पाठकप्रतिको संवेदनशीलताले त्यस्ता तस्बिर पत्रपत्रिकामा छाप्ने अवस्था थिएन। तर, माओवादीको व्यक्ति हत्याको शृंखलालाई उजागर गर्ने तस्बिरको भने खाँचो थियो।
बि स २०५८ साल माघ ३ का दिन। दिउसो ०१:१० तिर मुक्तिनाथ सर ( मुक्तिनाथ अधिकारी ) लमजुङको दुराडाँडास्थित पाणिनि संस्कृत मावि मा कक्षा ९ मा विज्ञान पढाउँदै हुनुहुन्थ्यो । त्यहि समय ने क पा माओवादीका लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोली स्कुलामा आए । ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगेर गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको काञ्लामा उनीहरुले सरलाई लिएर गएका थिए । सो दिन साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको पाईएको थियो ।
माओवादीको ‘जनयुद्ध’ शिखरमा पुगेको यस् समयमा गाउँमा विद्रोहीको ज्यादती भयावह र चरम अवस्थामा थियो। गर्धन छिनालेको, यातना दिएको बीभत्स दृश्य त फोटोग्राफरहरूले खिचेका तस्बिरमा सर्वत्र उपलब्ध थिए, जस्तैः एमाले नेता यदु गौतमको। पाठकप्रतिको संवेदनशीलताले त्यस्ता तस्बिर पत्रपत्रिकामा छाप्ने अवस्था थिएन। तर, माओवादीको व्यक्ति हत्याको शृंखलालाई उजागर गर्ने तस्बिरको भने खाँचो थियो।
त्यतिबेला हिमाल खबरपत्रिकाका श्रीभक्त खनाल त्यतै खटाइए र मुक्तिनाथ सरको हत्यापश्चातको तस्बिर फेला पारी लिई आएका थिए । हिमाल खबरपत्रिकाका संस्थापक सम्पादक राजेन्द्र दाहाललाई लाग्यो : यो तस्बिर सार्वजनिक गर्न उपयुक्त छ र आँट गरीकन १६-३० माघ २०५८ को आवरणमा त्यो छापियो र पहिलो पटक सायद माओवादीको व्यक्ति हत्याको प्रमाण आम पाठक सामु प्रस्तुत हुन पुगेको थियो ।