विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौला प्रतिनिधि सभाको उम्मेदवार बन्नु भएको छ। सिटौला आज आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं ४ मा राप्रपाको तर्फबाट मनोनयन दर्ता गर्दै उम्मेदार बन्नु भएको हो।
प्रदेश सभामा पार्टीको संसदीय दलका नेता समेत रहनु भएका सिटौलाले माघ ४ गते प्रदेश सभाबाट राजीनामा दिँदै प्रतिनिधि सभामा उम्मेदवारी दिनु भएको हो।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नं ४ (ख) बाट निर्वाचित हुनुभएको सिटौला केही समय प्रदेशमा मन्त्री समेत हुनुभएको थियो।
सिटौलाले राजीनामा दिनु भएसँगै कोशी प्रदेश सभामा राप्रपाको सदस्य संख्या ५ मा झरेको छ। राप्रपाबाट निर्वाचित अम्बरबहादुर विष्ट हाल सभामुखको भूमिकामा रहनु भएकोले राप्रपाको संसदीय दल भने ४ सदस्सीय हुने भएको छ।


