सविन घिमिरे । जनता समाजवादी पार्टीका मोरंग जिल्ला अध्यक्ष राज कुमार यादवमाथि नगर प्रहरीद्वारा दुर्व्यवहार भएको घटनाले उब्जाएको विवाद समाधानको निम्ति दोस्रो चरणको वार्ता आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अध्यक्षतामा उनकै कार्यकक्षमा बसेको वार्ताले २ वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको छ ।
प्रस्ताव १ को ‘ गत बुधबार भएको घटना समाधान ‘ सम्बन्धमा भद्र २७ गते बुधबार साझ ५ बजे विराटनगर महानगरपालिका वार्ड न ७ को कोशी अञ्चल अस्पताल अगाडी रहेको स्नेहा फार्मेसी भित्र विराटनगर महानगरका नगर प्रहरी र राजकुमार यादव बीच भएको विवाद ( घटना ) समाधान गर्न विराटनगर महानगरपालिकाका प्रमुखले आवश्यक छानविन गरी असोज २ गते भित्र दोषीलाई कडाभन्दा कडा कारवाही गरी विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रस्ताव २ को ‘ विविध ‘ सम्बन्धमा विराटनगर महानगरपालिकाका नगर प्रहरीहरुको क्षमता अभिवृद्धि गर्ने र निजहरुलाई वैज्ञानिक तथा व्यवहारिक बनाउन महानगरपालिकाले पहल गर्ने निर्णय गरेको छ ।
यता जसपाका नेताहरुले असोज २ गतेसम्म निर्णय कार्यन्वयन नगरे आन्दोलन चर्काउने बताएका छन् ।
आजको वार्तामा जसपाका केन्द्रिय लेखा समिति सदस्य जसपा जिल्ला उपाध्यक्ष , कार्यवाहक नगर अध्यक्ष , समाजवादी युवा संघ जिल्ला अध्यक्ष , समाजवादी महिला संघ जिल्ला अध्यक्ष , जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो भने वार्ड न ७ का अध्यक्ष मधुवावु तिवारी , वरिष्ठ प्रहरी नायब निरीक्षक सकिल चन्द्र चौधरी , विराटनगर महानगरका शाखा अधिकृत अर्जुन थपलिया र नगर प्रहरी प्रमुख राजन पौडेलको पनि वैठकमा उपस्थित थिए ।
घटना के हो ?
यादवमाथि बुधबार महानगर प्रहरीले दुर्व्यवहार गरेको थियो । उनलाई आफ्नै पसलबाट नगर प्रहरीले कला समातेर घोक्र्याउदै निकालेका थिए जनु भिडियो सामाजिक संजालमा व्याप्त भएको थियो । यसलाई लिएर महानगरको चौतर्फी विरोध भएको थियो ।
जसपा नेतालाई औषधी पसलबाट लछारपछार पार्दै घिसारेर बाहिर निकालेपछि विराटनगर महानगरपालिका विरुद्ध शुक्रबार आन्दोलन समेत भएको थियो । आन्दोलनमा नगर प्रहरीलाई कारवाही गरिनु पर्ने लगायत मेयर नागेश कोइरालाको राजीनामाको माग समेत गरिएको थियो । राज कुमार यादवको पक्षले नगर प्रहरीलाई हातपात गरेपछि नगरप्रहरीले कठालो समातेर पक्रेको , उनका छोराले पहिला नगर प्रहरी पिटेपछि राज कुमार यादवलाई त्यसरी पक्रिएको जस्ता विभिन्न दुविधा जनमानसमा उब्जिएको थियो ।
राज कुमार यादवका अनुसार बुधबार उनको पसल अगाडि एक सिटिसफारिलाई विहान ९ बजे देखि बेलुका व्हिल लक् गराएर राखिएको थियो। ती सिटीसफारी चालक हारगुहार गर्दै राज कुमार यादवकहा सहयोग माग्न पुगे । राजकुमार यादवले नगर प्रहरीलाई ” बरु फाइन लिनु तर गरिबको दिनभर लक् नगर्नु ” भनेपछि ” तपाइँ हो ठेकदार हाम्रो काम हामी गर्छौ” भन्ने नगरप्रहरीको जवाफ आएपछि केहि सामान्य वादविवाद भएको थियो । त्यसपछि यादवले मेयर साप संग कुरा गर्छु भनेर पसल भित्र गए । केहि समय पछि नगरप्रहरीको हुल आएर घोक्र्याउदै उनलाई उनकै पसलबाट बाहिर निकाले ।
यस पश्चात छलफलको लागि नगरप्रहरी , मेयर नागेश कोइराला तथा राज कुमार यादवसहित उनका छोरा पनि भेला भएको अवस्थामा छोरा आशिषले नगर प्रहरीलाई एक थप्पड लगाए । आशिषसंगको भेटमा उनले ” आफ्नो बाबुलाई कुनै गल्ति विना त्यस्तो अपमान गर्दा कुन छोरा सहेर बस्छ ? ” भनेर प्रश्न गरेका छन् । जनता समाजवादी पार्टी मोरंगका अध्यक्ष तथा औसधि व्यवसायी राज कुमार यादवले आफ्नो मान मर्यादा प्रति आंच आउने गरि नगर प्रहरीद्वारा गरिएको व्यवहारले भावनामा गम्भीर चोट लागेको बताएका छन् ।