विराटनगर | किरण केक पार्लरकी संचालीका किरण व्यासले युवाहरुबीच आफ्नो संघर्ष र सफलता बारेमा सुनाएकी छिन्। विकल्प एन अल्टरनेटिभले सहजसँगको सहकार्यमा आयोजना गरेको ” उद्यमीका कुरा” कार्यक्रममा व्यासले किरण केक पार्लरको सफलताको रहस्यबारे बताएकी थिइन् । व्यासले केहि न केहि गरौं भनेर प्रेरणा लिन चाहने १२० बढी सहभागि युवाबीच जीवन, संघर्ष र सफलता बारे प्रकाश पारीन्।
बुबा डा.रामजीप्रसाद व्यासले सञ्चालनमा ल्याएका बेकरीलाई २१ वर्षदेखि व्यासले सम्हाल्दै आएकी छिन् । हाल किरण केक पार्लरको आउटलेट विराटनगरमा ४ स्थान र इनरुवामा पनि सन्चालित छ।
बुबाले नया प्रविधिको पहुँचमा नरहे पनि आगोको भट्टीमा केक, विस्कुट उत्पादन गर्नुहुन्थ्यो। पछि त्यहि व्यवसायलाई नया प्रविधि र सोचका साथ छोरी किरण व्यासले निरन्तरता दिएकी हुन् ।
आफु विग्यान संकायमा अध्ययनरत रहेपनि बुबाको व्यवसायलाई झन् सुदृढीकरण गरेर उचाइमा पुर्याउने इच्छाशक्तिले उनलाई डाक्टर बनाउने परिवारको सपनालाई थाति राख्न बाध्य बनायो र अध्ययन छाडेर यहि व्यवसायमा लागिन्।
व्यवसायिक यात्रामा सफलता हासिल गर्न विभिन्न चुनौतीको सामना गर्नुपरे पनि श्रीमान तथा परिवारको साथ, हौसला र आफूसँगै काम गर्ने कर्मचारीहरुको साथले कहिल्यै हरेस नखाएको उनले सुनाएकी थिइन् । कुनै समय व्यवसाय नै छाड्नु पर्ने अवस्था आएपनि आफ्नो इच्छाशक्तिको कारण पछाडि फर्केर नहेर्न अग्रसर गराएको उनले बताइन् । संघर्षको यात्रालाई सहज सम्झिएर आत्मविश्वासका साथ अगाडी बढ्न सके र धैर्यतालाई कायम राख्न सके सफलता अवश्य प्राप्त हुने तर्क राखेकी थिइन्।
विकल्प एन अल्टरनेटिभले प्रत्येक अंग्रेजी महिनाको अन्तिम बिहिबार ” उद्यमीका कुरा ” कार्यक्रम संचालन गर्दै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीले व्यवसायीक यात्राको कथा सुनाउने गर्छन् ।