-रानु शाह ,
नेपाल भित्र हवाई यात्रा गर्ने विदेशीले आन्तरिक रुटको हवाई टिकटमा नेपालीले तिर्ने भन्दा दोब्बर बढी भाडा तिर्दै आएका छन् । एउटा नेपालीले ५ देखि ७ हजारमा पाउने विराटनगर देखि काठमाडौँको हवाई टिकटको दाम कुने विदेशीलाई झन्डै १३ हजार पर्दछ । आजको मितिमा एकजना विदेशीले काठमाडौँ विराटनगरको ओहोरदोहोरको टिकट खरिद गर्नु परेमा झन्डै २०४ अमेरिकी डलर अर्थात् झन्डै २७ हजार तिर्नुपर्ने हुन्छ । अझ काठमाडौंबाट सुर्खेत जानु पर्यो भने झन्डै ४३० डलर अर्थात् ५७ हजार नेपाली रुपैया भन्दा बढी पर्दछ जुन रकममा झन्डै काठमाडौंदेखि थाइल्याण्डको बैंकक आतेजाते टिकट पाइन्छ ।
किन यती धेरै रकमको फरक ? के विदेशीले एउटा सिटको ठाउँमा दुइटा सिट ओगट्ने हो र ? के उनीहरुलाई हामी धेरै रकम तिरे बापत विशेष सुविधा दिन्छौ? यदि होइन भने किन अन्तर्राष्ट्रिय यात्रुहरूलाई टाढा धकेल्ने र देशको पर्यटन उद्योगमा नकारात्मक असर पार्ने नीति-नियम हामी अवलम्बन गरि रहेका छौ ?
सोच्नुस् त हामी नेपालीहरु विदेश यात्रा गर्दा यसरी नै त्यहाँको नागरिक भन्दा दोबर मूल्य तिर्नु परेको भए कति गाह्रो हुने थियो l विदेशबाट नेपाल घुम्न आउने हरेक विदेशी धनी नै हुन्छन भन्ने हुदैन ।उनीहरु मध्ये अधिकांस मानिसहरु वर्षभरि पैसा जम्मा गरेर घुम्न निस्केका हुन्छन् । यदि हाम्रो नीति-नियमले उनीहरुलाई धेरै पैसा तिर्न बाध्य बनाएको खण्डमा उनीहरु नेपालको साटो अन्य देश घुम्न रुचाउनेछन् जहाँ उनीहरुलाई सस्तो पर्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष नोक्सान हामी नेपाली र हाम्रो अर्थतन्त्रलाई नै पर्न जान्छ ।
अहिले सम्मको यात्राको क्रममा संसारमा कही यस किसिमको अचम्म लाग्दो नीति नियम नभएको कुरा नेपाल आएका विदेशी पर्यटकहरु बताउँछन । यस किसिमको भेदभाव पूर्ण नीति-नियम लाद्ने कुरा गलत रहेको तथा विदेशी पर्यटकबाट बढी पैसा वसुल गरेर नेपाल र नेपाली धनी हुन नसक्ने उनीहरुको बुझाइ छ l सबै विदेशी पर्यटक धनी नै हुन्छन भन्ने मान्यता त्याग्नको साथै उनीहरुलाई पनि आन्तरिक हवाई भाडामा समान व्यवहार गरिनुपर्ने उनीहरुको सुझाव छ ।
पर्यटन व्यवसाय पर्यटनको सम्भावना बोकेका कुनै पनि देशको निम्ति राम्रो आयस्रोतको माध्यम बन्दै आएको छ । हामी संसारको सबै भन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येमा पर्छौ भन्ने कुरा विभिन्न तथ्यहरुले उजागर गर्दछ । तर यति धेरै पर्यटकीय सम्भावना हुदा हुदै पनि वार्षिक १० लाख पर्यटक भित्र्याउन नेपाललाई हम्मे हम्मे पर्दछ। जबकि नेपाल भन्दा झन्डै १३ गुणा सानो देश कतारको एउटा हमाद अन्तर्राष्ट्रिय एअरपोर्टले गत बर्ष (सन् २०२३) मात्र ४ करोड ५० लाख भन्दा बडी मानिसहरुलाई ट्रान्जिट गरायो । ति मानिसहरुले एक प्याकेट चकलेट, एक बोतल पानी, एक कप कफी र एक बोतल रक्सि मात्र खरिद गर्ने हो भने पनि धेरै ठुलो रकमको कारोबार हुने देखिन्छ ।
विश्वको नक्सामा मुस्किलले ठम्याउन सकिने मरुभूमिमा स्थित युएईको दुबई शहरले मात्र २०२२ मा १ करोड ४३ लाख ६० हजार पर्यटक भित्र्यायो । नेपाल भन्दा २०५ गुणा सानो सिंगापुरले सन् २०१९ मा १ करोड ९० लाख भन्दा बढी आगन्तुक भित्र्यायो l जबकि पर्यटकीय सम्भावनाले भरपुर नेपालले सन् २०२२ मा मात्र ६ लाख पर्यटक भित्राउन सफल भयो ।
हवाई भाडा जस्तै थुप्रै अव्यवहारिक नीति नियमका कारण हाम्रो पर्यटन व्यवसाय पछाडी परेको हो भनेर फरक नपर्ला। हवाई टिकट त एउटा सानो उदाहरण मात्र हो, अन्य धेरै यस्ता नीति तथा नियम छन् जसले हाम्रो पर्यटन व्यवसायको प्रवर्धनलाई नकारात्मक असर पुर्याइरहेको छ ।
यदि हामी धेरै भन्दा धेरै बिदेशी पर्यटकहरुलाई नेपालको भूमिमा आकर्षसित गरि आय आर्जन गर्न चाहन्छौ भने स्वदेशी तथा विदेशीहरु बीच हवाई टिकटमा भएको असमानतालाई हटाई पर्यटक मैत्री नीति अवलम्बन गर्न नितान्त आवस्यक छ ।