विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ । शुक्रबार विराटनगर स्थित जिल्ला समन्वय समिति मोरङको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत र मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको मोरङका प्रमुख निर्वाचन अधिकृत भिष्मराज प्रसाईले उद्घाटन गर्नु भएको थियो । यस्तै मोरङको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय उर्लावारीमा, क्षेत्रनम्बर २ को रतुवामाईमा, क्षेत्रनम्बर ३ को वेलवारीमा, क्षेत्रनम्बर ४ को विराटनगर–३ स्थित हृदयन्द बाल उद्यानमा र क्षेत्रनम्बर ५ को विराटनगर स्थित सुनसरी मोरङ सिंचाई आयोजनाको कार्यालयमा स्थापना भएको छ।
निर्वाचन आयोगले पुस २० गते मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृत नियुक्त गरेको थियो । यस्तै मोरङ क्षेत्र नं १ को निर्वाचन अधिकृतमा महान्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता प्रकाश घिमिरे, क्षेत्र नं २ मा सोलुखुम्बुका जिल्ला न्यायधिवक्ता रुद्रप्रसाद आचार्य, क्षेत्र नं ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्र नं ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नं ५ मा सर्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुलीलाई नियुक्त गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मोरङमा प्रतिनिधिसभा निर्वाचनका काम हरेक निर्वाचन क्षेत्र स्तरबाटै सुरु भएको छ ।


