जिल्ला अदालतले सिंहदेवी ज्वेलर्सका सञ्चालकहरू कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकसहित ज्यालादारी काम गर्दै आएका २९ वर्षीय लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो । अदालतले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ बिगो कायम गर्दै पाँचै जनालाई थुनामा राख्ने आदेश दिएको थियो । उनीहरूलाई ठगीतर्फ जनही ७० हजार जरिवाना र डेढ वर्ष थुनामा राख्ने जिल्ला अदालतको आदेश थियो ।
ज्वेलर्स सञ्चालकमध्येका दीपक गजमेरको हकमा उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । उनको हकमा बिनाइजाजत वित्तीय कारोबार गरेर १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित १ वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालतको आदेश छ ।
बिनाइजाजत वित्तीय कारोबार गरेको मुद्दामा ज्वेलर्स सञ्चालकमध्येका कृष्ण विश्वकर्मा र उनकी छोरी सीताले पनि उच्च अदालत विराटनगरबाट सफाइ पाएका छन् । तर, उनीहरूको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई सदर गरेको छ । उनीहरूलाई ठगी मुद्दामा जनही ७० हजार जरिवाना र १ वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालतको आदेश थियो ।
मालिकको ठगि धन्दामा फसेका इटहरीका लालबहादुर बिकलाई ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्याएको आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश ‘उल्टि’ गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक गजमेरको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले ३ करोड १४ लाख भन्दा बढी जरिवाना र १८ महिना जेल सजाय तोकेको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै लाल बहादुरले उच्च अदालतमा पुनरावेदन गराएका थिए। उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेकाे मुद्दामा मंगलबार फैसला भएको हो। न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको ०७८ पुस १९ को आदेशलाई उल्टाउँदै लालबहादुरलाई दुवै कसुरमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्चको आदेश संगै विश्वकर्मा बुधबार कारागार मुक्त हुनेछन् । क्षेत्रीय कारागार झुम्कामा कैदीबन्दीको रुपमा रहेका विश्वकर्मालाई प्रक्रिया पूरा गरि बुधबार छोड्ने कारागार कार्यलयले जनाएको छ ।