उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा बिरोध गर्नेहरुले ढुंगामुढा गरेका बताए । उनले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए । उनले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराएका थिए । गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे ।
उनले भने – प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रुपमा प्रश्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुईजना प्रहरीहरु यस क्रममा घाइते भएका छन् । यस रुपमा पछाडी प्रहरीले आफ्नो भुमिका सकारात्मक रुपमा अगाडी बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ । सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ । यो संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रुपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ त्यसको सरकार सम्मान गर्दछ । तर कुनैपनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकहरुको शान्तिपूर्ण आवत–जावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन ।’