विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयमा सरुवा भएर आउनु भएका सचिव, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई स्वागत गरेको छ । सिएनआई कोशीले बिहीबार विराटनगरमा एक कार्यक्रम गर्दै सरकारी र सुरक्षा अधिकारीहरूलाई स्वागत गरेको हो।
स्वागत गर्दै सिएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले संविधान निर्माणताका देशको राजनीतिक निकास मात्रै नभएर आर्थिक विकासको मुद्दासमेत प्रमुखता साथ उठेको भएपनि पछिल्लो समयमा आर्थिक विकासको मुद्दा ओझेल परेको बताउनु भयो। उहाँले देशमा युवा पलायनको विषयलाई गम्भीरता साथ लिएर समाधान तर्फ नलागे उद्यमीहरू समेत पलायन हुने जोखिम बढेको धारणा व्यक्त गर्नु भएको थियो।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेलले अहिले संरचनाले प्रदेश र निजी क्षेत्रबिच प्रत्यक्ष सम्बन्ध नहुने व्यवस्था रहेपनि उत्पादन र लगानी प्रवर्द्धनमा भने सहकार्य रहँदै आएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकास गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन सकिने धारणा व्यक्त गर्नु भएको थियो।
परिसंघका केन्द्रीय उपाध्यक्ष भिम घिमिरेले चुनावमा जनताको सुरक्षासहित उद्योग व्यवसायको समेत सुरक्षाका लागि आग्रह गर्नु भयो । उहाँले राजश्व छल्ने र गैरकानुनी काम गर्नेहरुलाई परिसंघले संरक्षण नगर्ने दाबी समेत गर्नु भयो ।
मोरङका प्रजिअ युवराज कट्टेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्योग व्यवसायका साथै सेवा क्षेत्रमा समेत उधोगी व्यवसायीले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै प्रशंसा गर्नु भएको थियो । उहाँहरूले कर्मचारीहरुले पनि आफ्नो मर्यादा र जिम्मेवारीभित्र रहेर काम गर्नेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद रिसाल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लगायत प्रहरी प्रमुखहरुको उपस्थिति रहेको सिएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिनु भयो।


