एउटा राजाले, छेउछाउका शत्रु राज्यको आक्रमणबाट बच्न निकै बलियो र सुरक्षित महल बनाउन लगाएका थिए l चारै तिरका दुस्मनबाट सुरक्षित रहन एउटा मात्र ढोका बनाइएको थियो l एक दिन भवनबाट बाहिर निस्कँदै गरेका राजालाई देखेर एक जना फकिर जोड-जोडले हास्द्छ l राजालाई नराम्रो लाग्छ, रिसाउँदै, तिमि किन हासेको भनेर राजाले सोध्छन्? “यो भवनमा एउटा कुराको कमी देखेर हासेको महाराज, यदि त्यो पुरा गर्न सकेको खण्डमा यो भवन अझै सुरक्षित हुन्छ” l “के कमजोरी?” राजाले सोध्छन्, l महाराज यो भवनमा जुन एउटा ढोका छ त्याबाट दुस्मन अझै छिर्न सक्छन्, यदि त्यसलाई बन्द गर्नु भएमा यो भवन पूर्ण रूपले सुरक्षित हुनसक्छ l राजा भन्छन्, “मूर्ख यदि मैले त्यसो गरे भने यो महल मुर्दा घर हुँदैन?” भिखारीले भन्छ, “त्यो त अहिले पनि छ महाराज, बस् त्यो एउटा ढोकाले मात्र मुर्दा घर हुनबाट रोकेको छ l
संरक्षणवाद अथवा आर्थिक आत्मनिर्भरताको सिद्धान्त यस्तो बिषय हो, जहाँ स्वदेशी उत्पादनलाई संरक्षण गर्ने नीति अवलम्बन गरि अन्य देशको उत्पादनलाई आफ्नो ढोका बन्द गर्ने प्रयास गरिन्छ l तर जति धेरै स्वदेशी व्यापार लाइ संरक्षण गर्ने नाममा बाहिरी व्यापार र प्रतिस्पर्धा लाइ छेकबार गरिन्छ, त्यस नीतिले साठगाठ गर्ने सिमित स्वार्थ समूहहरुलाइ एकाधिकार कायम गर्ने अवशर प्रदान गरि देश भित्रका नागरिकहरूलाइ बढी मूल्य तिर्न बाध्य बनाइ उनीहरुको बचत र छनौटको अवसर खोस्ने सम्भावना बढाउदछ l साथै प्रतिस्पर्धाको अभावमा सिर्जना र नविन सोचमा ह्रास आइ उपभोक्ताले गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने सम्भावना पनि कम हुन जान्छ l
आत्मनिर्भरताको विषय कर्णप्रिय छ l राष्ट्रवादको भावनासँग जोडिएको कारण सहजै यसले अरुलाई आकर्सित गर्दछ l यसको बिरोध वा बिपक्षमा बोल्न सहज छैन l तर उपभोक्ताहरुलाइ स्वदेशी उत्पादन होस् वा बिदेशी फरक पर्दैन, जसले सस्तो र गुणस्तरीय बस्तु तथा सेवा प्रदान गर्न सक्छन्, उनीहरु त्यतै तर्फ आकर्सित हुन्छन् l किनकी आफ्नो गोजीको पैसा खर्च हुने अवस्थामा मानिसहरु भावनामा नबगेर स्वबिबेकको प्रयोग गर्दछन् l
आत्मनिर्भरताको बहस नेपालमा मात्र नभएर संसारका प्राय सबै देशहरूमा लामो समय अघि देखि चल्दै आएको विषय हो l निसन्देह पनि आफ्नो बस्तु तथा सेवाको उत्पादनमा आत्म निर्भर हुने सोच राख्नु राम्रो कुरा हो l यसले स्वदेश मै उत्पादन र रोजगारीको अवसर सिर्जना गरि अरूमाथिको निर्भरतालाइ धेरै हदसम्म कम गर्न सहयोग पुर्याउछ l तर बाहिय प्रतिस्पर्धालाइ निरुत्साहित गरि आफ्नै देशका नागरिकहरुको बचत र छनौटको अवसर खोस्नु उचित छ वा छैन भन्ने प्रश्न यथावत रहन्छ l त्यसमा पनि अहिलेको विश्वव्यापीकरणको युगमा सबै कुरामा आत्म निर्भर हुन कति सम्भव छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ l
आज संसारका कुनै पनि देश पूर्ण रूपले आत्म निर्भर छैनन्, न त पूर्ण रूपले स्वतन्त्र व्यापार नीति नै अङ्गालेका छन् l कुनै देशले धेरै हद सम्म खुल्ला व्यापार नीतिलाई प्रोत्साहन गरेका छन् भने कुनै देशहरूले बाहिय देशबाट आयात हुने बस्तु तथा सेवाहरूमाथि अधिक कर लादेर संरक्षणको नीति अङ्गालेका छन् l तर तथ्यहरूलाई केलाएर हेर्ने हो भने आर्थिक रूपमा समृद्ध देशहरू तिनै छन्, जुन देशहरूले संरक्षणको नीति भन्दा पनि खुल्ला व्यापारको नीतिलाई अङ्गालेका छन् l
भारत र चिन लगायत धेरै देशहरूले कुनै बेला पूर्ण रूपले आत्म निर्भरताको नीति अङ्गाली विदेशी बस्तुहरूको आयातलाई निरुत्साहित गरेका थिए l तर जब यो नीतिले उनीहरूको आर्थिक प्रगतिको बाटोलाई असम्भव तुल्याई दियो र गरिबी बाहेक केही फलिफाप सिद्ध भएन, तब ती देशहरूले बाहिरी विश्वसँग आफ्नो व्यापारको ढोका नखोली धरै पाएनन् l जुन देशले आफ्नो व्यापारलाई खुल्ला गरे, उनीहरूले आर्थिक प्रगतिको बाटो पनि पहिल्याए, जसले गरेनन्, आज पनि ती देश र तिनका जनता आर्थिक गरिबीको चपेटमा बाच्न बाध्य छन् l
आजको दिनमा आत्म निर्भरता भन्दा पनि अन्तर निर्भरताको बहस गर्दा उपयुक्त हुने देखिन्छ, किनकि हामी आत्मनिर्भर भन्दा पनि एक अर्कासंग अन्तर निर्भर हुन्छौ l आफै सबै कुरा उत्पादन गर्न सकिँदैन र सम्भव पनि छैन l
जुन पाउरोटी बजारमा सहजै २५ रुपैयाँमा किनेर खान सकिन्छ, त्यो पाउरोटी बनाउन हामीले धेरै समय, ऊर्जा र स्रोत खर्च गरिरहन आवश्यक छैन भन्ने कुरा बुझ्न धेरै तीक्ष्ण बुद्धिको आवश्यकता पर्दैन l पाउरोटी सबैले आ-आफ्नो घरमै बनाउन नसकिने बस्तु होइन l तर त्यो पाउरोटी बनाउन लाग्ने समय, ऊर्जा र श्रोतलाई हामीले हाम्रो दक्षता भएको क्षेत्रमा लगानी गर्ने हो भने, अझ धेरै आय-आर्जन तथा उपयोगिता सिर्जना गरि आफूलाई चाहिएको बस्तु सहजै सस्तो दाममा अरूबाट खरिद गर्न र समय र पैसाको बचत गर्न सकिन्छ l
पाउरोटी बनाउने मानिसको लामो समय लगाएर आफ्नो काममा दक्षता हासिल गरेको हुन्छ l उसले थोरै समयमा धेरै मात्रामा गुणस्तरीय पाउरोटी बनाउन सक्दछ, जसले उसको लागत कम लागि पाउरोटीको दाम सस्तो पर्न जान्छ, फलस्वरूप उपभोक्तालाई फाइदा पुग्न जान्छ l तर त्यही पाउरोटी दक्षता नभएको मानिसले बनाउने हो भने समय र पैसाको लागत पनि बढी पर्न जान्छ, गुणस्तरीय बस्तु पनि उत्पादन हुँदैन, र व्यक्तिले आफ्नो दक्षताको क्षेत्रमा समय लगानी गर्न र उपयोगिता सिर्जना गर्न पनि भ्याउँदैन, जस कारण समाज त्यस व्यक्तिले दिने सेवाबाट पनि वञ्चित रहन जान्छ l मनोरञ्जन र आत्म सन्तुष्टिको लागि कहिले काहीँ घरमै पाउरोटी बनाउने कुरा उचित लागे पनि व्यावसायिक हिसाबले यो कुरा नोक्सानदायक साबित हुन्छ l
यही कुरा राज्यको सवालमा पनि लागु हुन्छ l सबै देशको सबै बस्तु तथा सेवा उत्पादन गर्ने कुरामा क्षमता र दक्षता हुँदैन l हरेक देशको आ-आफ्नै सबल र कमजोर पक्ष हुन्छ, जसको पहिचान हुन आवश्यक छ l आफ्नो सबल पक्षमा काम गरेको खण्डमा हामी धेरै भन्दा धेरै उत्पादनशील हुन सक्छौ, अन्यथा त्यसको प्रतिफल नकारात्मक हुन सक्छ भन्ने कुरा माथि नै आइसक्यो l यस कुरालाई मध्यनजर गरी कुन क्षेत्रमा समय र स्रोत लगानी गरी के उत्पादन गर्ने, कसरी अरूलाई धेरै भन्दा धेरै उपयोगिता सिर्जना गरी आफ्नो बस्तु तथा उत्पादनमा निर्भर बनाइ आय आर्जन गर्ने भन्ने तर्फ ध्यान पुर्याउन जरुरी छ l
जुन बस्तु तथा सेवा उत्पादन गर्न आफूलाई बढी लागत लाग्दछ, त्यो बस्तु तथा सेवा अरूबाट सस्तोमा खरिद गरी आर्थिक लाभ लिन सक्नुमा बुद्दिमानी र सबैको हित छ l स्व-निर्भरताको नारा जति नै राम्रो सुनिए पनि यदि अरू कसैले हाम्रो उत्पादन भन्दा सस्तोमा गुणस्तरीय उत्पादन दिन तयार छ भने स्वाभाविक रूपले हामी त्यसैतर्फ आकर्षित हुन्छौ, चाहे त्यो बस्तु स्वदेशी होस् वा विदेशी l
यदि नेपालको सबल पक्ष जलविद्युत, पर्यटन (प्राकृतिक, धार्मिक, सांस्कृतिक), कृषि, जडीबुटी, युवा जनशक्ति आदि हो भने, हामीले यस अनुरूप आफ्नो श्रोत साधन लगानी गरी अरूलाई आफ्नो बस्तु तथा सेवा प्रति आकर्षित र निर्भर बनाउन सक्छौ l यसबाट धेरै भन्दा धेरै आय आर्जन गरी प्राप्त आयलाई आफूलाई आवश्यकता पर्ने बस्तु तथा सेवा अन्य देशका सेवा प्रदायक हरूबाट सस्तोमा खरिद गर्न सक्छौ, जुन बस्तु तथा सेवाको उत्पादन र खरिद-बिक्री स्वदेशमा महँगो पर्न जान्छ l
तर आज नेपालमा सियो देखि जहाजसम्म सबै देश भित्रै उत्पादन गरी बाहिरी आयातलाई बन्द गर्नु पर्दछ भन्ने जस्ता राष्ट्रवादका नाराहरू प्रशस्त सुन्नमा पाइन्छ l आयात खराब हो र निर्यात राम्रो हो भन्ने कुरा हामीलाई बुझाइएको छ l तर यदि हामी अरू देशका बस्तुको आयातलाई रोक्दछौ भने हाम्रो देशको उत्पादनको निर्यातलाई पनि अरू देशले स्थान देलान् त ? पक्कै पनि उनीहरूले हाम्रो बस्तु तथा सेवालाई पनि रोक्ने छन्, जसले अन्ततः दुवै देशका नागरिकहरूलाई छनौटको अवसर बाट वञ्चित गर्नेछ, बढी मूल्य तिर्न बाध्य बनाउने छ र आम मानिसहरुको बचत खोस्ने छ l राम्रो र सजिलो जति आफूलाई, वाकी कुरा अरूलाई भन्ने कुरालाई कसैले स्वीकार गर्दैन l
राष्ट्रवादको लहर नेपालमा मात्र नभएर संसारभर चलेको बहस हो l नेपालको परिपेक्षमा हाम्रो आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको प्रतिवाद स्वरूप वैदेशिक बस्तुको खपतलाइ निरुत्साहित गर्ने र आत्मनिर्भरताको नीतिलाई अङ्गाल्ने विषयले प्रधानता पाएको अवस्था छ l
नेपालको सबैभन्दा ठुलो समस्या आर्थिक गरिबी हो, जहिलेसम्म हाम्रो व्यवस्थाले हामीलाई गरिब बनाइ रहन्छ तबसम्म हामीले हाम्रा ठुला र बलिया छिमेकी मुलुकहरूबाट यस किसिमको हस्तक्षेप र हेपाइ सधैँ खेपिरहनु पर्ने अवस्था हुन सक्छ l
सिंगापुर, कोरिया र स्विजरल्याण्ड हामी भन्दा धेरै सानो देश हुन्, उनीहरू शक्तिशाली छिमेकी मुलुक का बिचमा अवस्थित भए पनि कसैले उनीहरूलाई हेप्न सक्दैन, किनकि उनीहरूले आफूलाई समृद्ध बनाइ परस्पर निर्भरताको अवस्था सिर्जना गरेका छन् l
यता हाम्रो नेतृत्व र व्यवस्थाले सधैँ आत्मनिर्भरताको भाषण दिएर गरिबी सिर्जना गर्ने नीति अपनाई सधैँ अरूमाथि आश्रित हुने अवस्था निम्त्याई रहे l हामीले उपयोगिता सिर्जना गरेर अरूलाई पनि हामीमा निर्भर बनाउन सक्थ्यौ, तर गरेनौ l अरूसँग नै नुन, चामल, पोलियो र मलेरियाको दबाई मागेर खान व्यस्त र अनुगृहीत भइरह्यौ l
यदि हामी समृद्ध भई अरू देशहरूलाई पनि केही कुराको लागि हामी प्रति निर्भर बनाउन सक्ने हो भने सधैँ यो राष्ट्रवाद र आत्मनिर्भरताको रोदन रोइरहनु पर्ने अवस्था आउने थिएन l अन्ततः गरिबलाई जसले पनि हेप्छ, चाहे त्यो मानिस होस् वा देश l
व्यापारले शान्तिलाई बढावा दिन्छ भन्ने कुराको प्रमाण हाम्रो अगाडी प्रशस्त छन् l आत्म निर्भरताको नीति अङ्गालेर यदि हामीले अरू देशको बस्तु तथा सेवालाई हाम्रो बजार प्रवेशमा रोक लगाउने र अरूले हाम्रो उत्पादनलाई उनीहरूको बजारमा प्रवेश नदिने हो भने यसले दुई देश बिचको सम्बन्धलाई द्वन्द्वमा परिणत गर्न सक्छ l फ्रेन्च अर्थशास्त्री फेडरिक बास्टियाट भन्छन् “जब बस्तु, सेवा तथा उत्पादनहरूले दुई देशको सीमा पार गर्दैनन्, तब सेनाले सीमा पार गर्ने छन्” l
भारत र पाकिस्तान, वा उत्तर र दक्षिण कोरिया जहिले पनि एक अर्का बिच लडाई कै तयारीमा हुन्छन्, किनकि उनीहरू एक-अर्कासँग व्यापार गर्दैनन् l जबकि पहिलो र दोस्रो युद्ध झेलेको युरोपले करोडौँको सङ्ख्यामा आफ्ना नागरिकहरू गुमायो, सयौँ वर्ष सम्म जमिनको टुक्रा र सीमाको आकार फराकिलो बनाउन लडाई मात्र गरी रहे पनि, आज उनीहरू एक अर्कासँग लडाई गर्न आतुर छैनन् l किनकि युरोपले युद्धले निम्त्याउन सक्ने विध्वंस र व्यर्थता र ब्यापारले बढाउने शान्तिको महत्वलाइ बुझेर आज एक अर्कासँग व्यापार गर्छन् l
आज युरोपको एउटा देशको भिसा लिएको खण्डमा २० वटा भन्दा बढी देश घुम्न सकिन्छ l कुन देशको सीमा कहाँ बाट सुरु भयो र कहाँ सकियो थाहा पाउन मुस्किल छ l यहाँसम्म कि उनीहरूले पैसा समेत साझा चलाएका छन् l यदि मेरो व्यापार वा लगानी भारतको कुनै सहरमा छ भने म त्यहाँ पाकिस्तान वा चीनले बम गिराओस् भन्ने कल्पना कहिल्यै गर्दिन l किनकि परस्पर व्यापार र अन्तर सम्बन्धले शान्तिलाई बढावा दिन्छ, यो नै दीर्घकालीन शान्तिको उपाय हो l
त्यसैले हामीले काडेतार र दिवाल लगाएर बाहिरको आयात बन्द गरी आत्मनिर्भर बन्ने किसिमको बहस गर्ने भन्दा पनि व्यापार व्यवसायमा रहेका नीतिगत कठिनाइहरूलाई हटाइ स्वदेशमै सहज र स्वतन्त्र रूपले पेसा व्यवसाय तथा उद्यम गरी खाने व्यावसायिक वातावरण बनाउने तर्फ पहल गर्दा उचित हुने देखिन्छ l साथै आफ्नो देशको सबल क्षेत्रमा बस्तु तथा सेवाहरूको उत्पादन गरेर स्वदेश मै धेरै भन्दा धेरै रोजगारी र आय आर्जन गर्न सक्ने अवस्था सिर्जना गरी बाहिर विश्वलाई पनि हामी सित अन्तर निर्भर हुने स्थिति सिर्जना गर्न आवश्यक छ l