विराटनगर। औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी व्यवसायिक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सम्पन्न भएको छ ।
माघ २ गते विराटनगरबाट सुरु भएको मिसन कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर सम्पन्न भएको हो।
संगठनको प्रतिनिधि मण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि र उदयपुरका व्यवसायीका साथ ‘बिटूबि’ बैठक गरी उदयपुरमा उत्पादन हुने वस्तुलाई प्रशोधन उद्योग मार्फत मूल्य अभिवृद्धि गरी किसान र उद्यमी दुवैलाई लाभ पुर्याउने विषयमा छलफल भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भयो । उहाँले उदयपुरमा उद्योग क्लस्टर विकास गर्नका साथै निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयुक्त रूपमा पहल गर्ने स्पष्ट पार्नु भयो ।
भ्रमणको दोस्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय व्यवसायीसंगको ‘बिटूबि’ बैठकमा खोटाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको दृष्टिले होटल, होमस्टे विकासमा सहकार्यको सम्भावनाका विषयमा छलफल भएको अध्यक्ष राठीले धारणा व्यक्त गर्नु भयो । उहाँले खोटाङका उत्पादन र वितरण प्रणालीलाई मजबुत बनाउनका साथै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिनु भयो।
त्यसैगरी भ्रमणको अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुका साथ आपसी व्यापारलाई सुदृढ बनाउने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, पहाड र तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमा छलफल भएको संगठनले जनाएको छ । कोशी कनेक्ट व्यावसायिक मिशनले अन्तर जिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवर्द्धनका सन्दर्भमा तीनै स्थानका उद्यमीहरुका साथ आपसी सहकार्यका विविध आयामहरूका बारेमा नया सम्भावना उजागर गरेको संगठनले जनाएको छ ।
व्यवसायीक अभियानका अवधिमा स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी प्लेटफर्ममार्फत व्यवसायिक सहकार्य, उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माणका विषयमा सहमति र समझदारी विकसित संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताउनु भयो ।
तीन दिन व्यवसायीक मिसन भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।


