विराटनगर। उद्योग संगठन मोरङले डेडिकेटेड र ट्रंकलाईनको महसुलको विषयले निजी क्षेत्रप्रति नकारात्मक भाष्य सिर्जना भएकोप्रति चिन्ता र चासो प्रकट गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै संगठनले विद्युत महसुलको लामो समय देखि समाधन हुन नसकेको र सरकारले ठोस रुपमा समाधानका लागि पहल लिनु पर्नेमा विषय बल्झाई रहेको भन्दै चिन्ता व्यक्त गरेको हो।
संगठनका अध्यक्ष नन्दकिशोर राठीद्वारा जारी विज्ञप्तिमा उद्योगमा विद्युत काटिदा राष्ट्रिय र अन्तर्राष्ट्रिय कस्तो सन्देश जाने भन्ने प्रश्न गर्दै विद्युतको कारण उद्योग ठप्प हुँदा रोजगारी, राजस्व, ब्याज भुक्तानीमा समस्या जस्ता जटिल समस्या उत्पन्न हुने भन्दै सरकार, विद्युत प्राधिकरण र निजी क्षेत्रको समन्वयमा विवादित विषयको तत्कालै न्यायोचित निरुपणको लागि माग गरिएको छ।
संगठनले विद्युत महसुलको विषय विद्युत प्राधिकरण र उद्योगीहरूको आफ्नै अडानका कारण पेचिलो बन्दै गएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।


