– राइनर जिटेलम्यान
मादुरोलाई पक्राउ गर्ने अमेरिकी कदम अन्तर्राष्ट्रिय कानुनअनुसार हो कि होइन भन्ने विषयमा युरोप र संयुक्त राज्य अमेरिकामा बहस भइरहेको छ र यसबारे बहस हुनु स्वाभाविक हो। मादुरो भेनेजुएलाको वैध राष्ट्रपति होइनन् भन्ने संयुक्त राज्य अमेरिकाको तर्क छ। मादुरोले जुलाई २०२४ को निर्वाचनमा व्यापक रूपमा धाँधली गरेर जितेको कुरा सत्य हो । उक्त निर्वाचन सम्पन्न भएको केही समयपछि मैले एड्रियाना फ्लोरेस मार्केसलाई भेटेको थिएँ। मार्केस भेनेजुएलाको प्रतिरोध आन्दोलनमा सक्रिय एक स्वतन्त्रतावादी (लिबर्टेरियन) कार्यकर्ता हुन् र सन् २०२५ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी मारिया कोरिना माचाडोसँग नजिकबाट काम गरेकी थिइन्। देश छोड्न बाध्य बनाइएकी मारियालाई मैले अर्जेन्टिनामा भेटेको थिएँ। उनले सो भेटमा भनिन्, ‘विपक्षी उम्मेदवारले (माचाडोलाई स्वयं उम्मेदवारी दिन अनुमति दिइएको थिएन) करिब ७० प्रतिशत मत प्राप्त गरेका थिए।’
संयुक्त राज्य अमेरिकाले मादुरो लागूऔषध तस्कर भएको दाबी गर्छ र त्यसै कारण उनलाई पक्राउ गरिएको बताउँछ। भेनेजुएलाका समाजवादीहरूले मुख्य रूपमा लागूऔषध तस्करीबाटै आम्दानी गर्छन्, किनकि विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देशमा अब अरू केही व्यवसाय चलेको छैन। यो वर्षौँदेखि थाहा हुँदै आएको कुरा हो।
आज भेनेजुएलाका धेरै मानिसकालागि तानाशाह अब देशमा छैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण भएको छ। आज बिहान ६:३० बजे (न्यूयोर्क समयअनुसार) मेरा एक मित्र ड्यानियल डी मार्टिनोले एक्स( पुरानो ट्वीटर)मा लेखे, “तपाईंले गरिदिनुभयो। डोनाल्ड ट्रम्प। धन्यवाद। धन्यवाद। धन्यवाद।” त्यसको केही समयपछि उनले फेरि लेखे, “भेनेजुएलामा ठूला परिवर्तनहरू भइरहेका छन्!”
कुनै समय भेनेजुएलाबाट भागेको ड्यानियल केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। अहिलेसम्म करिब ८० लाख मानिस भेनेजुएला छोडिसकेका छन् जुन जनसंख्याको तुलनामा प्रत्येक ३ जनामा १ जना हो । तुलना गर्दा, युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु भएदेखि करिब ६० लाख युक्रेनीहरू देश छोडेका छन्; जनसंख्याको अनुपातमा हेर्दा, यो भेनेजुएलाबाट भागेकाहरूको आधाभन्दा पनि कम हो। भेनेजुएलामा बाँकी रहेका मानिसहरूमध्ये ७० प्रतिशतभन्दा बढी गरिबीमा जीवन बिताइरहेका छन्।
यो अवस्था आउनुमा भेनेजुएलाको २५ वर्ष देखिको समाजवादले मुख्य भूमिका निर्वाह गरेको छ। सन् १९७० ताका भेनेजुएला ल्याटिन अमेरिकाको सबैभन्दा धनी देश थियो र विश्वका २० धनी देशमध्ये एक थियो। भेनेजुएलको प्रतिव्यक्ति जीडीपी स्पेन, ग्रीस वा इजरायलभन्दा पनि बढी र बेलायतभन्दा केवल १३ प्रतिशत कम थियो।
तर, यस दक्षिण अमेरिकी देशको पतन त्यही दशकमा सुरु भयो। पतनका कारणहरूमध्ये प्रमुख कारण तेलमा अत्यधिक निर्भरता थियो भने असाधारण रूपमा अति-नियन्त्रित श्रम बजार थियो जसलाई सन् १९७४ पछि झन् नयाँ-नयाँ नियममार्फत कडाइ गरिएको थियो। ल्याटिन अमेरिकामा मात्र होइन, विश्वमै पनि सायद कुनै देश छैन जहाँ श्रम बजार यति बाक्लो नियमहरूको जालोले ढाकिएको होस्।
भेनेजुएलाका धेरै मानिसहरू सन् १९९९ मा सत्तामा आएका चमत्कारिक समाजवादी नेता ह्युगो चाभेजले भ्रष्टाचार, गरिबी, आर्थिक पतन जस्ता समस्याहरू समाधान गर्ने आशा गरेका थिए । चाभेज भेनेजुएलाका गरिब जनताका लागि मात्र आशाको प्रतीक मात्रै नभएर “२१औँ शताब्दीको समाजवाद” भन्ने नारासहित युरोप र उत्तर अमेरिकाको वामपन्थीहरूमा ‘युटोपियन आकांक्षा’ जगाउने नायक थिए । आज जब भेनेजुएलाका मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन्, समाजवादीहरूले प्रत्येक असफल समाजवादी प्रयोगपछि प्रयोग हुने ‘भेनेजुएला कहिल्यै साँच्चिकै समाजवादी देश नै थिएन’ भन्ने वाक्य दोहोर्याई रहेका छन्।

सामान्यतया शरणार्थीप्रति अत्यन्तै प्रतिबद्ध देखिनेहरू हालका दशकहरूकै सबैभन्दा ठूलो पलायनमध्येको भेनेजुएली नागरिकको पलायनप्रति धेरै देशहरू उदासीन रहे। यदि मानिसहरू हाभियर मिलेको अर्जेन्टिनाबाट भागेका भए, सञ्चारमाध्यमहरूको प्रतिक्रिया कस्तो हुन्थ्यो? तर त्यहाँबाट कोही भागिरहेको छैन, किनकि भेनेजुएलाको विपरीत, अर्जेन्टिनामा गरिबी घटेको छ र पूर्ण नागरिक अधिकारहरू विद्यमान छन्। तर, त्यस्ता अधिकारहरूलाई भेनेजुएलामा भने समाजवादीहरूले समाप्त गरे ।
मलाई आशा छ कि ड्यानियल र अरूहरूको खुसी निराशामा परिणत नहोस् र भेनेजुएलाका जनताले नयाँ सुरुवातको अवसर पाउन सकून्। तर, यो कुनै पनि हिसाबले निश्चित छैन किनकि सत्तारूढ आपराधिक समाजवादी समूहका पुटिनजस्ता सधैं शक्तिशाली मित्रहरू छन्। तर, पुटिनजस्ता आक्रामक र युद्ध अपराधीले अहिले आएर संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्यो भनेर गुनासो गर्नु वास्तवमै अत्यन्त विचित्र छ।


