विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले लाल बहादुर विश्वकर्माको तत्काल पुनरावेदन गर्न माग गरेका छन् ।उनले आफ्नो फेसबुक स्ट्याटसमा धनिमानी र उच्च ओहोदाका मान्छेको पुनराबेदन तुरुन्त हुने तर गरिब लाई न्याय पाउन किन मुस्किल हुने ? भन्ने प्रश्न गर्दै आफ्नो मालिकले गरेको ठगी धन्दामा फसेका इटहरी १९ तरहराका लाल बहादुर विश्वकर्माको तत्काल पुनराबेदन गरियोस भनी माग गरेका हुन् ।
उनले लाल बहादुर उच्च अदालतको प्रक्रियामा अन्याय परेका पनि जनाएका छन् । सामाजिक संजालमा व्यापक रुपमा लाल बहादुर विस्वकर्माको न्यायको माग भइरहदा सांसद ज्ञानेन्द्र शाहीको यस स्ट्याटसमा सयौंले संसदमा पनि यो मुद्धाको उठान गर्न दवाब दिएका छन् । यो संगै लाल बहादुरको मुद्धाले सदनमा ठाउँ पाउने आँकलन गरिएको छ ।
शाहीले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ;
धनिमानी र उच्च ओहोदाका मान्छेको पुनराबेदन तुरुन्त तर गरिब लाई न्याय पाउन मुस्किल किन ? यस्तो अन्यायको अन्त गरि तत्काल पुनराबेदन गरियोस …
“उच्च अदालतको प्रक्रियामा अन्याय परेका ‘लालबहादुर’
२० साउन २०७९ मा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका लालबहादुरको अहिलेसम्म छपटक पेसी तोकियो । अर्थात् छपटक उनको मुद्दा इजलासमा पेस भयो । तर, पाँचपटकसम्म पनि उनको मुद्दा ‘हेर्न नमिल्ने’मा पर्यो । २६ पुस २०७९ मा पहिलोपटक सत्यमोहन जोशी र मुरारिबाबु श्रेष्ठको इजलासले प्रत्यर्थी झिकाउने अर्थात् मुद्दाको अर्को पक्षलाई झिकाउने आदेश दियो ।
त्यसपछि लालबहादुरको सोही मुद्दा ३ माघ २०७९ मा पेसीमा चढ्यो । राजनप्रसाद भट्टराई र मुरारिबाबु श्रेष्ठको इजलासमा सो मुद्दा पुगेको थियो । तर, प्रत्यर्थी झिकाउने आदेशमा रहेको भन्दै न्यायाधीश श्रेष्ठले उक्त मुद्दा आफूबाहेकको इजलासमा पेस गर्ने आदेश दिए । अर्थात्, ३ माघमा पेसी चढेको सो मुद्दा ‘हेर्न नमिल्ने’ मा पर्यो ।
माघपछि २४ माघमा लालबहादुरको मुद्दा पेसीमा चढ्यो । गोला प्रथाबाट मुद्दा भाग लगाउने विधिअनुसार सो मुद्दा सत्यमोहन जोशी थारू र रामबहादुर थापाको इजलासमा परेको थियो । तर, प्रत्यर्थी झिकाउने आदेशमा न्यायाधीश सत्यमोहन जोशी थारूकै इजलासमा परेको भन्दै फेरि सो मुद्दा हेर्न नमिल्नेमा पर्यो ।
झण्डै एक महिनापछि २६ फागुन २०७९ पुन: सो मुद्दाको पेसी चढ्यो । सधैँ ‘हेर्न नमिल्ने’ मा पर्ने सो मुद्दा २६ फागुनमा भने ‘हेर्न मिल्ने’ न्यायाधीशहरूकोमा परेको थियो । न्यायाधीशले हेर्न मिल्ने परेको बेला कानुन व्यवसायीले भने आफ्नो अधिकारको प्रयोग गरेर पेसी स्थगित गराए । रामबहादुर थापा र मिलनकुमार राईको इजलासमा परेको ‘केस’ लालबहादुर विश्वकर्माका साहु रहेका दीपक विश्वकर्माका वकिलले आफूले सो दिन मुद्दा लड्न नसक्ने भन्दै पेसी स्थगित गराएका थिए । लामो समयपछि हेर्न मिल्नेमा परेको मुद्दा वकिलको निवेदनका कारण स्थगित भयाे ।
त्यसयता दुईवटा पेसी लालबहादुरको पुनरावेदनको मुद्दाका लागि तोकियो । तर, पहिलेझैँ हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा परेपछि मुद्दा अड्केकाे अड्क्यै छ । २६ फागुनपछि २८ चैत २०७९ मा सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको इजलासमा पेसी तोकियो । तर, थारूको इजलासले सुरुमा आदेश गरेको भन्दै मुद्दा हेर्न नमिल्नेमा पर्यो
पछिल्लोपटक १९ वैशाख २०८० को पेसीमा समेत हेर्न नमिल्नेमै मुद्दा बस्यो । दिनेशप्रसाद यादव र मुरारिबाबु श्रेष्ठको इजलासमा परेपछि फेरि पनि सो मुद्दा हेर्न नमिल्नेमा पुगेको हो । “
लाल बहादुर विश्वकर्मा घटनाबारे थप बुझ्न : लालबहादुर विश्वकर्माको सातौँ पेसी पनि सर्यो ; परिवारको विचल्ली – Bikalpa Khabar