टलकजंग भर्सेस टुल्के, जात्रा, जात्रै-जात्रा, महापुरुष, डाकिनीको अपार सफलता पछि षट्कोण आर्ट्सले ‘ महाजात्रा ‘ को यात्रा तय गर्दैछ । चैत्र ९ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘ महाजात्रा ‘ को टिम चलचित्र प्रचार प्रसारका लागि देश दौडाहामा छ । पहिलो चरणको प्रमोशन टुर सकिएको यस दौडाहाको क्रममा महाजात्राको कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, सुमन कार्की लगायत अन्य टीम मेम्बर कमेडी क्लबको टिम सहित यति बेला पूर्व टुर गरिरहेका छन् ।
‘प्रमोसन टुर’ अन्तर्गत ‘महाजात्रा’ टिमको फागुन २२ गते पहिलो दिनको ‘महा कमेडी विथ महाजात्रा’ पोखराको सभागृहमा दर्शकको बाक्लो उपस्तिथिमा उल्लासमय तरिकाले सम्पन्न भएको थियो । कार्यक्रममा पोखराका मेयर , सुरक्षाकर्मी, संचारकर्मी लगायत अन्य दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। त्यसअघि सिनेमाको निर्माण टिमले पोखरामा पत्रकार सम्मेलनको समेत आयोजना गरेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, निर्देशक प्रदीप भट्टराई निर्माता रविन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत उपस्थित थिए ।
पोखरा स्थित ‘इन्फर्मेटिक कलेज’का विद्यार्थीहरुसँग भेट्ने मौका ‘महाजात्रा’ टिमले सो दिन पाएको थियो । कलेजका प्रशिक्षक लगायत विद्यार्थीहरुसँगै बसेर महाजात्र टिमले सो दिन ट्रेलर पनि हेरेको थियो । सोहि दिन महाजत्रा टिमले पोखराको प्रतिभा सेकेन्डरी स्कुलका विद्यार्थी तथा शिक्षकहरुसँग साक्षात्कार गरेको थियो ।
दोस्रो दिन फागुन २३ मा महाजात्र टीमले बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थीहरुसँग भेटघाट गरेको थियो । कमेडी च्याम्पियनको टिम र महाजात्रा टिमले केही बेर कलेजका विद्यार्थीहरुसँग साक्षात्कार पनि गरेको थियो जहाँ चलचित्रप्रति विद्यार्थीको उत्साह निकै पाइएको थियो । बुटवलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया पनि टिमले गरेको थियो। बुटवलमा ‘महा कमेडी विथ महाजात्रा’ भव्य रुपमा सम्पन्न भएको थियो गुणस्तरीय हल अनि दर्शकहरुको उल्लासमय सहभागीताले कार्यक्रमको रौनक बेग्लै थियो।
त्यस्तै महाजात्राको दोस्रो चरणको प्रमोसन टुर गर्ने क्रममा फागुन २९ गते महाजात्रा टिम विराटनगर पुगेको थियो। विराटनगरमा टिमले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो। सोहि दिन महाजात्रासँग धरानमा ‘ सिनेमा संवाद : नेपाली चलचित्र र स्थानीय सरकार ‘ विषयक कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रमा प्रमुख अतिथिको रुपमा उपस्थित धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले नेपाली चलचित्रप्रति देखाएका चासोले ‘महाजात्रा’ टिमले खुशी व्यक्त गरेको थियो ।
मेयर साम्पाङ्गले आगामी दिनमा धरानमा छायांकन गर्न आउने सबै चलचित्रकर्मीलाई उल्लेख्य साथ दिने वाचा गरेका थिए । साथै नेपाली चलचित्र हलमै गएर हेर्नको लागि पनि उनले अनुरोध गरेका थिए । धरान गएको बेला ‘पानबारी महोत्सव’ मा पनि ‘महाजात्रा’ टिमलाई पुग्ने अवसर मिलेको थियो । चलचित्रको बारेमा हजारौं दर्शकमाझ जानकारी दिने अवसर पानबारी महोत्सवमा महाजात्रलाई मिलेको थियो।
‘महाजात्रा’ टिमको दोस्रो चरणको प्रमोसन टुर अन्तर्गत विर्तामोड आएको समयमा महाजात्र टीमले पत्रकारसँग भेटघाट एवम् साक्षात्कार गरेको थियो।
दोस्रो चरणको प्रमोसन टुरको समयमा इटहरी गएको बेला महाजात्र टिमलाई ‘बहुला काजीको सपना’ नाटक हेर्ने अवसर मिलेको थियो ।
टिमलाई भव्य स्वागत गर्दै ‘जनता क्याम्पस’का विद्यार्थीहरुले अब्बल अनि मौलिक अभिनयसहितको नाटक देखाएका थिए । विद्यार्थीसँग केहीबेर अन्तरक्रिया पनि महाजात्र टिमले गरेको थियो । इटहरीमा विहिबार ‘महा कमेडी विथ महाजात्रा’ कार्यक्रम पछि महाजात्र प्रमोसन टुरको लागि हेटौडा जानेछ ।