विराटनगर। विराट सडक महोत्सवको ५ औँ संस्करण माघे संक्रान्तिको अवसर पारेर सुरु भएको छ। मंजिना मुभिज क्रिएसनको आयोजना र विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धनमा ५ औँ संस्करणको सडक महोत्सव शनिबारबाट सुरु भएको हो।
कोशी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति, सम्पदा एवम् परिकारको प्रवर्द्धन गर्ने उद्देश्यसहित सडक महोत्सव आयोजना गरिएको मंजिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भयो। ताम्राकारले महोत्सवमा रहेको २५ वटा स्टल मध्ये अधिकांशमा विभिन्न जातजातिको परिकार र सो समुदायका व्यक्तिहरूले उत्पादन गर्नु भएको वस्तुहरू बिक्री- वितरण हुने बताउनु भयो।
ताम्राकारले असोजमा दशैँको छेको पारेर आयोजना गर्ने गरिएको सडक महोत्सव देशमा भएको जेन-जी आन्दोलन र विषम राजनीतिक परिस्थितिका कारणले स्थगन गरेकोले यस वर्षको महोत्सव माघे संक्रान्तिको अवसर पारेर सुरु गरिएको बताउनु भयो।
हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको संस्कृति कार्यक्रम समेत हुने महोत्सवको दोस्रो दिन आज वितृष्णा ब्याण्डको सांगीतिक प्रस्तुति हुने भएको छ।
माघ १ गतेबाट सुरु भएको महोत्सव माघ ५ गते सम्पन्न हुने छ।


