तरहरा। अवैध बैंक तथा वित्तीय संस्था सञ्चालन कसुरमा जेल सजाय तोकिएका लालबहादुर विश्वकर्मासहितका प्रतिवादिको आज तोकिएको पेसि माघ २४ मा सरेपछि सो खबर सुन्नसाथ लाल बहादुर विश्वकर्माकी श्रीमति बेहोस भएकी छिन् ।
आज सुनुवाइ हुने आशामा बसेका परिवारलाई विकल्प खबर संवाददाताले फोन मार्फत पेसि माघ २४ को लागि सरेको भन्ने खबर सुनाउनसाथ उनी ढलेकी थिइन् । उनी नजिकै रहेका परिवार सदस्य र छिमेकीले उनको उद्दार गरेका थिए। संवाददाता उनको घर पुग्दा उनलाई छिमेकीले स्याहार गरिरहेको र सामान्य अवस्थामा रहेको पायौ। लाल बहादुरका बा आमा पनि शारिरिक र मानसिक रुपमा कमजोर भएको छरछिमेकले बताएका छन्।
पुष २६ मा भएको पुनरावेदनको सुनुवाइमा लाल बहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको थियो । उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको थियो ।
पुष २६ अगाडि पनि दुई पटक पेसि सरि सकेको थियो ।
निर्दोष छोरा दुइ महिनादेखि जेलमा हुदा छोराको पिरले आफुहरु बाच्न नसक्ने अवस्थामा पुगेको लाल बहादुरका बुबा हर्क बहादुर विश्वकर्माले बताएका छन्। पेसिको नाममा निर्दोष लालबहादुरलाई जेलमा मानसिक र शारिरिक हिसाबले कमजोर बनाउदै लगिएको छिमेकिहरुले लगाएका छन्।
सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको एकल इजलासले २०७८ पुस १९ मा अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको अभियोगमा सिंहदेवी ज्वेलर्सका संचालक दिपक गजमेर, उनका बुबा कृष्ण बहादुर विश्वकर्मा, उनका दिदि सीता गजमेर र उनका कामदार लालबहादुर विश्वकर्मालाई थुनामा राख्ने आदेश दिएको थियो । इटहरी–१९ तरहरा फूलबारी चोक निवासी गोपाल भनिने लालबहादुर विश्वकर्मा इटहरी–२० तरहरामा २०७२ देखि सञ्चालित सिंहदेवी ज्वेलर्सका ज्यालादारी कामदार थिए । तरहरा बजारका कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गरेको ज्वेलर्समा लालबहादुर शिक्रि बनाउने र सरसफाइ गर्ने काम गर्थे।उनी दैनिक ८ सय देखि १ हजार ज्याला पाउँथे । त्यही ज्यालाले उनले ६ जनाको परिवारको गुजारा चलाउँथे ।
लालबहादुरका मालिकहरु तथा प्रतिवादिहरुले लालबहादुरको कुनै संलग्न नरहेको कारण उनी निर्दोष रहेको भनेर बकपत्रमा दिँदादिँदै पनि सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली, जरिवाना र डेढ वर्ष कैद तोकेको थियो । उनी दुई महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।
मंसिर २० मा लालबहादुर विश्वकर्माले जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए ।