विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशको विकास , समृद्धि र रोजगार सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्। आज विराटनगरमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवादमा बोल्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्र विकासको महत्वपूर्ण साझेदार रहेकोले आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्।
कार्कीले कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको प्रदेश स्तरीय लगानी सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रको अपरिहार्य भूमिकालाई महसुस गर्दै निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारको रुपमा स्थान उपलब्ध गराएको समेत बताए। कार्कीले संघीय सरकारले उद्योगी तथा व्यवसायीको हित प्रवर्द्धनलाई ल्याएको अध्यादेशकै अर्को कडीको रुपमा प्रदेश समेत व्यावसायिक नीति स्पष्टताका लागि ७ वटा कानून संसोधन गर्ने तयारी गरेको जानकारी दिए।
कार्कीले पाथीभरा केबलकार निर्माणको प्रसङ्ग झिक्दै जातीय तथा पहिचानको बाजा बजाएर लगानीको बाटो बन्द गर्ने प्रयासलाई निरुत्साहित गरेर टेबलबाट विकासको निम्ति समाधान निकाल्नु पर्ने धारणा व्यक्त गरेका थिए। उनले ‘समृद्ध कोशी, सम्पन्न नेपाल’ को संकल्पसहित हुने कोशी लगानी सम्मेलनलाई सफल पार्न निजी क्षेत्रबाट पूर्ण सहयोगको समेत अपेक्षा गरेका थिए।
त्यस्तै , अन्तरसंवादमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले समेत प्रदेश स्तरीय लगानी सम्मेलन समृद्धि र विकासका लागि उपयुक्त मंच हुने भन्दै निजी क्षेत्रलाई साथमा लिएर हिड्नु पर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय सरकारले लगानी सम्मेलनको आयोजना गर्नु सकारात्मक पहल भएपनि लगानीकर्तालाई सहजीकरण र प्रोत्साहन गर्ने कुरा अधिक महत्वको रहेको बताए। ढकालले लगानीले ल्याउने फाइदाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने एवम् लगानीको माहोल निर्माण गर्न भूमिका खेल्ने भएकोले प्रोत्साहनको अभावमा गरिने लगानी क्षणिक हुने धारणा व्यक्त गरे।
ढकालले पाथीभरा केबलकार निर्माणको सबै पक्षको समझदारीमा स्थानीय भाषा, धर्म, रितिरिवाज, संस्कृति प्रवर्द्धन गर्ने गरि गरिने प्रष्ट परेका थिए।
कोशी प्रदेशका कृषि सहकारी तथा उद्योगमन्त्री खगेनसिंह हाङगामले प्रदेशको विकासका लागि जलविद्युत , जडीबुटी प्रशोधन लगायतको क्षेत्रमा अधिक लगानीको हुनुपर्नेमा जोड दिए। हाङगामले आफू ताप्लेजुङकै निर्वाचित प्रतिनिधि भएकोले विकाससँगै स्थानीय संस्कृति , परम्पराको समेत संरक्षण हुनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग–व्यवसायी हेमराज ढकाल, शैलेन्द्र गुरागाईं, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुलीलगायतले समेत आफ्नो धारणा राखेका थिए।