काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज साँझ ७ बजे चीन जाने भएका छन् । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् । नेता पुनलाई वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी चीनको सेनजेन स्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । थर्ड पिपुल्स अस्पतालमा नेता पुन यसअघि पनि २०७८ मंसिरमा एक महिना उपचार गरी फर्किएका थिए । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।
गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।