विराटनगर। कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेशका स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय गरेको छ।
प्रदेश र स्थानीय तहमा कानुनी र व्यवहारिक रुपमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि केन्द्र सरकार आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रदेशमा स्थानीय तहमा देखिएका सीमा व्यवस्थापन, वन क्षेत्रमा ढुङ्गा गिटीको राजस्व संकलन र ठेक्कामा देखेका समस्यालाई कानुनी रूपमा समाधान गर्ने निर्णय गरेको छ।
केही समयदेखि कतिपय स्थानीय तहले ढुंगा गिट्टीको ठेक्का लगाउन नसकेको र यसले राजस्व गुमेको विषयलाई उठेपपछि यसलाई चाँडै नै सम्बोधन गर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ।
त्यस्तै आयोजना बैंकलाई प्रदेशका हरेक स्थानीय तहमा पहुँच पुग्ने गरी निर्माण गर्ने र त्यहाँ रहेका अनावश्यक आयोजनाहरुलाई हटाई व्यवस्थित बनाउने निर्णयसमेत भएको छ।
प्रदेशले लगानी सम्मेलन मार्फत अगाडि सारेका परियोजनालाई स्थानीय पालिकाहरुले पनि सहयोग र समन्वय गर्दै अगाडि बढ्ने निर्णय भएको छ।
प्रदेश सरकारले लगानी सम्मेलन मार्फत अगाडि बढाएका ५१ परियोजनामध्ये २४ वटा कार्यान्वयनको प्रक्रियामा गएका छन्। प्रदेशमा देखिएका कर्मचारी व्यवस्थापन र स्थानीय तहको नयाँ कर्मचारी भर्नालाई पनि व्यवस्थित र द्रुत गतिले गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय का सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ।
त्यस्तै संघीय सरकारले कर्मचारी हटाउने र अन्य कर्मचारीहरु समेत हटाउने हटाउने परिपत्र हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका परिषद् सदस्यले आवाज उठाएका थिए।
उनीहरुले करारका कर्मचारी हटाउने निर्णयले सेवा प्रवाहमा कठिनाइ भएको र यो निर्णय तत्काल सच्याउनका लागि केन्द्रमा पठाउनुपर्ने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले गर्न लागेका र गरिरहेका नयाँ कामलाई स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो।
प्रदेश सरकारको पहलमा निर्माण भइरहेको पदमार्ग र पर्यटन वर्षलाई सफल बनाउनका लागि उहाँले आग्रह गर्नुभयो।
लगानी सम्मेलन मार्फत अगाडि बढाइएका परियोजनाहरु र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढाइएका कार्यक्रमलाई सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो।


