विराटनगर। आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन कोशी प्रदेशका ५ स्थानीय तहका प्रमुखहरूले राजीनामा दिएर उम्मेदवारी दर्ता गराउनु भएको छ। प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता गराउने अन्तिम दिन मंगलबार विभिन्न पार्टीका ५ पालिका प्रमुखले राजीनामा दिएर उम्मेदवारी दर्ता गराउनु भएको हो।
राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया अग्रवाल, सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई रहनु भएको छ।
धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले पदबाट राजीनामा दिँदै श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्नु भएको छ। साम्पाङ उक्त पार्टीको अध्यक्ष समेत हुनुहुन्छ।
मोरङको रंगेली नगरपालिकाका प्रमुख अग्रवालले भने नेकपा एमालेबाट मोरङ क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराउनु भएको छ। पहिलो कार्यकाल नेकपा माओवादीबाट निर्वाचित हुनुभएको अग्रवाल दोस्रो कार्यकाल एमालेबाट निर्वाचित हुनुभएको थियो। उहाँ हाल एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ।
इलामस्थित सुर्योदय नगरपालिका प्रमुख राईले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट इलाम क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनु भएको हो।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले पनि उदयपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीबाट टिकटको अपेक्षा गर्नु भएको राईले अन्तिममा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले भने सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गर्नु भएको हो।
नेपाली कांग्रेसले पनि दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारलाई सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने तयारी गरेको थियो तर अन्तिममा कांग्रेसका नेता विजयकुमार गच्छदारले उक्त क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो।
त्यस्तै, ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नु भएको छ भने धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष पदबाट राजीनामा दिँदै मनोज भट्टराई पनि सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नु भएको छ।


