गत बर्ष नक्कली परीक्षाथी पक्राउ परेका मोरङ जिल्लाका ५ वटा विद्यालयबाट एसईई परीक्षा केन्द्र हटाइएको छ । खुल्ला शिक्षा कार्यक्रम अन्तरगत गत बर्ष एसईई परीक्षामा झण्डै साढे तीन सय जना नक्कली परीक्षार्थी फेला परेका पाँच वटा विद्यालयमा यस बर्ष र आगामी बर्ष गरी दई बर्षका लागि परीक्षा केन्द्र हटाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङले ग्रामथान-२ को सरस्वती मावि, केराबारी-७ को सार्वजनिक मावि, सुन्दरहरैचाको जनता मावि पचाम, धनपालथानको सर्वोदय मावि र धनपालथानकै सरस्वती मावि दादरबैरियाको परीक्षा, केन्द्र हटाइएको जनाएको छ ।
गत वर्ष चैत २२ गते भएको सामाजिक विषयको परीक्षामा मोरङको ग्रामथान-२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेपछि अनुसन्धान गर्दा नक्कली परीक्षार्थीको ठूलो संख्या फेला परेको थियो ।
प्रहरीको सहयोगमा परीक्षार्थीहरूको प्रवेश पत्र जाँच गर्दा सरस्वती माविबाट मात्रै ६१ जना नक्कली परीक्षार्थी फेला परेका थिए ।
केराबारी-७ को सार्वजनिक मावि परीक्षा केन्द्रबाट १५२ जना र सुन्दरहरैंचाको जनता मावि पचामबाट ५४ जना विद्यार्थी पक्राउ परेका थिए ।
खुल्ला शिक्षातर्फ तीनवटा विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेपछि खुल्ला शिक्षाकै केन्द्र रहेका धनपालथानको सर्वोदय माविमा ७४ जना र सरस्वती मावि दादरबैरिया परीक्षा केन्द्रमा अनुगमनगर्दा ३४ जना विद्यार्थी अनुपस्थित भेटिएका थिए ।
गत वर्ष ठुलो संख्यामा नक्कली परीक्षा भेटिएपछि ती विद्यालयमा कायम रहँदै आएको परीक्षा केन्द्र परीक्षा बोर्डकै निर्णय अनुसार निलम्बन भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जानकारी दिएको छ।