विराटनगर। जिल्ला प्रशासन कार्यालय, मोरङले इजाजत प्राप्त हातहतियार खरखजानाहरू यथाशीघ्र नजिकै प्रहरी कार्यालयहरूमा बुझाउन सूचना जारी गरेको छ। कार्यालयले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन अवधिका लागि इजाजत प्राप्त हातहतियार खरखजानाहरू यथाशीघ्र नजिकै प्रहरी कार्यालयहरूमा बुझाउन पुन: सूचना जारी गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गर्नु भएको विज्ञप्तिमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र व्यक्तिगत रूपमा राखिएको इजाजत प्राप्त हातहतियार खरखजानाहरू यथाशीघ्र नजिकै प्रहरी कार्यालयहरूमा निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी बुझाउन सूचना जारी गरेको हो।

सूचनामा इजाजत प्राप्त हतियार र खरखजाना नबुझाए प्रचलित कानून अनुसार कारबाही गर्ने समेत उल्लेख गरिएको छ।
कार्यालयले पुस २५ गते पहिलो पटक सूचना जारी गर्दै माघ १० गते सम्म हतियार बुझाउन पहिलो पटक सूचना जारी गरेको थियो।


