मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन् । बिहीवार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताए । मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताएका छन् ।
सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्ने कामको बारेमा जानकारी दिन खोजेको उनले बताए । मंत्री कुशवाहाले मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताए । उनले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको पनि बताएका थिए ।
उनले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने पनि जनाए । आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेस प्रदेशमा १ लखा ५० हजार मेट्रिक टन रसायनिक मल पाउने कुशवाहको भनाइ थियो ।