विराटनगर। जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘सुरक्षित चालक’ अभियान अन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त ई-रिक्सा (सिटी सफारी) सवारी चालकहरूलाई ‘सुरक्षित चालक’ पोशाक वितरण गरेको छ। सोमबार विराटनगरमा एक कार्यक्रम गर्दै कार्यालयले विराटनगर क्षेत्रका सफारी चालकहरूलाई लक्षित गर्दै पोशाक वितरण गरेको हो।
कार्यालयले विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ “सुरक्षित चालक” पोशाक वितरण गरेको हो ।
पोशाक वितरण कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् त्यसरीनै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको कारण दुर्घटनाको जोखिम हुने भएकाले चालकको पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने र सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र रहेको विराटनगरमा सिटी सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सुरक्षित चालक अभियान कार्यक्रम अन्तर्गत सिटी सफारीका चालकहरुलाई पोशाक वितरण गरिएको बताउनुभयो ।


