एकाउंटेबिलिटी ल्याव नेपाल र विकल्प एन अल्टरनेटिभको सहकार्यमा मिति २०७६ माघ २४ गते होटेल नमस्कारको प्राङ्गणमा इन्टिग्रीटी समिट सम्पन्न भएको छ l उक्त कार्यक्रम जवाफदेहीता, पारदर्शिता, खुला सरकार र सुशासनलाई आत्मसात गरेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्तित्वहरूको समुदाय निर्माण गर्ने मञ्च रहेको कुरा कार्यक्रमका सहजकर्ता तथा विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी गराउनु भयो l यस कार्यक्रममा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आत्मसात गर्ने सदाचारीता र जवाफदेहीताको महत्त्वलाई उजागर गरी व्यक्तिबाट संस्थामा त्यसको महत्त्वलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयको उठान गर्दै कार्यक्रमको सुरुवात गर्नु भयो ।
उक्त कार्यक्रममा अतिथि वक्ताको रूपमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. भेष प्रसाद धमला, नर्थ साउथ कलेक्टिभ्सका संस्थापक तथा सल्लाहकार दिनेश श्रेष्ठ, सञ्चार कर्मी गणेश लम्साल तथा युवा उद्यमी अभिनायक मल्लको उपस्थिति रहेको थियो भने नेपाल ग्रामिण विकास समाज केन्द्रका सभापति श्री मणि अर्याल तथा एक्सन एडका पुर्वाञ्चल श्रोत केन्द्र संयोजक शिव नारायण चौधरीले पनि कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो l
Integrity हरेक क्षेत्रमा आवश्यक भएको र हिजो आज यो कुरा दुर्लभ सरह भएको विचार डा. भेष प्रसाद धमलाले राख्नु भयो l मनमा एउटा कुरा राखेर कर्मले अर्को कुरा गर्ने कुरा मानिस इमानदार हुन सक्दैन, मानिसमा इमानदारी र विश्वास भयो भने उसको व्यक्तित्वले धेरै ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने विचार उहाँले राख्नु भयो l
कार्यक्रमका अर्का वक्ता दिनेश श्रेष्ठको भनाइमा integrity भएको मानिस सत्यनिस्ठ, समग्र इमानदार र विश्वासयोग्य हुन्छ l तर अहिले हरेक क्षेत्रमा नैतिकता र विश्वासको अभाव खट्किएको अवस्थामा स्थिति यस्तोसम्म छ कि विगतका दिनमा दशकौ लामो सङ्घर्ष गरी सत्तामा पुगी नेतृत्व सम्हालेका मानिसहरू पनि आफ्नो जिम्मेवारी बिर्सिएर भ्रष्टाचारमा लिप्त भएको स्थिति देखिनु दुखलाग्दो रहेको कुरा व्यक्त गर्नु भयो l
सञ्चारकर्मी गणेश लम्सालको अनुसार राम्रो काम गर्न चाहने र परिवर्तनको निम्ति आवाज उठाउनेहरूको निम्ति असहज परिस्थिति सञ्चार क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा रहेको धारणा व्यक्त गर्नु भयो l आजको समयमा इमानदार मानिसहरूलाई जुनसुकै समाजमा कष्ट स्वाभाविक भएपनि आफ्नो इमान र उत्तरदायित्वबाट विमुख हुन नहुने धारणा व्यक्त गर्नु भयो l
आफ्नो विचार राख्ने क्रममा युवा उद्यमी अभिनायक मल्लले व्यापारमा इमानदारी र नैतिकता धेरै नै महत्त्व राख्ने धारणा राख्नु भयो l व्यापार भनेको लेनदेनको प्रक्रिया भएकोले त्यसमा सफल हुन आफूले जे दिन्छु भनेर वाचा गरेको छ त्यही नै वस्तु तथा सेवा प्रदान गर्नु नै व्यापारीको धर्म र इमानदारी हो भन्ने विचार प्रस्तुत गर्नुभयो l अझ व्यापारमा दीर्घकालीन सफलता हासिल गर्नु छ भने आफ्नो इमान र मूल्यमान्यता सँगालेर राख्न आवश्यक रहेको र त्यसो गर्न नसकेको खण्डमा ठुला-ठुला व्यापार व्यवसाय पनि धरासाय हुन समय नलाग्ने विचार वहाको थियो l
त्यसैगरी नेपाल ग्रामिण विकास समाज केन्द्रकमा आबद्धित श्री मणि अर्यालले आफ्नो विचार राख्ने क्रममा निष्ठा भन्ने कुरामा हामीले पाएको संस्कार, शिक्षा अनि हाम्रो परिवेशले पनि धेरै मुख्य भूमिका खेल्ने बताउनु भयो l एउटा मानिसमा घरपरिवार अनि शिक्षकबाट प्राप्त शिक्षा, प्रेरणा र दृष्टिकोणले उसमा नैतिक वा अनैतिकताको भिन्नता प्रस्ट्याउनु सहयोग गर्छ अनि त्यसका साथ साथै उसलाई आफ्नो कामप्रति जिम्मेवार र निष्ठावान तुल्याउछ l क्रमश : उहाले आफु जुन क्षेत्रमा भएपनि आफु लगनशील अनि प्रतिबद्ध हुन आवश्यक रहेको नत्र जीवनमा लामो दुरी तय गर्न ,भविष्यको लक्ष्य प्राप्त गर्न कठिन हुने विचार प्रस्तुत गर्नु भयो l
अन्ततः आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा एक्सन एड नेपालमा कार्यरत शिव नारायण चौधरीले निष्ठा भन्नाले आफुले जीवनमा गर्छु भनेको कुरालाई प्रतिबद्ध भएर आफ्नो कार्यशैली, अनुशासन, समयनिष्ठ र कार्य प्रदर्शनद्वारा गरिने प्रस्तुतीकरण हो भन्ने बताउनु भयो l हरेक संस्थाको आफ्नै नीतिनियम हुन्छ जसमा तपाईलाई तपाईको निष्ठाको आधार मुल्यांकन गरिन्छ तसर्थ: आफुले बेला बेलामा प्रश्न सोध्नु जरुरि रहेको र बाहिरी समाजमा भएको या देखिएको अनैतिकतालाई पनि प्रश्न गर्न जरुरि रहेको विचार पोख्नु भयो l
उक्त कार्यक्रममा इन्सेक नेपाल प्रदेश न. १ का प्रमुख श्री सोमराज थापा, नेपाल टाइम्सका सहंसाह सिद्दिकी, सूचनाको हक अभियन्ता राजु श्रेष्ठ, कोशी अनलाइनका सबिन घिमिरे, ओरेक नेपालको महिला अधिकारकर्मी श्री गोमा भण्डारी लगायत विभिन्न कलेज तथा संघ-सस्थाका युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो l सबिन घिमिरे, राजु श्रेष्ठ, शिव नारायण चौधरी तथा मणि अर्याल ज्युले अतिथि वक्ताहरुलाई मायाको चिनो हस्तान्तरण गरि चियापान पछि दिउसो २:३० मा सुरु भएर साझ ४:०० बजे कार्यक्रम समापन गरिएको थियो l