विराटनगर। जिल्ला ट्राफिक कार्यालय मोरङले ई-रिक्सा (सिटी सफारी) सवारी चालकलक्षित ‘सुरक्षित चालक’ अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आज विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय छेउको मैदानमा २०० बढी ई-रिक्सा सवारी चालकहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।
अभिमुखीकरण कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले विराटनगरमा सिटी सफारी सवारी चालक अनुमतिपत्र प्राप्त सवारी चालकहरूलाई मात्रै ‘सुरक्षित चालक’ अभियानमा जोड्ने बताउनु भयो। न्यौपानेले विराटनगरलगायतका सीमावर्ती सहरहरूमा भारतीय चालकहरू आएर सफारी चलाउने गरेको र सवारी अनुमति पत्र नहुँदा दुर्घटनाको जोखिम बढ्ने हुँदा त्यसलाई निरुत्साहित गर्न अभियान सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो।
उहाँले अभियानमा आवद्ध चालकहरूलाई सडक अनुशासन सम्बन्धी तालिम दिने र तालिम सम्पन्न भए पश्चात् ‘सुरक्षित चालक’ लेखिएको चालक कोव्यक्तिगत क्रमसंख्या अंकित ज्याकेट समेत उपलब्ध गराउने बताउनु भएको थियो।
न्यौपानेले सिटी सफारीको सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने कोशी प्रदेश सरकारले सहज बनाएको भन्दै अनुमतिपत्र नभएका सफारी चालकहरूलाई छिट्टो भन्दा छिट्टो अनुमति पत्र बनाउन अनुरोध समेत गर्नु भएको थियो।
कोशी प्रदेश सरकारले सिटी सफारीको अनुमतिपत्रको हकमा प्रदेश सवारी तथा यातायात व्यवस्थापन नियमावलीमा संशोधन गर्दै सिटी सफारी चालकहरूका लागि लिखित परीक्षाको प्रावधान हटाएको छ । प्राय: सिटी सफारी चालकहरूको शैक्षिक अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले लिखित परीक्षाको प्रावधानलाई प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा र सडक सुरक्षा सम्बन्धी ३० देखि ६० मिनेटको अनिवार्य तालिम लिनुपर्ने व्यवस्थाले प्रतिस्थापन गरेको छ।
k


