विराटनगर – कोशी नाम खारेजीका माग राख्दै संघर्ष गरिरहेका पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार एक कार्यक्रममा कोशी प्रदेश खारेजीको माग गरिरहेका पहिचान पक्षधरलाई वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरे लगत्तै कोशी प्रदेश सरकारले आफ्ना माग शान्तिपूर्ण ढंगले राख्दै वार्ता र संवादबाट निकास खोज्न आह्वान गरेको हो ।
सरकारका प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै आन्दोलनका कार्यक्रम स्थगीत गरेर वार्ता र संवादमा आउन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ , ‘ नामाकरणपछि यससँग विमती राखेर विरोध भईरहेको र त्यसबाट उत्पन्न परिस्थितिका सन्दर्शमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गर्नु भएको छ । शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्ने भएकोले नामाकरणको बारेमा रहेका विमतिहरुलाई शान्तिपूर्ण राख्न अनुरोध गरिएको छ । साथै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्वद्ध पक्षलाई सरकारले आग्रह गरेको छ ।