सप्तरी | विगत ६ दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ ।
अचानक बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको हो । गर्मीका कारण दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारिरहेको छ । सप्तरीसहित तराईका जिल्लाहरुमा बैशाख लागेसँगै एक्कासी मौसम बदली भई अत्यधिक गर्मी बढेको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखि नै चर्को घाम लागेपछि सामान किनमेल गर्न आउनेहरुको संख्या घट्दो छ । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ । गर्मीका कारण दैनिक कामकाज गर्न समेत कठिनाई भईरहेको स्थानीय बताउँछन् ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष वैशाखको शुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् ।
गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको दैनिक ज्यालामा काम गर्ने मजदुर बताउँछन् ।
त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह लगायतका अस्पतालहरुमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, झाडापखालाका बिरामीहरु भर्ना भइरहेका छन् । भर्ना भएका बिरामीहरुमध्ये बालबालिका, वृद्धवृद्धाहरु बढी प्रभावित भएको अस्पताल आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरुको भनाइ छ ।