लगातार चार दिन घटेको सेयर बजार बुधबार भने बढेको छ। गत बिहीबारदेखि घट्ने क्रममा रहेको सेयर बजार चार कारोबार दिनपछि आज ५.१६ अंकले बढेको हो।
गत चार कारोबार दिनमा नेप्से परिसूचक ७८.३५ अंकले घटेको छ। बुधबार नेप्से ०.२७ प्रतिशतले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
गत कारोबार दिन १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँमा सीमित भएको छ।
यस दिन २८६ वटा धितोपत्रको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर आजदेखि कारोबारमा आएको हो। माण्डु हाइड्रोपावरको सेयर मूल्य ४१० रुपैयाँ ५० पैसा र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ३१३ रुपैयाँ ७० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४७८ रुपैयाँमा झरेको छ।
यस्तै, ग्रीन डेभलपमेन्टको सेयरमूल्य ३.४१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०६ रुपैयाँ २० पैसामा सीमित भएको छ।
बुधबार माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँ ५० पैसामा ४ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३५ रुपैयाँमा ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८० प्रतिशतले बढेको हो।