विराटनगर- ‘डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनीयता’ शीर्षकमा स्टुडेन्ट्स फर लिबर्टीका स्थानिय संयोजक सरोज बानियाको नेतृत्वमा जनवरी २९ तारिखका दिन प्यानलिस्ट सहितको वृहत् छलफल सम्पन्न गरिएक छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको प्राङ्गणमा सञ्चालित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा प्यानलिस्टमा रोबोटिक्स एशोसियसन अफ नेपालका अध्यक्ष इन्जिनियर बिनिलराज अधिकारी, भौतिकशास्त्र विभाग तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका बिआइटी निर्देशक प्रा.डा. सशित कुमार यादव, स्वस कन्ट्याक्टका कन्सलटेन्ट तथा स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानिय संयोजक स्वराज्ञराज पाण्डे र वर्ल्डलिङ्कका प्रदेश शाखा प्रमुख सुरज दाहाल रहेका थिए । प्यानल डिस्कसनमा वर्तमान युगमा डेटाको गोपनीयता र स्वामित्व, डेटा गोपनीयता संरक्षणका तरिका र सरोकारवाला तथा गोपनीयता संरक्षणको आधारभूत हकाधिकार बारे छलफल गरिएको थियो ।
५००० भन्दा बढी व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त कोशी मिनी यन्त्र २.० इभेन्टमा प्यानल डिस्कसनका लागि ६०० भन्दा बढी विद्यार्थी, शिक्षाविद् , विशेषज्ञ तथा बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त छलफलको मुख्य निष्कर्ष आजको समयमा आफ्नो व्यक्तिगत विवरण तथा गोपनीयता संरक्षण गर्न तथा समाज र सरकारलाई आफ्नो दायित्वबोध गराउन हरेक व्यक्ति उत्तिकै जिम्मेवार हुने कुरा रहेको थियो । कसरी आजको युगमा डेटा चोरी र गोपनीयता हनन जस्ता समस्याले वृहत्तर रुप लिई कुन कुन तहका मानिसहरुलाई कुन कुन तरिकाले असर पार्दैछ भन्ने जानकारीमा बहुआयामिक प्यानलिस्टबीच सारगर्भित छलफल चलेको थियो।
उक्त प्यानल डिस्कसनका प्यानलिस्टहरुले आ-आफ्नो विज्ञता अनुसार कसरी डेटा सुरक्षा गर्ने र आफ्नो गोपनीयता संरक्षण गर्न सकिन्छ भन्ने कुरामा जोर दिँदै उपस्थित सबैलाई गहकिला वक्तव्य प्रस्तुत गरे । इ. बिनिलराज अधिकारीका अनुसार आजको समयमा डेटा नै मान्छेको सर्वोपरि सम्पत्ति रहेको र विशेषतः एआईको बढ्दो प्रयोगसित डेटा सुरक्षाको महत्त्व बढिरहेको बताए । त्यसैगरी आजको हरेक व्यक्ति आइटी र प्रविधिबारे अवगत रहनुपर्ने समयको माग रहेको र आफ्नो जानकारी संरक्षणका लागि आफैँले पहल गर्नुपर्ने सशित कुमार यादवले बताए । यस प्रायोजनका लागि कसरी SFL ले अग्रणी भूमिका खेल्नुपर्छ भन्ने कुरामा स्वराज्ञराज पाण्डे प्रकाश पार्दै SFL का स्थानिय संयोजक तथा स्वयमसेवक हरुलाई विशेष अभिमुखीकरण गरेका थिए । साथै, इन्टरनेट सेवा प्रयोग तथा डेटा सुरक्षामा कसरी आइएसपीहरुले भूमिका खेल्छन् र कसरी हरेक प्रयोगकर्ता यसबारे अवगत रहनुपर्छ भन्दै सुरज दाहालले पनि आफ्ना महत्वपूर्ण वक्तव्य पेश गरेका थिए ।