विराटनगर – मालिकले गरेको ठगी धन्दामा फसेका लाल बहादुरको न्यायको मागको गर्दै विराटनगरमा सोमबार शान्तिपूर्ण अभियान गरिएको छ । विराटनगरका न्यायप्रेमी सम्पूर्ण युवाहरुले आयोजना गरेको यस अभियानमा विराटनगरका सयौं युवा तथा अन्य नागरिक समाज सहभागी भएका थिए । अभियानमा एम आर आर , दारी ग्याङ्ग , विकल्प फेलोज , विआर आर लगायातका अन्य युवाहरूसमेत जोडिएका थिए। नागरिक समाझाको उपस्थिति पनि अभियानमा देखिएको थियो ।
सोमबार विराटनगरको ट्राफिक चोकमा गरिएको शान्तिपूर्ण अभियानमा युवाहरुले विना गल्ति जेल सजाय भोगीरहेका र ३ करोड १४ लाख भन्दा बढी बिगो सजाय सुनाइएका लाल बहादुर माथि अन्याय भएको भन्दै न्यायको माग गरेका थिए । उनीहरुले लाल बहादुरले गराएको पुनरावेदनको पेसी पटक पटक सरेको कारण मुद्धाको छिटोभन्दा छिटो फैसला गरी दोषीलाई कारवाही र निर्दोषीलाइ उन्मुक्त दिन अनुरोध गरेका थिए ।
लाल बहादुरका मालिक तथा ठगीमा परेका जाहेरवालाहरुले नै ” लाल बहादुर निर्दोष छन्” भनेर अदालतमा लिखित वकपत्र गरेपनि जिल्ला अदालत सुनसरीले कसैको कुरा नसुनी , नपढी लाल बहादुर विश्वकर्मालाई हचुवाको भरमा १८ महिना जेल र ३ करोड १४ लाख भन्दा बढी बिगो र ७० हजार जरिवाना सजाय सुनाउनु न्यायोचित नभएको तथा यसको विरुद्ध लाल बहादुर विकले दिएको पुनरावेदनको पेसी पनि पटक पटक सरेको कारण वहस नै हुन नसक्नु झनै न्यायोचित नभएको कारण आफुहरु सडकमा शान्तिपूर्ण तरिकाले आउनुपरेको युवाहरुले जनाएका छन् ।