जिल्ला अदालत मोरङमा विचाराधीन रहेको विराटनगरबाट सञ्चालित नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक अब्दुल खताब ( सहेन्शा सिद्दीकी) विरुद्धको मुद्दाको आइतबार पेसी तोकिएको छ । यसअघि गएको फागुन १७ गते बहस नोट पेश गर्ने आदेश दिएपछि एक पटक सरिसकेको मुद्दाको चैत २५ गते आइतबार फेरि पेसी तोकिएको हो । यसअघि फागुन १७ गते जिल्ला न्यायाधीश बावुराम सुवेदीको इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानून व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएका थिए । १५ दिनको समय दिएर बहस नोट माग भएकोमा वहस नोट पेश गरिसकेपछि पनि चैत १४ गतेको इजलासले चैत १८का लागि पेसी तोकेपनि पेसी सरेपछि सुनुवाईका लागि आजको पेसी तोकिएको छ । आजको पेसीमा संभवत अदालतको अन्तिम फैसला आउन सक्ने यो मुद्दामा बहस गरिरहेका अधिवक्ता विनोद तिम्सिनाले अपेक्षा गरेका छन् ।
सिद्दीकीको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ । उनको तर्फबाट कानून व्यवसायीहरु तिम्सिनासहित स्वागत नेपाल, रमेश कोइराला, हेमराज पन्त, दिपक खतिवडाले वहस गरिरहेका छन् । झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागारमा रहेका सिद्दिकीले विराटनगरका व्यवसायी तथा नेपाल टाइम्सकै संचालक समेत रहेका अरुण राठीलाई अपहरण गरेको आरोप छ । २०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते मात्रै राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । राठीको जाहेरीपछि मंसिर २९ गते सिद्धिकी स्वमय प्रहरीसामु उपस्थित भएका थिए । सिद्दीकी २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका हुन् । सो प्रकरणमा उनका चालक जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राठीले आफूलाई बोलाई बन्धक बनाएर १५ लाख रुपैयाँ असुल गरेको आरोप सिद्दीकीमाथि लगाएका छन् । सिद्दीकीले भने मिडिया साझेदार रहेकोले उनले सो रकम नेपाल टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको दावी गर्दै आएका छन् । राठीबाट आफूले लिनु पर्ने रकम लिएको र यो विषय नेपाल टाइम्सको बैकिङ कारोबारबाट समेत पुष्टि भइसकेको उनले बताउँदै आएका छन् । ४ जना संचालक सदस्य रहेको नेपाल टाइम्सका तेस्रो संचालकले समेत अदालत समक्ष दिएको वकपत्रमा राठीबाट लिनु पर्ने रकम नै लिएको र सो १५ लाख सिद्धिकीको ब्यक्तिगत खातामा नभई राठीसमेत संचालक रहेको नेपाल टाइम्सको बैंक खातामा जम्मा गरिएको उल्लेख गरेका छन् । दुई साझेदारबीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको सिद्दीकीको गुनासो छ । राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दीकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएका थिए । राठी नेकपा एमालेको कोशी प्रदेश कमिटि सदस्य हुन् । सिद्धिकी भने नेपाल टाइम्सका संस्थापक संचालक हुन् । उनले आफ्नो एकल प्रयासबाटै नेपाल टाइम्सको सुरुवात गरेका थिए ।