सरकारको आर्थिक नीतिनिर्धारणको क्षेत्रमा रहेका र आफूलाई उदार अर्थतन्त्रमा विश्वास गर्ने ठान्नेहरूले समेत स्वतन्त्र बजार निर्दयी हुन्छ र यस स्वतन्त्र बजारमा विश्वास गर्नेहरूले स्वतन्त्र बजार आफँैमा पूर्ण हुन्छ भनेर भन्दछन् भन्ने मिथ्या आरोप लगाउँदै बजार पूर्ण नहुने भएकाले त्यसलाई पूर्ण बनाउन सरकारले हस्तक्षेप गर्नुपर्छ भन्ने तर्क राख्दै आर्थिक क्षेत्रमा सरकारी हस्तक्षेपकारी नीति कार्यान्वयनका लागि सल्लाह दिँदै आएका छन् । तर सत्य के हो भने स्वतन्त्र बजारमा विश्वास गर्नेहरूले बजार पूर्ण हुन्छ भनेर कहिल्यै पनि भनेका छैनन् । त्यस्ता मिथ्या अवधारणाबारे आफूलाई एकदमै उदार ठान्ने सं.रा.अमेरिकामा समेत अर्थशास्त्र विषयको स्नातकोत्तरको पाठ्यक्रममा झण्डैझण्डै चार पानामा सीमित राखिएको ‘अष्ट्रियन स्कूल अफ इकोनोमिक थट’ बारे गहिरो अध्ययन गरियो भने स्पष्ट हुन सकिन्छ । सं.रा.अमेरिका जस्तो देशको पाठ्यक्रममा त त्यस्तो छ भने नेपाल जस्तो देशमा सरकारले नै सबैथोक गरिदिनु पर्छ भन्ने विचार पाठ्यपुस्तकमार्फत् कक्षा नर्सरीदेखि स्नातकोत्तरसम्म थोपरिँदै आइएको छ । त्यसमा पनि नेपालमा शासक वर्गको थातथलोका रूपमा रहेको काठमाडौंका जनतामा त शौचालय बसिसकेपछि आफ्नो फोहोर भएको अङ्गसमेत सरकारले पुछिदिनुपर्छ भन्ने धारणा छ । अहिलेको नेपालका शिक्षित वर्गमात्र नभएर शिक्षित युवा समेतको सोच आफ्नो आँगनमा भएको फोहोर अलि कमजोर छिमेकीको आँगनमा मिल्काउन खोज्दा उसले विरोध ग¥यो भने सरकारले त्यो कमजोर छिमेकीलाई प्रहरीद्वारा पिटाएर भए पनि त्यो फोहोर मिल्काउन लगाउनुपर्छ भन्ने छ ।

नेपाली समाजमा शताब्दीयौंदेखि स्थापित हुँदै आएको मान्यताले गर्दा नै वर्तमान समयसम्म पनि स्वतन्त्र बजारमा व्यक्तिहरूले स्वतन्त्र रूपमा भाग लिने कार्यलाई धनीले गरिब मार्ने, उद्योगी वा व्यावसायीले उपभोक्तालाई मार्ने, गरी खानेहरू चोर–फटाहा हुन् भन्ने खालका सोच विद्यमान रहेको छ । जब मानिस बजारमा आफूसँग भएका स्रोतहरूको आदानप्रदान कुनै डर वा त्रासबिना गर्दछ, त्यसबखत धनीले गरिबलाई मार्ने वा उद्यमी–व्यवसायीले उपभोक्तालाई मार्ने भन्ने प्रश्न नै उठ्दैन । त्यसो गर्ने हो भने बलिया बाङ्गाले स्वतन्त्र बजारमा भाग लिने नभइ फटाफट मान्छेलाई मार्दै, दास बनाउँदै लगेको हुनुपर्ने थियो । अथवा एउटा निर्धो व्यक्तिसँग भएको स्रोत वा सम्पत्तिलाई अर्को बलियो व्यक्तिले खोसेर लिने अवस्था हुन्थ्यो । यस्तो कार्य गर्दा लुटिखाने वा खोसिखानेले आफूलाई आइपर्न सक्ने खतराको मूल्याङ्कन भने अवश्य गरेको हुन्छ । जसको सम्पत्ति लुटेर खाइएको छ वा खोसिएको छ उसको विरोधको सामना गर्नुभन्दा संसारमा जो–जोसँग जे जति छ, ती सम्पत्ति वा स्रोतको स्वतन्त्रतापूर्वक कारोबार गर्दा त्यस्तो कारोबारमा सहभागी हुने सबैको कल्याण हुन्छ भन्ने सोचका आधारमा स्वतन्त्र बजारको विकास भएको हो । यहाँ अर्थशास्त्रमा प्रयोग हुने एउटा साधारण विनिमयको उदाहरण दिनु उपयुक्त हुन्छ । एकादेशमा दुईजना किसान थिए रे । एउटासँग ५ वटा घोडा र अर्कोसँग ५ वटा गाई रहेछ । खेती किसानीको कार्य गर्नका लागि दुबै किसानलाई गाई पनि चाहिने रहेछ भने घोडा पनि चाहिने रहेछ । यस्तो अवस्थामा दुईटै किसान लेनदेनमा पस्दा तीनवटा गाई बराबर दुईवटा घोडा साटासाट गरेछन् । यो बिन्दुमा पुग्दा घोडा साट्नेलाई पनि नोक्सान भएनछ भने गाई साट्नेलाई पनि नोक्सान भएनछ । बरू उनीहरूले साटोपाटो गरेको कार्यबाट दुबैको सन्तुष्टिमा वृद्धि भयो । यस्तो कार्यमा कसले कसको रगत चुस्यो त ?कुनै पनि अर्थतन्त्रमा वृद्धि ल्याउनका लागि उद्यमी वा व्यवसायीहरूको निपूर्णतम उत्पादनको आवश्यकता पर्दछ । यहाँ उत्पादनका लागि जमिन, श्रम र पूँजीको आवश्यकता पर्दछ भन्ने कुरा उल्लेख गर्नुका कारण यिनै तीन कुराको उपयोग गरेर वस्तु वा सेवाको उत्पादन गर्ने उद्यमी वा व्यवसायीहरूलाई अपराधी समूह हुन् भन्ने आरोपलाई मिथ्या साबित गर्नका लागि हो । जमिन बापत भाडा, श्रम बापत ज्याला र पूँजीबापत ब्याज तिरेर कुनै एउटा उद्यमी वा व्यवसायीले आफ्नो वस्तु वा सेवा स्वतन्त्र बजारमा बिना त्रास बिक्री गर्दछ र खरिद गर्नेले पनि बिना त्रास खरिद गर्दछ भने त्यस्तो कार्य गर्नेहरू कसरी अपराधी ठहरिए ? हो अपराध त्यसबखत हुन्थ्यो जब सरकारले व्यक्ति–व्यक्तिको जग्गा खोसेर उद्योग खोल्ने नाममा, व्यवसाय र आर्थिक वृद्धि गर्ने नाममा आफ्ना मतियारहरूलाई सित्तैमा बाँड्दछ, श्रमिकलाई बन्दुक तेस्र्याएर आफ्नो कारखानामा काम गर्न लगाँउछ, बन्दुक नबोकेका सिपाहीमार्फत् ती वस्तु वा सेवा सर्वसाधारणलाई किन्न बाध्य बनाँउछ । तर अनौठो कुरा के भने जमिन, श्रम र पूँजी मिसाउँदैमा वस्तु वा सेवाको उत्पादन पनि हुँदैन । यी तीन वस्तुको उपयोग गरी वस्तु वा सेवाको उत्पादनका लागि उद्यमशील व्यक्तिहरूको आवश्यकता पर्दछ । यिनले जग्गाको भाडा तिरेर, श्रमिकलाई ज्याला दिदैं, वित्तीय बजारबाट ऋण लिएको पूँजीमा ब्याज तिर्दै त्यस्तो वस्तु वा सेवाको उत्पादन गर्ने जोखिम उठाउनुपर्दछ । बजारमा त्यो वस्तु वा सेवा उपभोक्ताहरूले किनिदिएनन् भने ऊ टाट पल्टिन्छ । स्वतन्त्र बजारमा ऊ एउटा मात्र उत्पादक हुँदैन । उसले उत्पादन गरेको वस्तु वा सेवाको प्रकृतिका अन्य सेवा वा वस्तुहरू उसलाई प्रतिस्थापन गर्न सक्ने गरी बजारमा लाखौंका सङ्ख्यामा उपलब्ध हुन्छन् । बजारमा व्यक्तिहरूले कसरी निर्णय गर्दछन्, के–कस्ता वस्तुहरू रूचाँउदछन् भन्ने वास्तविक सूचनाका अभावमा उत्पादन गरिएका वस्तु वा प्रवाह गरिएका सेवाहरू बजारसम्म पुग्दा निकम्मा भइसकेका उदाहरणहरू संसारमा कैयौं छन् । जुनजुन उद्यमीले बजारमा व्यक्तिहरूले गर्ने निर्णय प्रक्रियाको ज्ञान राखेर वस्तु वा सेवा उत्पादन गरेका छन्, ती उद्यमीहरू बजारको प्रतिस्पर्धामा बाँच्न सफल भएका छन् भने अन्य हराएर पनि गएका छन् । अन्य देशका उद्यमी–व्यवसायीले सस्तो र उपभोक्ताले रूचाउने स्वरूपमा उत्पादनको वृद्धि गर्दै जाँदा संयुक्त अधिराज्य बेलायतमा एकताका सफल रहेको र देशको अर्थतन्त्रको खम्बा ठानिएको जहाज बनाउने उद्योग अहिले मरिसकेको अवस्थामा पुगेको छ । संयुक्त राज्य अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको मोटर उद्योगलाई पहिला जापानले र अहिले दक्षिण कोरियाले क्रमशः विस्थापित गर्दै छन् । यस्ताखाले उदाहरणहरू कैयौं पाइन्छन् । यस्ता उदाहरणबाट आफ्नो उत्पादन वा सेवा निजी क्षेत्रले किनिदिने सम्भावना स्पष्ट नभएका बेला त्यसमा संलग्न हुने उद्यमी–व्यवसायीले कति ठूलो जोखिम उठाउनु पर्दोरहेछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । यद्यपि, आजसम्म पनि व्यक्तिको जोखिम उठाउन सक्ने क्षमताको उपयोग नगरिकन अर्थतन्त्र कहीँ पनि उँभो लागेको भेटिएको छैन ।

जुनजुन देशले जमिन, श्रम र पूँजीलाई मानवको सिर्जनशीलतासँग सामन्जस्य मिलाएर बजारमा बिक्न सक्ने वस्तु वा सेवाको उत्पादन गरे, ती ती देशका अर्थतन्त्र गतिशील रहे । दश पन्ध्र वर्षमा ती देशहरूले आफ्नो देशभित्रको गरिबी मात्र नहटाइ थप अर्को दश÷पन्ध्र वर्षमा विकसित देशहरूसँग प्रतिस्पर्धासमेत गर्न पुगे । अर्कोतर्फ गरिबी निवारण, गरिब र धनी बीचको खाडल पुर्ने, सन्तुलित विकास गर्ने र सामाजिक न्याय प्रदान गर्ने नाममा जुन देशहरूले व्यक्तिको सिर्जनशीलतालाई मार्दै सरकारको भूमिका बढाउँदै लगे, ती देशहरू धनी त के झन्झन् गरिब हँ‘ुदै गइरहेका छन् । के यस सन्दर्भमा पनि जग्गाको भाडा बजारअनुरूप तिर्ने, श्रमको ज्याला बजारअनुरूप तिर्ने, पूँजीको ब्याज पनि बजारअनुरूप तिरेर स्वतन्त्र बजारमा स्वतन्त्र व्यक्तिले खरिद गर्ने वस्तु वा सेवाको उत्पादन गर्ने कार्य अपराध हो त ?

दुई दशकभन्दा बढी समय नेपालको निजामती सेवामा बिताउनुभएका डा. भोला चालिसे नेपालका प्रख्यात अर्थशास्त्री हुनुहुन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.