विराटनगर। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारमा कतै नभएको तीन-खम्बे अर्थनीतिले नेपालको अर्थतन्त्रलाई ध्वस्त पारेको बताउनु भयो । आज विराटनगरमा राष्ट्रिय व्यवसायिक पहल र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा सम्पन्न ‘निजी क्षेत्र: प्रश्न, पहिचान र प्रतिबद्धता’ अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले राज्यले सहकारी क्षेत्रलाई सरकारी र निजी क्षेत्रको समकक्षीको रूपमा प्रोत्साहन गर्दा सहकारी क्षेत्रमा देखिएको विचलनले समग्र नेपाली अर्थतन्त्रलाई नोक्सान गरेको धारणा व्यक्त गर्नु भयो।
निजी क्षेत्रले खुलेरै तीन-खम्बे अर्थनीतिको विरोध गर्दै सहकारी क्षेत्रको अलग अस्तित्वलाई अस्वीकार गर्नुपर्ने भन्दै पूर्वगभर्नर नेपालले निजी क्षेत्रले राज्यको आर्थिक नीतिमा स्थिरता खोज्न आवश्यक रहेको बताउनु भएको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले संविधान निर्माणताका दुई-खम्बे अर्थनीतिको वकालत गरेको स्मरण गर्दै राज्यले सहकारी क्षेत्रलाई प्रोत्साहन गर्दा समग्र अर्थतन्त्रलाई चुनौती थपिएको बताउनु भएको थियो। उहाँले राज्यले निजी क्षेत्रलाई आर्थिक समवृद्धि र विकासको साझेदारको रूपमा भूमिका स्वीकार गर्दै नीति निर्माण गर्नुपर्ने विचार राख्नु भएको थियो।
उद्योग संगठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाले राज्यले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु पर्ने भन्दै निजी क्षेत्रकै भित्रबाट हुने सिन्डिकेटलाई राज्यले कठोर ढंगले निरुत्साहित गर्नु पर्ने बताउनु भएको थियो।
अन्तरक्रियामा कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुबोध प्याकुरेलले नेपालमा कर्मचारीतन्त्रले निजी क्षेत्रलाई त्रस्त बनाएकोले राज्यले कर्मचारीतन्त्रलाई बलियो बनाएर निजी क्षेत्रलाई कमजोर बनाउने नीति त्याग्नु पर्ने धारणा राख्नु भएको थियो भने युवा उद्यमी सिद्धि अधिकारीले निजी क्षेत्र दयनीय अवस्थामा रहेको भन्दै राज्यले उपयुक्त नीति निर्माण गरेर व्यापार-व्यवसाय गर्न सहजीकरण गर्नु पर्ने बताउनु भएको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, केन्द्रीय संयोजक किशोर कुमार प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकुमार राठीलगायतले धारणा राख्नु भएको थियो।


