विराटनगर। सफल व्यवसायी तथा रिजालकोका प्रबन्धक नविन रिजालले आफ्नो सफलताको कथा युवाहरुलाई सुनाएका छन् । विकल्प एन अल्टरनेटिभले हिमालय दर्सशनसंगको सहकार्यमा आयोजना गर्दै आएको ” उद्यमीका कुरा ” कार्यक्रममा लगभग १६० जना युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको माझ आफ्नो जीवनको भोगाइ , संघर्ष तथा व्यवसायीक जिवनका बारेमा आफ्नो अनुभव साझा गरेका थिए ।
रिजालले नेपालमा उद्यम तथा व्यवसायको अवस्था , चुनौती र अवसरका बारेमा प्रष्ट पारी सहभागीहरुको प्रश्नहरुलाई समेत उत्तर दिएका थिए । रिजालले आफ्नो बाल्यकाल तथा पारिवारिक अवस्थाको बारेमा बताउंदै व्यवसायीक जीवन सुरुवात गर्दा बेलाको तितोमिठो अनुभव, त्यस अवधिमा आएका बाधा अड्चन तथा असफलतामा पनि आफु दृढ विश्वासका साथ अगाडि बढेको कारण एकपछि अर्को गर्दै सफलता पाएका जस्ता प्रेरणादायी अनुभव युवाहरुमाझ साझा गरेका थिए । उनले रिजालको ट्याङ्क तथा आफ्नो अन्य ब्राण्डहरुलाई कसरी नेपालको प्रख्यात ब्राण्ड बनाउन सके , बजार प्रतिस्पर्धामा कसरी हजारौलाई उछिनेर आफु अगाडि आए , व्यवसाय तथा उद्यममा कस्ता किसिमका रणनीतिहरु निर्माण गर्ने र त्यसलाई समय सापेक्ष परिमार्जन गर्दै लाने विषयमा जानकारी पनि गराएका थिए ।
रिजालेले कार्यक्रमामा बोल्दै नेपालमा वर्तमान अवस्थामा उद्यम व्यवसाय गर्न अत्यन्तै चुनौतिको विषय रहेको र राज्यको व्यवसायमुखी नीति नभएको कारण युवाहरुमात्र नभएर व्यापारीहरु पनि पलायन हुने स्थिति भएको प्रकाश पारेका थिए । उद्यम तथा व्यवसाय नै देशको समृद्धिको आधार भएको कारण नव प्रवेशी उद्यमी तथा व्यवसायीहरुलाई प्रेरित गर्ने नीति राज्यले अवलम्बन गर्नु पर्ने विचार राख्दै उनले राज्यको झन्झटिलो व्यापारिक नीतिले गर्दा वर्तमान अवस्थामा युवाहरु निरुत्साहित भएको अवस्थामा नेपाली उद्योग तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरेका थिए । युवाहरुलाई केन्द्रित गर्दै सफल उद्यमी बन्न ईच्छाशक्ति मात्र भएर नहुने तर आफुले गर्ने व्यवसाय तथा उद्यम सम्बन्धि भरपुर जानकार र अनुभव भएको पनि हुनुपर्ने सुझाव रिजालले युवाहरुलाई दिएका थिए ।
व्यवसायिक यात्रामा सफलता हासिल गर्न विभिन्न चुनौतीको सामना गर्नुपरे पनि , कुनै समय व्यवसाय नै छाड्नु पर्ने अवस्था आएपनि आफ्नो संकल्पलाई धोका नदिन उनले आग्रह गरेका थिए । संघर्षको यात्रालाई सहज सम्झिएर आत्मविश्वासका साथ अगाडी बढ्न सके र धैर्यतालाई कायम राख्न सके सफलता अवश्य प्राप्त हुने तर्क रिजालले ‘ उद्यमीका कुरा ‘ कार्यक्रममा राखेका थिए ।
रिजाल नेपालकै प्रतिष्ठित उद्योगी व्यवसायीहरुको संस्था मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । संघमा कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्ष पदमा कार्यरत छन् । विराटगनर नाका हुँदै सुनसरी मोरङ औधोगिक करिडोर जोड्ने भारत बथनाहाको मिरगंज पुलको निर्माणदेखि विराटगनर भन्सार कार्यालयसम्म औधोगिक कच्चा पदार्थ ल्याउन रेलवे र रेल मार्ग पूर्वाधार निर्माणकालागि नेतृत्वदायी भूमिका निर्वाह गरेका क्षमतावान उद्योगी रिजाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को केन्द्रीय सदस्य पनि हुन् । रिजालले विराटगनर नाका हुँदै सुनसरी मोरङ औधोगिक करिडोर जोड्ने भारत बथनाहाको मिरगंज पुलको निर्माणदेखि विराटगनर भन्सार कार्यालयसम्म औधोगिक कच्चा पदार्थ ल्याउन रेलवे र रेल मार्ग पूर्वाधार निर्माणकालागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । कोभिड–१९ महामारीपछि लथालिंग अवस्थामा पुगेको औधोगिक तथा व्यवसायीक क्षेत्र यूक्रेन र रुस बिच भएको युद्धको कारण आर्थिक चपेटामा पुगेको औधोगिक क्षेत्रलाई उकास्न महत्वपूर्ण योगदान दिएका उनी बैंक तथा वित्तिय संस्थाहरुले असुली गरिरहेको चर्को ब्याजदरका विरुद्ध पनि सडकमा उत्रिएका थिए । औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वय गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गर्ने, प्रदेश १ मा धार्मिक, मेडिकल, खेलकुद, पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने, विराटनगरको शान्ति सुरक्षाका लागि सिसिटिभीको व्यवस्थापन गर्ने र शहरको सौन्दर्यीकरण गर्ने रिजालको योजान छ। यस्तै स्थानिय बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, स्टार्टअपको प्रवर्द्धनका लागि कार्यहरू अघि बढाउने, सीमा क्षेत्रसहित अन्तर्राष्ट्रिय उद्योग बाणिज्य संघहरूसँग समन्वय गर्दै उनी अगाडि बढी रहेका छन् ।
कार्यक्रम हिमालय दर्शन कलेज बिराटनगरको सभाहलमा आयोजना भएको थियो भने विकल्पका कार्यकारी निर्देशक बसन्त अधिकारीले कार्यक्रमलाइ सहजीकरण गरेका थिए । कार्यक्रममा हिमालय दर्शन कलेजका म्यानेजमेन्ट संकायको हेड अफ डिपार्टमेन्ट भुपाल मिश्रले शुभकामना मन्तब्य व्यक्त गरेका गर्नुका साथै हिमालय दर्शनका आइटी संकायका हेड अफ डिपार्टमेन्ट सुमित शाहले कार्यक्रमका अथिति वक्ता नविन रिजाललाइ मायाको चिनो प्रदान हस्थितान्तरण गरेका थिए ।
विकल्प एन अल्टरनेटिभले विराटनगरमा प्रत्येक महिना जसो ” उद्यमीका कुरा ” कार्यक्रम संचालन गर्दै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीले व्यवसायीक यात्राको कथा सुनाउने गर्छन् ।