विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान जारी छ। आज बिहान विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ९ बजेबाट सुरु भएको मतदान ३ बजे सम्म हुने भएको हो।
कोशीबाट ३ सदस्यको लागि हुने निर्वाचनमा अन्य तर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएपछि २ पदको लागि निर्वाचन जारी रहेको छ।
२ पदका लागि ४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् ।
गठबन्धनबाट महिला र दलित दुवै पदमा एमाले उम्मेदवार रहेका छन् । महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल रहेका छन् । नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिएका छन् ।
निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६ जसपा नेपाल र राप्रपाका ४-४ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् ।
स्थानीय तहका प्रमुख-उपप्रमुख ६ जना र प्रदेशका एक जना प्रतिनिधि सभामा उम्मेदवारी दिएकाले र झापा गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दाका निलम्बनमा परेकाले मतदानमा सहभागी हुने छैनन ।


