ट्विटरले आफ्नो ब्रान्ड र लोगोलाई परिवर्तन गरेको छ । ट्विटरले आफ्नो ब्रान्ड र लोगोलाई आफ्नो प्रसिद्ध निलो चराबाट “X” मा परिवर्तन गरेको छ। ट्वीटरको हाेम बटन, आधिकारिक ह्यान्डल, भेरिफिकेसन ब्याजको पछाडि आउने लोगो सबैबाट चरा हटेको हो ।चराको ठाउँमा एक्सको अस्थायी लोगो देखिन थालेको छ । कालो पृष्ठभूमिमा नयाँ सेतो X ले निलो पक्षीलाई प्रतिस्थापन गरेको यो लोगो र ब्रान्ड सामाजिक सञ्जालको डेस्कटप संस्करणमा देखापरेपनि मोबाइल एप्लिकेशनमा देखा पर्न भने बाँकी नै छ।
ट्विटरका मालिक इलन मस्कका अनुसार “ट्विट्स” लाई पनि प्रतिस्थापन गरिनेछ भने पोस्टहरूलाई “x’s” भनिनेछ। अर्बपति इलन मस्क्ले आफ्नो प्रोफाइल तस्वीरलाई नयाँ लोगोमा परिवर्तन गरेर आफ्नो ट्विटर बायोमा “X.com” लेखेका छन् ।
आइतवार, मस्कले ट्विटरको लोगो परिवर्तन गर्न खोजिरहेको जनाएका थिए। ट्वीट गर्दै उनले भनेका थिए : “र चाँडै हामी ट्विटर ब्रान्ड र क्रमशः सबै पक्षीहरूलाई बिदाइ गर्नेछौं।” त्यसपछि उनले नयाँ X ब्रान्डिङ परियोजनाको तस्वीर साझा गरेका थिए ।
गत अक्टोबरमा ४४ अर्ब डलर तिरेर ट्वीटर खरिद गरेपछि मस्कले ट्वीटरमा थुप्रै परिवर्तन ल्याएका छन् । ४ अप्रिल २०२३ मा इलन मस्कले ट्वीटरको कम्पनीको नाम ट्वीटर इन्कबाट परिवर्तन गरी एक्स कर्पोरेसन राखेका थिए । त्यसपछि लगातार ट्वीटरलाई नयाँ किसिमको प्लेटफर्म बनाउनेमा एलन मस्क केन्द्रित छन् ।