अमेरिकाको कडा हुँदै गएको तेल नाकाबन्दी र ६७ वर्ष लामो घुटनपूर्ण राज्य नियन्त्रणका परिणामहरूको सामना गर्दै क्युबाको अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको छ। यो टापु राष्ट्रले इन्धनमा राशन प्रणाली लागू गरेको छ, चार दिने कार्य सप्ताह अपनाएको छ, विद्युत् कटौती गरिरहेको छ, र अन्तर्राष्ट्रिय विमानहरूको इन्धन भर्ने सेवा बन्द गरेको छ।
“यो संकट अवसर र चुनौती दुवै हो, हामी यसलाई पार गर्छौं। हामी ढल्ने छैनौं।” भनेर क्युबाका उपप्रधानमन्त्री ओस्कार पेरेज-ओलिभा फ्रागा भन्छन्, उनि फिडेल र राउल क्यास्ट्रोका नातेदार पनि हुन्। तर विडम्बनाको कुरा यो छ कि, फ्रागाका सहकर्मी नवीकरणीय ऊर्जामा समक्रमणलाई अझ तीव्र बनाउने कुरा गरिरहेका छन्।
क्युबाका वृद्ध नेताहरू (९४ वर्षका राउलले अझै पनि नीतिमा भिटो शक्ति प्रयोग गर्छन्) असफल भइसकेको समाजवादी क्रान्तिकारी मोडेल परिवर्तन गर्न अस्वीकार गरेको देख्दा दुक्ख लाग्छ। यो त्यस्तै हो, जस्तो कसैले Grey’s Anatomy हेरेको आधारमा आफू बिरामीको शल्यक्रिया गर्न जान्दछु भन्ने दाबी गर्नु।
मियामी विश्वविद्यालयको क्युबा तथा क्यूबा-अमेरिकी अध्ययन विभागका अध्यक्ष माइकल बुस्टामान्ते भन्छन्, हवाना सरकारले अर्थतन्त्र सुधार गर्ने र १ करोड जनताको पीडा कम गर्ने “हरेक अवसर गुमाएको छ।” सार्वजनिक व्यवस्था भत्किँदै गएको छ।
हवाना बस्ने क्यूबाली उपन्यासकार रुआरिध निकोलले गत साता बेलायतको Guardian पत्रिकामा लेखे: “पहिले विद्यालयको समयमा सडकमा देख्दा प्रहरीले सोधपुछ गर्ने बालबालिकाहरू अहिले त्यही समयमा भिख मागिरहेका छन्।”
यो अवस्था यस्तै हुनुपर्ने थिएन।
समाजवादबाट बजार अर्थतन्त्रमा उन्मुख भएका दुई सफल उदाहरण छन्। पहिलो मोडेल पोल्याण्डको हो, जहाँ १९८९ र १९९० मा समाजवादी राजनीतिक र आर्थिक प्रणाली ढल्यो र त्यसलाई बजारमा आधारित लोकतान्त्रिक समाजले प्रतिस्थापन गर्यो। त्यसपछि पोल्याण्ड युरोपको सबैभन्दा तीव्र आर्थिक वृद्धि गर्ने देश बनेको छ, जसले जर्मनी, फ्रान्स र बेलायतलाई समेत उछिनेको छ।
यो मोडेल क्युबाका तानाशाहहरूका लागि अहिले अकल्पनीय छ। तर अर्को बढी यथार्थपरक मोडेल पनि छ। १० करोड जनसंख्या भएको भियतनामले १९८० को दशकको अन्त्यतिर, युरोपमा साम्यवाद ढल्दै गर्दा, बजार मुखी सुधार सुरु गर्यो। तर एकदलीय राजनीतिक व्यवस्था भने यथावत् रह्यो।
जब भियतनामले आफ्नो “डोई मोई” (“नवीकरण”) नीति अपनायो, त्यसबेला विश्वकै सबैभन्दा गरीब देश थियो, जहाँ प्रति व्यक्ति जीडीपी केवल ९८ डलर थियो, जुन सोमालियाको भन्दा पनि कम थियो। आजको क्युबा जस्तै, भियतनामको अर्थतन्त्र शून्य अवस्थामा थियो।
१९७५ मा समाप्त भएको भियतनाम युद्धको क्रममा, त्यहाँ १ करोड ५० लाख टनसम्म बम खसालिएको थियो — जुन दोस्रो विश्वयुद्धमा जर्मनीमाथि खसालिएको भन्दा १० गुणा बढी थियो — र त्यहाँ लाखौं टुहुरा र युद्ध पीडितहरूको पालनपोषण गर्नुपर्ने अवस्था थियो।
१९९३ सम्म पनि ८० प्रतिशत भियतनामी गरिवीमा बस्थे। २००६ सम्म यो दर ५१ प्रतिशतमा झर्यो। आज यो केवल ३ प्रतिशतमा सिमित भएको छ।
आज भियतनाम विश्वका सबैभन्दा गतिशील देशहरूमध्ये एक हो, जहाँ सशक्त अर्थतन्त्रले मेहनती मानिस र उद्यमीहरूका लागि ठूलो अवसर सिर्जना गरिरहेको छ। एक समय आफ्नै जनसंख्यालाई खुवाउन पर्याप्त चामल उत्पादन गर्न नसक्ने देश, आज विश्वका सबैभन्दा ठूला चामल निर्यात कर्तामध्ये एक बनेको छ, साथै चीनबाट पलायन भएका कम्पनीहरूलाई आफ्नो देशमा आकर्षित गर्न सफल भएको कारण ठूलो इलेक्ट्रोनिक्स निर्यात कर्ता पनि बनेको छ।
हेरिटेज फाउन्डेसनको आर्थिक स्वतन्त्रता सूचकांक अनुसार, समान आकारका अन्य देशहरूभन्दा भियतनामले सबैभन्दा बढी अंक प्राप्त गरेको छ। १९९५ देखि २०२४ सम्म भियतनामले २४ अंकले सुधार गर्दा, अमेरिकाले सोही अवधिमा ६ अंक गुमायो।
भियतनामले आफूलाई आधिकारिक रूपमा समाजवादी भन्छ, तर यसको आर्थिक स्वतन्त्रताको स्कोर ६५ छ, जुन एशिया र विश्वको औसतभन्दा माथि छ।
कसैले पनि भियतनामलाई पूर्ण स्वतन्त्र देश भन्दैन। मिडिया राज्यको नियन्त्रणमा छ र निर्वाचन स्वतन्त्र छैन। सरकारी स्वामित्वका कम्पनीहरूले जीडीपीको २० प्रतिशत उत्पादन गर्छन्, जसले विशेष सुविधा प्राप्त गर्दछन।
तर भियतनाममा समाजवादी सोच जबर्जस्ती थोपर्ने प्रयास गरिदैन। सरकारी शिक्षाविदहरूले समेत असमानता अन्याय होइन भनेर तर्क गर्छन्। मानिसहरूले असमानतालाई स्वीकार गरेका छन्, किनभने उनीहरूले सबैले समान भनिएको समाजमा बस्दा नकारात्मक अनुभव गरेका छन्।
भियतनामी जनतामा गरिएको सर्वेक्षणले पनि यही देखाउँछ। २०२१ देखि २०२३ सम्म Ipsos MORI ले ३५ देशमा सर्वेक्षण गर्यो। अधिकांश देशमा पूँजीवादप्रति नकारात्मक धारणा थियो। तर भियतनाममा मानिसहरूले पूँजीवादलाई “प्रगति” (८१%), “नवप्रवर्तन” (८०%), “विविध वस्तु” (७७%), “समृद्धि” (७४%), र “स्वतन्त्रता” (७१%) जस्ता सकारात्मक पक्षसँग जोडेर हेरे।
भियतनामको आर्थिक सफलताको बावजुद, क्युबाका वृद्ध नेताहरूलाई एकदलीय समाजवादी राज्य कायम राख्दै त्यस्तो सफलता दोहोर्याउन सकिने कुरामा शंका छ। उनीहरूमा आत्मविश्वास वा जोखिम लिन इच्छाशक्ति देखिँदैन।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भनाइ अनुसार, क्युबाले वाशिंगटन को दबाबबाट राहत पाउन आर्थिक र राजनीतिक स्वतन्त्रता बढाउनै पर्छ। गत हप्ता म्युनिख सुरक्षा फोरममा ब्लूमबर्ग न्युज उनले भने, क्युबाका नेताहरू “आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा शक्ति नछोडी आफ्ना जनताको दैनिक जीवन कसरी सुधार गर्ने भन्ने जान्दैनन्।
”उनले थपे कि सुधारका प्रयासहरू “कहिल्यै सफल हुँदैनन्,” किनकि “क्यूबाली शासनलाई व्यवसाय र उद्योग कसरी चल्छ भन्ने आधारभूत बुझाइ नै छैन, र त्यसको परिणामस्वरुप जनता पीडित छन्।”
अहिलेको अवस्थामा तनाव कम भएको छ। अमेरिका र उसका सहयोगीहरुले क्युबामा भोकमरी रोक्न पर्याप्त मानवीय सहायता पठाउनेछन्।
यसको जवाफमा, क्युबाका अधिकारीहरू भन्छन् कि उनीहरू सम्बन्ध सुधारका विषयमा संवाद गर्न खुला छन्, तर आफ्नो एकदलीय कम्युनिस्ट प्रणाली परिवर्तन गर्ने कुनै पनि छलफल स्वीकार्य छैन। तर सन् १९६२ मा राष्ट्रपति जोन एफ. केनेडीले लगाएको अमेरिकी नाकाबन्दीका बाबजुद पनि क्युबाको क्रान्ति कसरी टिकिरह्यो भनेर प्रशंसासहित लेख्ने उदारवादी विद्वानहरू समेत अहिलेको संकट फरक प्रकृतिको भएको विश्वास गर्छन।
सन् १९८९ मा, पूर्वी जर्मनीका नेता एरिख होनेकरले भ्रमणमा आएका सोभियत नेता मिखाइल गोर्भाचोभलाई आफ्नो शासनले सुधारको विरोध गर्ने बताएका थिए। पछि गोर्बाचेभले सम्झँदै भने: “म भयभीत भएको थिएँ। मैले उनीसँग तीन घण्टा कुरा गरें… र उनी लगातार [पूर्वी जर्मनी] का अद्भुत उपलब्धिहरूका बारेमा मलाई विश्वास दिलाउन खोजिरहेका थिए।”
त्यसपछि गोर्भाचोभले होनेकरको पोलिटब्युरोसँग कुरा गर्दै चेतावनी दिए: “यदि हामी पछाडि पर्यौं भने, जीवनले हामीलाई तुरुन्तै सजाय दिनेछ।”
त्यसको अर्को महिनामै बर्लिन पर्खाल ढल्यो।
यो लेख पहिलो पटक National Review मा प्रकाशित भएको थियो।

