विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्कोको बैठकले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक रूपमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार सभागृह मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने गरी प्रयोग गरिनेछ।
विराटनगरमा रहेको कोशी प्रदेश सभाको भवन भदौ २४ गतेको जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएकोले वीरेन्द्र सभागृहबाट बैठक संचालन गर्न लागिएको हो। हाल प्रदेश सभाको दैनिक काम-कारबाही भने कटहरीस्थित कृषि प्रदर्शनी केन्द्रबाट संचालन भैरहेको छ।


