विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार विराटनगरमा अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा साधारणसभा वार्षिक कार्यक्रम र योजना पारित गर्दै सम्पन्न भएको हो।
साधारणसभामा सिएनआई कोशीका कोषाध्यक्ष साकेत राठीले प्रस्तुत गर्नु भएको आर्थिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो।
साधारणसभामा बोल्दै सिएनआईका केन्द्रीय गभर्निङ काउन्सिल मेम्बर बासुदेव गोल्यानले कोशी प्रदेश समितिले पूर्वक्षेत्रका उद्योगी व्यवसायीको हकहितका उदाहरणीय रुपमा काम गरिरहेको बताउनु भएको थियो।
त्यस्तै, सिएनआई कोशी अध्यक्ष सारडाले राज्यले र समाजका अराजक तत्वहरूले उद्योगी व्यवसायीलाई बिना कारण अनेक आक्षेप लगाउने गरेको गुनासो गर्नु भएको थियो । उहाँले राज्यले उद्योगी व्यवसायीको सुरक्षा गर्न नसकेको, तस्करी नियन्त्रण हुन नसकेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण समेत गराउनु भयो।
साधारणसभामा सिएनआई केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक (डिआईजी) विनोद घिमिरे सहित सिएनआई सुनसरीका अध्यक्ष अनिल अग्रवाल लगायत परिसंघ कोशीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा परिसंघ केन्द्रीय समितिले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटको लागि उद्योगी व्यवसायीहरूबाट सुझाव संकलन समेत सुरु गरिसकेको परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिनुभयो ।


